बेनी–जोमसोम–कोरला सडक विस्तार तीव्र

0
432

घनश्याम खड्का

उत्तर–दक्षिण अन्तरदेशीय व्यापारिक महत्त्वको कालीगण्डकी करिडोरअन्तर्गत बहुचर्चित बेनी–जोमसोम–कोरला सडक विस्तारको काम धमाधम भइरहेको छ । आगामी दुई वर्षभित्र बेनी–जोमसोम खण्डको सडक कालोपत्रे र जोमसोम–कोरला खण्डको सडक ग्राभेल गर्ने गरी बेनी–जोमसोम–कोरला सडक आयोजनाले काम अघि बढाएको छ ।

‘कालीगण्डकी करिडोरको सडक विस्तारले हामीलाई आशा जगाएको छ,’ मुस्ताङबाट प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले भने, ‘यो अन्तरदेशीय सडक सुचारु भएपछि कालीगण्डकी करिडोर क्षेत्रकै आर्थिक, सामाजिक रूपमा मुहार फेरिन्छ ।’
आगामी २०७६ पुस मसान्तमा सबै संरचनासहित ७ मिटर पिचसहित १० मिटर चौडा सडक निर्माण गर्न बेनी–जोमसोम ७६ किमिलाई ४ प्याकेज बनाई २ अर्ब ४९ करोडमा ठेक्का सम्झौता भएपछि धमाधम काम भइरहेको छ । कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका अनुसार २० किमि खण्डको प्रत्येक प्याकेजमध्ये पहिलो बेनी–तातोपानीसम्म शर्मा र युनाइटेड जेभी कम्पनीले, दोस्रो र तेस्रो प्याकेजमा शर्मा र गजुरमुखी जेभीले काम गरिरहेका छन् । हिमालपारिको मुस्ताङ क्षेत्रमा पर्ने तेस्रो रचौथो प्याकेजमा भने अधिक चिसोकाकारण फागुनसम्मका लागि काम स्थगित गरिएको छ ।
‘मुलुकको सडक सञ्जाल प्राथमिकताअनुसार नै हामी काम गरिरहेका छौं । लक्षित समयभित्र काम सक्ने चुनौती हाम्रासामु छ,’ बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमका प्रमुख नरेन्द्र सुवेदीले भने, ‘अहिले धेरै चिसोले गर्दा मुस्ताङपट्टि केही समयका लागि काम स्थगित गरेका छौं । म्याग्दीपट्टिको खण्डमा मिहिनेत गरिरहेका छौं ।’
त्यसैगरी आयोजनाले जोमसोम–कोरला १ सय १० किमि लामो सडकलाई ७ प्याकेजमा विभाजन गरिएको छ । ०७५ कात्तिकमा सम्पन्न गर्ने गरी २ अर्ब ५० करोडको लागतमा ग्राभेल स्तरमा निर्माण भइरहेको १० मिटर चौडा जोमसोम–कोरला सडक खण्डको ३० प्रतिशत काम सम्पन्न भएको छ ।
चिसो बढ्ने हुँदा जोमसोम–कोरला सडकमा मंसिरदेखि फागुनसम्मका लागि उक्त क्षेत्रमा सडक निर्माण स्थगित गरिएको छ । चिसो छल्न सडक निर्माणमा संलग्न ठेकदार, मजदुर मात्र होइन मुस्ताङीहरूसमेत पूरै बेंसी झर्ने गर्छन् । सदरमुकाम जोमसोमदेखि झैतेसम्मको ५२ किमि सडकलाई ४ प्याकेज र झैते–कोरला ५८ किमिलाई ३ प्याकेज बनाइएको छ । ekantipur.com