केही वर्षअघिसम्म धौलागिरी गाउँपालिकास्थित गुर्जाको जंगलमा प्रशस्त मात्रामा हाब्रे (रेडपान्डा) देखिन्थे । तर, अचेल हत्तपत्त यो जंगली जनावर देख्न पाइँदैन । हेर्दा आकर्षक र लजालु स्वभावको हलुका रातो, सेतो र कालो रंगको रेडपान्डा चोरी सिकारीको कारण मासिँदै गएको छ । स्थानीय सिकारीले मासुको लागि रेडपान्डाको सिकार गर्दा यो दुर्लभ वन्यजन्तु मासिँदै गएको हो ।

विगतमा पहिचान र प्रचार–प्रसारको अभावमा रेडपान्डाको सिकार गर्ने गरेको भए पनि अहिले स्थानीय आफैँ रेडपान्डाको संरक्षणमा जुटेका हुन् । विश्व वन्यजन्तु कोष तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा स्थानीयवासी अहिले रेडपान्डाको संरक्षणमा जुटेका हुन् । रेडपान्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले गरेको खोजीमा म्याग्दीको अति विकट मानिने लुलाङ र गुर्जाको मरेनी र जलजला सामुदायिक वन तथा आसपासका क्षेत्रमा रेडपान्डा भेटिएको छ । रेडपान्डाको महत्वको विषयमा जानकारी पाएपछि स्थानीयवासीले संरक्षण अभियान सुरु गरेका छन् ।

रेडपान्डाको संरक्षणमा स्थानीयको सहयोग

विश्व वन्यजन्तु कोष तथा हरियो वन कार्यक्रमले दुई वर्षसम्म म्याग्दीमा रेडपान्डाको अनुसन्धान गरेको थियो । अनुसन्धानकर्तालाई स्थानीयवासीले रेडपान्डाको जानकारीसहित वासस्थानसमेत देखाइदिएपछि रेडपान्डाको अनुसन्धान र संरक्षणमा सजिलो भएको धौलागिरि गाउँपालिका– १ गुर्जाका वडाध्यक्ष झकप्रसाद छन्त्यालले बताए ।

‘अहिले रेडपान्डाको संरक्षणमा स्थानीयवासी धेरै सक्रिय छन् । विद्यालयका विद्यार्थीले समेत रेडपान्डाबारे शिक्षा पाइसकेका छन्,’ वडाध्यक्ष छन्त्यालले भने । रेडपान्डा नेटर्वकले जंगलमा रेडपान्डाको वासस्थान फेला पारेपछि लुलाङ र गुर्जाका स्थानीयवासी, विद्यालयमा अध्ययरत विद्यार्थी, विभिन्न सामाजिक संघसंस्थामा आबद्ध स्थानीय र आमनागरिकलाई लोपोन्मुख रेडपान्डाका बारेमा जानकारी गराएको थियो । त्यसपछि स्थानीय रेडपान्डाको संरक्षणमा जुटेका हुन् । ‘विश्वमै दुर्लभ मानिने रेडपान्डा गाउँमै भेटिएपछि स्थानीय सबै संरक्षणमा जुटेका छन् । अहिले रेडपान्डाको चोरीसिकारी रोकिएको छ । हामी रेडपान्डाको संरक्षण अभियान चलाइरहेका छौँ,’ स्थानीय अगुवासमेत रहेका वडाध्यक्ष छन्त्यालले भने ।

मुदीको बगर तथा धौलागिरि गाउँपालिकाको हिमालआसपासका जंगलमा रेडपान्डा भेटिएको छ । रेडपान्डा संरक्षणका लागि गाउँपालिकाबाटै नियमित तालिम तथा संरक्षणका लागि आवश्यक बजेट विनियोजन गर्ने तयारी भएको वडाध्यक्ष छन्त्यालको भनाइ छ । हिमाली क्षेत्रमा पाइने रेडपान्डासहितका जंगली जनावरको संरक्षण गरी विदेशी पर्यटकलाई समेत भ्रमणमा आकर्षित गर्ने नीति गाउँपालिकाले बनाएको छ ।

नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनसँग सीमा जोडिएको गुर्जा र लुलाङमा रेडपान्डासँगै रतुवा, घोरल, मृग, बँदेलसहितका जंगली जनावर बाक्लै पाइन्छन् । अन्य वन्यजन्तुसँगै रेडपान्डालाई समेत सिकारीले निसाना बनाउन सक्ने भएकाले रेडपान्डा संरक्षण समितिले नियमित गस्ती, जनचेतनामूलक कार्यक्रम, वासस्थान आसपासको क्षेत्रमा आवतजावतमा कडाइसमेत गर्न थालेको छ ।

संरक्षण क्षेत्रमा झन्डै दुई सय रेडपान्डा

रेडपान्डा नेटवर्कमार्फत अनुसन्धानमा सक्रिय बद्री बरालका अनुसार दुईवटा सामुदायिक वनमा चारवटा ब्लक निर्माण गरी एक दशमलव ५ किलोमिटरसम्म अनुगमनका लागि ट्रान्जिट बनाइएको छ । नियमित अनुगमन र संरक्षण गर्न रेडपान्डा अभिभावकका रूपमा चारजनालाई नियुक्तिका साथै सामुदायिक वनसँग सम्झौतासमेत गरिएको बरालले बताए । ‘रेडपान्डाको संरक्षण अभियानले अन्य वन्यजन्तुको चोरीसिकारीमा समेत कमी आएको छ,’ उनले भने । प्रारम्भिक अनुसन्धानमा ५५ वटा रेडपान्डा भेटिए पनि गाउँपालिकाअन्तर्गतमा सामुदायिक तथा राष्ट्रिय वनमा दुई सयको हाराहारीमा रेडपान्डा रहेको अनुमान गरिएको छ ।

नेपालका २४ जिल्लामा पाइन्छ लोपोन्मुख रेडपान्डा

समुद्री सतहबाट दुई हजारदेखि चार हजार आठ सय मिटरको उचाइमा अवस्थित चौडापाते र कोणधारी मिश्रित जंगलमा निगालोको झाडीमा बस्ने हाब्रे (रेडपान्डा) लाई सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत संरक्षितको सूचीमा राखेको छ । रेडपान्डाले निगालोको टुसालाई आहाराका रूपमा प्रयोग गर्छ । रेडपान्डासहित वन्यजन्तुको तस्करी नियन्त्रणका लागि स्थानीयवासीलाई सहयोग गर्ने नीति रहेको धौलागिरी गाउँपालिकाका उपप्रमुख रेशम छन्त्यालले बताए । ‘लोपोन्मुख वन्यजन्तुको संरक्षणमा थप सक्रियता देखाउनेछौँ । वन्यजन्तुको पहिचान गर्ने गरी शैक्षिक सामग्रीको समेत विकास गरिनुपर्छ,’ उनले भने । म्याग्दी रेडपान्डा पाइने जिल्लाका रूपमा सूचीकृत भएपछि स्थानीय उत्साहितसमेत भएका छन् । नेपालका २४ जिल्लामा हाब्रे (रेडपान्डा) पाइने रेडपान्डा नेटवर्कले जनाएको छ ।