म्याग्दीको बेनी नगरपालिका–२ खबरास्थित पिपलडाँडामा आइतबार लिफ्ट सिँचाई आयोजनाको उद्घाटन भएको छ । जिल्ला कृषि विकास कार्यालयमार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको १० लाख सहयोग, स्थानीय कृषकहरुको सक्रियता र बेनीका कृष्णबहादुर खत्रीको प्राविधिक सहयोगमा व्यवसायिक तरकारी खेतीलाई आयोजना सञ्चालन गरिएको हो ।

खबराको पिपलडाँडा, सिम्ले हुँदै दारिमपाटासम्म सिचाई सुविधा पु¥याउने लक्ष्य राखिएको आयोजनाको मोबाइलको एप्सबाट पानी खसालेर उद्घाटन गरिएको छ । पश्चिमाञ्चल विकास क्षेत्रमै पहिलोपटक मोबाइलको एप्स प्रयोग गरी लिफ्ट प्रविधिमार्फत खबरामा म्याग्दीखोलाबाट सिचाइका लागि पानी लगिएको छ । आयोजनाको उद्घाटन गर्दै सांसद भूपेन्द्रबहादुर थापाले अग्र्यानिक तरकारी खेती र अन्नबालीलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

उनले कृषि क्षेत्रमा रोजगारको अवसर सिर्जना गरी युवालाई विदेशिनबाट रोक्नुपर्ने बताउँदै जिल्लाका धार्मिक तथा ऐतिहासिक क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए ।  बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले लिफ्ट सिचाई प्रविधिलाई दिगोपन दिएर व्यावसायिक रुपमा कृषि क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताइन् । सोही कार्यक्रममा उपप्रमुख बरुवालले आफ्नी छोरी रक्षा बरुवालको जन्मदिनको अवसर पारेर लिफ्ट सिचाई आयोजना दिगो रुपमा सञ्चालन गर्नका लागि अक्षयकोष स्थापनास्वरुप नगद पाँचहजार ५५५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेकी थिइन् ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, वडाध्यक्ष हिराबहादुर थापा, वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजाल, जिल्ला भू–संरक्षण अधिकृत दिवाकर पौडेलले कृषि र पशुपालनका क्षेत्रमा लगानी वृद्धि गरी व्यावसायिक र आत्मनिर्भरको अवसर सिर्जना गर्नुपर्ने बताएका थिए ।

स्थानीय राधाकृष्ण सहकारी संस्थामार्फत अगाडि बढाइएको आयोजनाबाट कुल ६० जना कृषकहरु लाभान्वित हुने भएका छन् । आयोजना सञ्चालनका लागि कृषकहरुले रोपनी अनुसार खर्च बेहोर्ने छन्भने खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयले १२ मिटरका दुईवटा फलामका पाइप सहयोग गरेको छ । यसैगरी जिल्ला भू–संरक्षण कार्यालयले ७ ओटा सिचाई पोखरी निर्माणमा सहयोग गरेको थियो ।

सहकारीका अध्यक्ष भद्रबहादुर कार्कीको अध्यक्षता, आयोजना निर्माण समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीको स्वागत र सचिव तेजेन्द्रबहादुर कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्राविधिक कृष्णबहादुर खत्री र म्याग्दीकाली तरकारी ब्लक सञ्चालक समितिका अध्यक्ष मुक्तिबहादुर खड्काले मन्तव्य राखेका थिए ।