म्याग्दी जिल्लाका सरोकारवालाहरुले तालिममा सिकेका ज्ञान, सिपलाई व्यवहारमा उतार्नुपर्ने बताएका छन् । शीघ्र कुपोषणको एकीकृत व्यवस्थापनसम्बन्धी जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण तालिमको समापनमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

युएसआइडीको आर्थिक सहयोग तथा सुआहारा मिलन म्याग्दी र जिल्ला स्वास्थ्य कार्यालयद्वारा आयोजित तालिममा सरोकारवालाहरुले तालिमका क्रममा सिकेका ज्ञान, सिप र व्यवहारलाई आफ्नो कार्यक्षेत्रमा पूर्णरुपमा लागू गर्न सहभागीहरुलाई आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले जिल्लास्तरमा हुने स्वास्थ्यसँग सम्बन्धित गतिविधिलाई गाउँगाउँसम्म पु¥याउनुपर्ने बताए । उनले तालिमको ज्ञान तथा सिपलाई व्यवहारिक रुपमा उतार्नुपर्ने बताउँदै बालबच्चामा हुने कुपोषणको न्युनीकरण गरी स्वस्थ्य समाजको निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले तालिमका सहभागीहरुलाई स्वास्थ्यसम्बन्धी समस्याहरुको समाधान गर्दै नतिजामुखी परिणाम ल्याउने गरी कार्यक्षेत्रमा लाग्न आग्रह गरेका छन् । अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी र जिल्ला स्वास्थ्य प्रमुख डा. रोशन न्यौपानेले स्वास्थ्य क्षेत्र सबैको सरोकारको विषय भएको बताउँदै स्वास्थ्यका गतिविधि सञ्चालन गर्न सोही अनुसार बजेटको व्यवस्थापन गर्नुपर्ने बताएका थिए ।

तीन दिनसम्म चलेको तालिममा कुपोषित बच्चाहरुको व्यवस्थापन, मातृ शिशु तथा बाल्यकालीन पोषण, कुपोषित बालबालिकाहरुको उपचार, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन, कुपोषित बालबालिकालाई परामर्श, उनीहरुलाई बहिरङ्ग तथा अन्तरङ्गमा भर्ना गर्ने प्रक्रिया, बालबालिकाको पोषण अवस्थाको लेखाजोखा लगायतका विषयहरुमा सहजीकरण गरिएको थियो ।

तालिमको बेनी अस्पतालका मेडिकल अधिकृत डा. अम्बालिका शाक्य, डा. राजेन्द्र पौडेल, पोषण फोकल पर्सन भरतप्रसाद आचार्य, सुआहारा म्याग्दीका पोषण व्यवहार परिवर्तन सञ्चार अधिकृत रेजिना चुँडाल, मातृशिशु बाल्यकालीन, लैङ्गिक समानता तथा समावेशीकरण अधिकृत अनुज गुरुङले सहजीकरण गरेका थिए ।

तालिममा नगर तथा गाउँपालिकाका स्वास्थ्य संयोजक, मेडिकल अफिसरहरु, स्वास्थ्य सुपरभाइजरहरु, लेखा तथा प्रशासनतर्फका कर्मचारी लगायतको सहभागिता रहेको थियो । तालिम समापनमा सुआहाराका जिल्ला संयोजक कामना प्रधान र डा. विराट शर्माले मन्तव्य राखेका थिए ।