बेनीबजारका सबै घर सजिएका छन् । विभिन्न रंगका ध्वजा पताकाले बजार बेहुलीझैँ सिँगारिएको छ । भोली देखि सुरु हुने छैटौं म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापार मेलाको स्वागतमा म्याग्देली आतुर छन् । बेनीबजार प्रवेशद्धार, बजारभित्र बनाइएको स्वागत गेटले बजारको मुहार फेरिएको छ ।बजारभित्रका टोल सुधार समितिले विहानै देखी आफ्नो टोललाई सफा र सुन्दर बनाएका छन् ।

आफ्नो ब्यक्तिगत काम समेत छोडेर महोत्सवको तयारीमा जुटेका बेनीबजारबासीले अवलोकनका लागी भित्रिने आन्तरिक पर्यटकलाई नमुना जिल्लाको रुपमा चिनाउन आवश्यक तयारी गरिरहेका छन् । ‘महोत्सव जिल्लाको पहिचान हो, हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गरेका छौ’ विरेन्द्रचोक टोल सुधार समितिका अध्यक्ष दलप्रसाद श्रेष्ठले बेनीअनलाइनलाई भने।

उनले घरघरबाट महोत्सवलाई स्वागत गरिने छ । महोत्सवको उद्घाटनको दिन बाहेक पनि सुन्दर टोल बनाउने अभियानमा सक्रिय रहेका श्रेष्ठले महोत्सव अवधिभर सार्वजनिक धारामा पानीको कुनै समस्या नहुने गरी ब्यवस्थापन गरिएको बताए । जिल्लाको प्रतिष्ठा संग जोडिएको महोत्सवमा आउने अतिथिलाई स्वागत गर्न बजारभित्रका टोल सुधार समितिले सामुहिक बजार सरसफाई गरिरहेको संयोजक गोपाल पौडेलले बताए ।

उनले हरेक टोलको स्थलगत अनुगमनका साथै आवश्यक परेमा सहयोग समेत गरिएको बताउँदै सुन्दर नगरीको परिचयलाई पुष्टी गर्ने गरी काम भएको बताए ।‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित महोत्सवको सम्पूर्ण तयारी पुरा भएको मुल संयोजक उत्तम कुमार कर्माचार्यले बताए ।

‘तयारी पुरा भएको छ, उद्घाटन कार्यक्रम निर्धारित समयमै सुरु हुन्छ’ उनले भने । जिल्लाको आर्थिक समृद्धिका लागि महोत्सव कोशेढुंगा सावित हुने विश्वास लिइएको बताए । महोत्सवमा नगर तथा गाउँपालिका भित्रका उत्पादनका साथै विभिन्न जातजातीको नाचलाई समेत विषेश प्राथमिकता दिइएको छ । कृषि, पर्यटन र जडिबुटीको प्रचुर सम्भावना रहेकाले महोत्सवमार्फत बजारीकरण र लगानीको वातावरण बनाउन सहज हुने आयोजकको भनाई छ।

गाउँ र सहर बीचको दुरीलाई पनि महोत्सवले मेट्ने छ’ उनले भने ।उनका अनुसार जिल्लाको धौलागिरी गाउँपालिकाको गूर्जामा रहेको चिप्लो तथा मकालिका गाउँपालिकाको रुमको स्लेट ढुङ्गा, राखुको खरी, अल्लो पुवा र यसबाट उत्पादित सामाग्री महोत्सवमा प्रदर्शन गरिने छ ।

ग्रामिण क्षेत्रमा महिलाको उत्पादनलाई विक्री तथा वितरणका लागि निशुल्क स्टलको ब्यवस्था गरिएको छ । कालीगण्डकी नदीमा जलेश्वरदेखि म्याग्दीकालीको दोभानसम्म ¥याफ्टिङ, बेनी देखी लभ्लीहिलसम्म घोडा सफारी लगाएतका महोत्सवमा आउने दर्शकलाई आर्कषित गर्ने प्रयास भइरहेको छ । महोत्सवस्थलभित्र १८० ओटा विभिन्न व्यापारिक स्टलहरु रहने छन् । महोत्सवमा १ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भिœयाउने लक्ष्य रहेको कोषाध्यक्ष अमृत बानियाँले बताए ।

महोत्सवमा करिव ८ करोड कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका वस्तु तथा सेवाको स्टल प्रर्दशनी, नगर एवं गाउँपालिकास्तरीय महिला र पुरुष भलिबल, बास्केटबल, लोकदोहोरीगीत प्रतियोगिता, लाइभ दोहोरी कार्यक्रमलगायत रहेका छन् । महोत्सव उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गर्ने कार्यक्रम रहेको छ ।