छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलामा पहिलोपटक सदरमुकाम बेनीमा ब्राहमण समुदायको राधाकृष्ण नृत्य प्रस्तुत गरिने भएको छ । धौलागिरी गाउँपालिका–७ ताकममा रहेका ब्राह्मण जातीले धार्मिक तथा सार्वजनिक कार्यक्रममा देखाउँदै आएको नृत्यलाई शुक्रबार देखी सुरू हुने महोत्सवको उद्घाटनको अवसरमा प्रस्तुत गरिने ¥याली, झाँक्री ब्यवस्थापन उपसमितिका संयोजक सुरेन्द्रराज शर्माले बताए।

‘ताकममा यो नाँच देखाउने गरिन्छ ।बुढापाकाले यसको संरक्षणमा यूवापुस्ताको सहयोग मागेका छन्’ शर्माले भने ।ब्राह्मण समुदायका आफ्नो मौलिक कला र संस्कृति लोभ हुन थालेको अवस्थामा महोत्सवमा आउने अतिथि तथा सहभागिलाई समेत नाचको महत्वका बारेमा जानकारी गराउन पहिलोपटक जिल्लाको सदरमुकाम बेनीमा ल्याइएको शर्माको भनाई छ ।धर्मको संरक्षण र उत्थानमा समुदायलाई सक्रिय बनाउन बि.श १९९५ सालमा तीज मेलाबाट राधाकृष्ण नृत्य र गायनको प्रारम्भ गरिएको थियो ।

नृत्यले मनोरञ्जनका साथै आत्धात्मिक ज्ञान समेत दिने नृत्यमा सहभागि हुदै आएका ताकमका यूवा गोपाल आचार्यले बताए ।‘हिन्दु धर्मको महत्वलाई जानकारी गराउँदै कृष्ण कथाको सारलाई पनि दर्शाउने गरिन्छ’ उनले भने ।पहिलो पटक नृत्यको सुरुवात गरेका पण्डित टेकनाथ पौडेल र हरिलाल सुबेदी संस्थापक हुन् । पोषनाथ पौडेल कृष्ण र भिमलाल जैशी राधाको रुपमा प्रस्तुत हुने गरेका थिए । सत्यको सधै जीत हुन्छ भन्ने सन्देश प्रवाह गर्ने गीतमा राधाकृष्ण सत्यको पक्षमा र जोकर नाम राक्षस असत्यको पक्षमा देखिन्छन् ।

ब्राह्मण समुदायको हक हितका लागि स्थापना भएको बाह्मण समाजले समेत यसलाई निरन्तरता दिने प्रयास गर्ने समाजका बरिष्ठ उपाध्यक्ष एवम् म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले बताए । ‘यसपटक जिल्लाको दुर्गम क्षेत्रबाट बाह्मण समुदायका पहिचानलाई ल्याउँदैछौ । सबै जातजातीको एकताको सन्देश पनि यो महोत्सवले दिनेछ’ उनले भने । ताकमबाट राधाकृष्ण र मंगला गाउँपालिकाको बरंजाबाट भजनकृतन सहित महोत्सवमा सहभागिता जनाउने तयारी गरेपनि समाजबाट भने कुनैपनि सहयोग नभएको गुनासो गरिएको छ ।

विज्ञापन