जिल्लाको रघुगंगा गाउँपालिका–१ बेगखोलामा निर्माणधिन अवस्थामा रहेको अग्लो झोलुङ्गे पुलबाट खसेर दुईजना मजदुरको मृत्यु भएको छ ।निर्माणकार्य अन्तिम चरणमा पुगेको पुलको बेगबाट बाँदुक तर्फ जाँदै गरेको अवस्थामा चिप्लिएर खसेको स्थानीयबासीले बताएका छन् ।

निर्माणधिन अवस्थामा रहेको पुलबाट खसेर कैलाली जिल्लाको महोन्याल गाउँपालिका–५ का धन बहादुर क्षत्री र सोही गाउँपालिकाका–४ का पुरन थापाको मृत्यु भएको वडा अध्यक्ष बिल बहादुर फगामीले बताए ।‘एक्कासी खसेको खवर सुनियो, दुवैजनाको शव फेला परेको छ’ फगामीले भने ।

उनले अन्तिम चरणमा पुगेको पुलबाट मजदुरको खसेर मृत्यु भएपछि स्थानीयबासी समेत दुखित भएको बताए ।दिनभरी पुलमा आवश्यक पर्ने सिमेन्ट बोकेका क्षत्री र थापा साँझ पाँच बजे पुलबाट बाँदुक जाने क्रममा खसेका थिए । मृतकको पुलबाट करिव १५० मिटर तल शव भेटिएको वडा अध्यक्ष फगामीले बताए।निर्माणधिन अवस्थामा रहेको पुलका मजदुर, जनप्रतिनिधि, स्थानीयबासी घटनास्थलमा पुगेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

घटनास्थलमा पुगेर प्रहरीको टोलीले प्रारम्भीक अनुसन्धान गरेको छ । बेगखोला गाउँबाट बाँदुग जोड्ने झोलुङ्गे पुलको लठा तान्ने, दुवै तर्फको मेन ब्लकका साथै मुख्य संरचनाको निर्माण कार्य सकिएपछि फिनिसिङको काम भइरहेको थियो ।जिल्लामै पहिलोपटक निर्माणधिन अवस्थामा रहेको लामो र अग्लो झोलुङ्गे पुलको करिव ८ प्रतिशत काम बाँकी रहेको थियो।

मृतक सहित कैलालीबाट आएका र अन्य मजदुर सुरक्षित रहेका छन् । पुल निर्माणको क्रममा सुरक्षालाई विषेश ध्यान दिएपनि तारबार नगरिएको स्थानबाट आवतजावत गर्ने प्रयास गर्दा दुर्घटना भएको प्रहरीले प्रारम्भीक जानकारी दिएको छ ।

कुल ३ करोड ३२ लाख लागतमा निर्माण हुन लागेको पुल ३ सय ६५.८० मिटर लम्बाई रहेको छ । साविकको बेगखोला गाविसमा रहेका १–६ र बादुकका ७,८ र ९ वडाका बासिन्दालाई लक्षित गरिएको पुल रघुगंगा गाउँपालिकाको भगवती, पिप्ले, चिमखोला, दग्नामका साथै अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, नारच्याङ, हिस्तानका बासिन्दालाई समेत आवतजावतमा सहज हुन्छ ।