अस्पतालमा भवन निर्माणको शिलान्यास

0

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बेनी अस्पताल परिसरमा डाक्टर क्वाटर भवन निर्माणका लागि मङ्गलबार शिलान्यास भएको छ । आधुनिक सुविधासम्पन्नसहित भूकम्प प्रतिरोधात्मक बन्ने भवनको एक औपचारिक कार्यक्रममार्फत निर्माणको सुरुवात गरिएको हो । डा. क्वाटर भवन र नर्सिङ क्वाटर भवनको अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी र जिल्ला स्वास्थ्य प्रमुख डा. रोशन न्यौपानेले संयुक्तरुपमा शिलान्यास गरेका थिए ।

धार्मिक परम्परा र विधिअनुसार पुजाआजा गरी निर्माणाधीन भवनको जगमा शिलान्यास गरिएको थियो । शहरी आवास तथा भवन डिभिजन कार्यालय बागलुङमार्फत निर्माण हुने डा. क्वाटर भवनको कुल लागत एक करोड २८ लाख ७७ हजार ८८९ रुपैयाँ रहेको बेनी अस्पतालले जनाएको छ । यसैगरी नर्सिङ क्वाटरको ८४ लाख ४० हजार ८८९ रुपैयाँ रहेको छ । दुवै भवनको महादेव नाना जेभि म्याग्दी गलेश्वरका प्रोप्राइटर कृष्णकुमार शेरचनले निर्माणको जिम्मेवारी लिएका छन् ।

आगामी १८ महिनाभित्र निर्माणसम्पन्न गरिसक्ने लक्ष्य राखिएको दुवै भवनको दुईदुई तला र चारचार वटा कोठा रहने निर्माण व्यवसायी शेरचनले बताए । उनका अनुसार दुवै भवन आधुनिक सुविधासम्पन्न तथा भूकम्प प्रतिरोधात्मक बन्ने भएका छन् । भवनभित्र किचनसहित एट्याच बाथरुम, लिभिङ रुम लगायतका कोठाहरु निर्माण गरिने बताइएको छ । निर्माणाधीन दुवै भवनमा आवासका लागि डाक्टर तथा नर्सिङका चारचार परिवारलाई लक्षित गरिएको छ ।

५० शैयामा स्तरोन्नति भएको बेनी अस्पतालको गएको मंसिर अन्तिम साता अस्पताल परिसरमा जिल्लामै पहिलोपटक सबैभन्दा ठूलो सरकारी संरचनाको आधुनिक सुविधासम्पन्न भवनको निर्माणकार्य सुरु गरिएको थियो । चार तला रहेको सो भवनको कुल लागत भ्याटसहित १८ करोड ८४ लाख ८ हजार ८९ रुपैयाँ रहेको छ ।