म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा शनिवार प्रतिनिधिसभामा निर्वाचित भुपेन्द्रवहादुर थापा र प्रदेश सभामा निर्वाचित विनोद केसीलाई स्वागत एवम् बधाई कार्यक्रम सम्पन्न भएको छ । बगरफाँटवासीहरुको आयोजनामा सम्पन्न सो कार्यक्रममा सांसदद्धयले प्रशस्तै संभावनाहरु भएर पनि बत्तिमुनिको अध्यारो जस्तै बनेको बगरफाँटलाई बगर होइन उर्वर फाँट बनाउने खालका कार्यक्रम तथा योजनाहरु ल्याइने बताउनुभएको छ ।

सम्मान ग्रहणपछि बोल्दै प्रतिनिधि सभाका सदस्य भुपेन्द्रवहादुर थापाले अब राजनीतिक प्रतिष्पर्धा होइन समृद्धिको लागि प्रतिष्पर्धा गर्नुपर्ने समय आएकोले सबैलाई समृद्धिको यात्रामा लम्कन आग्रह गर्नुभयो । निर्वाचन जितेर आफूमा झन ठूलो जिम्मेवारी थपिएको बताउँदै सांसद थापाले अत्यन्त शालिनता पूर्वक भन्नुभयो—‘ कृपया मलाई ठूलो मान्छे नठान्नुहोला, म तपाईकै साथी भाइ र सहयात्री हुँ, तपाईहरुका समस्या र पीर मर्कालाई सम्बोधन गर्न सहयोग गर्नु मेरो कर्तव्य हो, त्यसैले मलाई भेटेर वा फोन मार्फत पनि आफ्ना समस्याहरु जानकारी गराउन नहिच्किचाउनुहोला ।’

त्यसैगरी प्रदेश सभा (क)का सांसद विनोद केसीले स्थानीय स्तरमा भएका स्रोत र संभावनाहरुमार्फत नै समृद्धिको ढोका खोल्न सकिने बताउँदै बगरफाँटमा कृषि र पशुपालनको प्रचुर संभावना रहेको र त्यसबाट लाभ लिने खालका योजनाहरु ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । सांसद केसीले भन्नुभयो ‘बगरफाँटलाई कृषिको उर्वरफाँट बनाउन आवश्यक छ, अव हामीहरु यस अभियानमा लाग्नुपर्छ ।’

त्यसैगरी जिल्ला समन्य समितिका अध्यक्ष देवेन्द्र केसीले स्थानीय तह,जिल्ला समन्वय समिति, प्रदेश र संघको समन्वयमा विकासका योजनाहरु ल्याउन सकिने बताउँदै बगरफाँटको विकास र उन्नतिका लागि आफूले आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने बचनबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका सचिव क्या. मीनवहादुर कार्की, नेकपा माओवादी केन्द्रका पूर्व जिल्ला अध्यक्ष चन्द्रवहादुर घिमिरेले निर्वाचित सांसदहरुलाई बधाई ज्ञापन गर्दै समस्याहरुको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रम बेनपा २ का वडा अध्यक्ष हिरावहादुर थापाको अध्यक्षता र स्थानीय वुद्धिजीवि कृष्णवहादुर कार्कीको संचालनमा सम्पन्न भएको थियो ।