जिल्लामा निर्माणधिन अवस्थामा रहेका जलविद्युतलाई तिब्रता दिन कानुनी जटिलता हटाउन पहल गर्ने प्रतिनिधिसभा सदस्य भुपेन्द्र बहादुर थापाले बताएका छन् । देशलाई उर्जामय बनाउन स्वदेश तथा विदेशी लगानीको आवश्यकता रहेको बताउँदै जलविद्युत उत्पादन गर्ने नाममा लामो समयसम्म खोला झोलामा हालेर बस्नेलाई समेत कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।

शनिबार घलेम्दीखोला जलविद्यूत अयोजनाको बेनीमा सम्पन्न चौथो साधारण सभाको उद्घाटन गदैं थापाले निजी क्षेत्रबाट निर्माण भइरहेको जलविद्युत आयोजनाले गति लिइरहेको अवस्थामा सरकारी स्वामित्वका आयोजना अलपत्र अवस्थामा रहेको बताउँदै जलविद्युतमा लगानी गर्न चाहनेलाई प्रोत्साहन गर्ने र लाइसेन्स होल्ड गरेर बस्नेलाई कारवाही गर्नुपर्ने बताए ।‘आर्थिक समृद्धिको अभियानमा देश अगाडी बढेको छ ।पुरानो शैलीमा देशले गति लिदैन् ।सम्भावना भएका क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्छ‘ थापाले भने ।

उनले जिल्लामा निर्माणधिन अवस्थामा रहेको जलविद्युत आयोजनाहरूलाई केहीबर्ष भित्र सम्पन्न गरी ठुला उद्योग, कलकारखानाको स्थापना संगै जिल्लाभित्र रोजगारीको ब्यवस्था गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेशसभा सदस्य विनोद केसीले जिल्लाभित्र पर्यटन र जलविद्युतको सम्भावना भएको बताउँदै लगानीलाई सुरक्षा दिन प्रदेशसभामा निरन्तर प्रयास गर्ने बताए ।

उनले जिल्लाको उत्तरी क्षेत्रमा निर्माणधिन अवस्थामा रहेका जलविद्युतको सुरक्षाका साथै सवस्टेशनको निर्माणलाई समेत तिब्रता दिन नियमित अनुगमन सहित स्थानीयस्तरमा देखिएका समस्यालाई समाधानको पहल गर्ने बताए । उनले लाइसेन्स लिएर काम नगर्ने कम्पनीको पहिचान गरी कारवाही गर्ने गरी कडा कानुनको आवश्यकता रहेको बताए । ‘काम गर्नेलाई प्राथमिकता िदिनुपर्छ, पाँचबर्ष भित्र देशलाई नयाँ उचाईमा पु¥याउनुछ’ केसीले भने ।

साधारण सभाको अवसरमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी, प्रहरी नायब उपरिक्षक बसुन्धरा खड्का, शेयर सदस्य डाक्टर मायाँकुमारी शर्मा, देविभक्त ढकाल, नेपाल पत्रकार महासंघ म्याग्दीका सचिब गोरखनाथ सुवेदीले आयोजनालाई निर्धारित समयभित्रै सम्पन्न गरि जिल्लामा रहेका अन्य जलविद्यूत आयोजनाहरुको लागि सकरात्मक सन्देश दिन आवश्यक रहेको बताए । जिल्लाभित्र आयोजना सम्पन्न गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने सरोकारवाला निकायले प्रतिबद्धता जनाएका थिए ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेघावाट क्षमताको आयोजनाले करिव ८५ प्रतिशत निर्माणकार्य सकिएको छ । वि.स २०७१ सालबाट निर्माण थालिएको आयोजनाको मुख्य ड्याम, बालुवा थिग्राउन पोखरी बनाउने, बाँधदेखि पोखरीसम्म नहर निर्माण, पावर हाउस लगाएतका संरचनाको निर्माणकार्य तिब्र गतिमा अगाडी बढेको छ । आगामी बर्ष परिक्षण उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको छ । घलेम्दीखोलाको पानीलाई १५० मिटरको उचाइबाट पावरहाउसमा खसालेर विद्युत उत्पादन गरिन्छ ।

३८ करोड ५० लाख संस्थापक सेयर रहेको आयोजनामा विभिन्न वित्तिय संस्थाले लगानी गरेका छन् । घलेम्दीखोलाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । सम्झौताअनुसार आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत प्राधिकरणले खरिद गर्नेछ । वार्षिक साढे १३ करोड रुपैयाँ बरावरको विद्युत खरिद गर्ने प्राधिकरणले वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद गर्ने अध्यक्ष किशोर सुबेदीले बताए । यसैविच साधारणसभाबाट पुनः सुबेदीको अध्यक्षमा संचालक समिति चयन भएको छ ।

साधारणसभाबाट सञ्चालक सदस्यहरुमा प्रमोद श्रेष्ठ, नारायणबाबु अधिकारी, उत्तम प्रसाद बैद्य, सरद राज श्रेष्ठ, टंक प्रसाद बरुवाल, कम्पनी सचिबमा बिमल रिजाल र शम्भु तिमल्सिनालाई कानुनी सल्लाहकारमा चयन गरिएको कम्पनी सचिव लक्ष्मीनिधी रिजालले बताए । उनले आयोजनाको निर्माणकार्यलाई तिब्रता दिन दैनिक दुई सिफ्टमा काम भइरहेको प्रति लगानीकर्ता उत्साहित भएको बताए । आयोजनामा १३०४ जना सेयर सदस्य रहेका छन् ।