महोत्सवले जिल्लाको समग्र विकास,समृद्धि र पर्यटनका सम्भावनाको खोजी गर्छ

0

सुविन श्रेष्ठ
नेपालको संघीय संरचनाको विभाजन अनुसार प्रदेश नं ४ अन्र्तरगत पर्ने ११ जिल्ला मध्ये म्याग्दी जिल्लाको आफ्नै पहिचान छ । धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको म्याग्दी जिल्ला पश्चिम क्षेत्रको एक महत्वपूर्ण ब्यापारिक केन्द्रको रुपमा परिचित छ ।छैटौं म्याग्दी महोत्सवको उदेश्य भनेको जिल्लाको कला, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको पहिचान र प्रवद्धन साथै पर्यटकीय सम्भावनाहरुको खोजीमा केन्द्रित रहेको छ । हाम्रो म्याग्दी जिल्लाको खानी,कृषि, जडीबुटी,स्थानीय उत्पादन,घरेलु उद्योग, ब्यापार, ब्यवसाय पनि पर्यटनसंग जोडिएको छ ।

महोत्सवलाई हेर्दा एकै ठाउँमा ब्यापार र रमाईलो कार्यक्रम भएको जस्तै देखिए पनि महोत्सवले सम्रग जिल्लाको विकास, समृद्धि र पर्यटनको सम्भावनाको खोजी गर्न सहयोगी भूमिका निर्वाह गर्दछ । साथै यस ठाउँमा लगानीका सम्भावनाहरुको उजागर गदैं आगामी दिनमा लगानीकर्ताहरुको ध्यान तान्न पनि महोत्सवले भूमिका खेलिरहेको हुन्छ । यस जिल्लामा विभिन्न जातजातिको आफ्नै मौलिक कला र संस्कृति रहेका छन् । यो जिल्लालाई दोहोरी , लोक सांस्कृतिको उद्गमस्थल जिल्ला भनेर चिनिने गरिएको छ ।

महोत्सवमा हामीले हरेक विद्यालाई समेट्ने प्रयास गरेका छौ । कृषि मेला प्रर्दशनी तथा प्रतियोगिता ,प्रत्येक गाँउपालिका र नगरपालिकाको स्थानिय उत्पादनको छुट्टाछुट्टै स्टल,धार्मिक एवं पर्यटकीय स्थलहरुको फोटो तथा बृत्तचित्र प्रर्दशनी,खेलकुद प्रतियोगिता,लोकदोहोरी गित ,लोक नृत्य र रट्यौली गित प्रतियोगिता ,हास्यब्याङग , लगाएतको सांस्कृतिक कार्यक्रमको आयोजना गरी लोक कलाकारलाई प्रतिभा प्रस्फुटन गराउन अवसर प्रदान गरेका छौ ।

महोत्सव अवधिभर प्रत्येक दिन जातजाति, जनजातिहरुलाई आफ्नो कला र संस्कृति प्रस्तुत गर्न हामीले समय विभाजन गरेका छांै । हाम्रो पुरानो मौलिक कला, लोकसंस्कृति हाम्रो पहिचान हो । यो हामी नेपालीहरुको आफ्नो ओरजिनल कला, संस्कृतिलाई हामीले संरक्षण गर्नु यसलाई प्रर्बधन गर्नु हामी सबैको दायित्व पनि हो ।

महोत्सवमा खुल्ला लोकदोहारी गित, लोक नृत्यका साथै हामी यो बर्ष नयाँ विधा रत्यौली गीत प्रतियोगिता थपेका छौँ ।े विषेश गरी विवाहमा गाईने रत्यौली गीतहरु आजभोली कम हुदै गएका हो की ? हाम्रो कला र संस्कृतिलाई हामीले निरन्तरता दिनुपर्छ भन्ने उदेश्य राखी हाम्रो रत्यौली गीत जस्ता कला र सांस्कृतिलाई बचाई राख्न यो बर्ष हामीले यो विधामा प्रतियोगिता राखेका हौँ । लोकसंगीतमा धनी जिल्ला म्याग्दीमा आधुनिकताले पुराना कला र संस्कृतिलाई मास्न नदिन पनि लोपोन्मुख कला र संस्कृतिको संरक्षणमा प्रतिबद्ध रहनेछौ ।समग्रमा भन्नु पर्दा म्याग्दी जिल्लाको हरेक पक्षको विकास र समृद्धिमा यो महोत्सवले सबै तह र तप्काका सरोकारवालाहरुलाई घचघचाईरहने छ भन्ने मैले विश्वास लिएको छु । (प्रथम उपाध्यक्ष एवम् खुल्ला लोकदोहारी, लोकनृत्य तथा रत्यौली गित प्रतियोगिता)