बेनी नगरपालिका–४ थामडाँडामा किस्मा घलेले विगत २० दिनदेखी गुरूङ जातीको घाटु नाँच सिक्दैछिन् ।उनीसंगै प्रतिमा गुरूङ, सलिना, सञ्चिता गुरूङले पनि जिल्लामा पहिलोपटक सुरू भएको प्रशिक्षणमा सहभागि भइरहेका छन् ।

आफ्नै जातीको नाच पहिलोपटक सिक्दै गरेका यूवायूवतीले भोली देखी सुरू हुने म्याग्दी महोत्सवमा बाह्मासे घाटु नाच प्रस्तुत गर्ने गुरुङ संस्कृति संरक्षण समिति सचिव दिनेश गुरूङले बताए । ‘घाटु नाच संरक्षणमा सक्रिय हुन्छौ, अव हरेक कार्यक्रममा यसलाई प्रस्तुत गरिन्छ’ गुरूङले बेनीअनलाइनलाई भने ।

गुरूङ जातीको पुख्यौली नाचको रुपमा समेत चिनिने घाटु विवाह, ब्रतबन्धन लगाएत सार्वजनिक र गुरुङ समुदायका चाडपर्वमा प्रस्तुत गर्ने गरिन्छ । नाचमा किस्मा घले, सन्ध्या घले, प्रतिमा गुरुङ, समृत गुरुङ, सलिना गुरुङ, सञ्चिता गुरूङ लगाएत सहभागि छन् । लम्जुङबाट प्रतिक्षण दिन आएका गम बहादुर गुरूङले म्याग्दीमा पहिलोपटक प्रस्तुत गर्न लागिएको नाचको संरक्षणका साथै पर्यटन प्रर्वधनमा समेत सघाउने बताए ।

‘सती जाने प्रथामा आधारित छ । यहाँका यूवापुस्तामा नाच प्रति आर्कषण देखियो’ उनले भने । गुरूङ समुदायको लोक संस्कृतिमा आधारित नाच १६ औं शताब्दीतिर लमजुङका एक दम्पत्ती राजारानीको विवाह, प्रेम, गृहस्थी आदी घटनामा आधारित भएर घाटु नाचिन्छ । श्रीपञ्चमीमा सुरु भएको घाटु चण्डी पूर्णिममा अन्त्य हुन्छ । तमु सेवा समाज म्याग्दीले समेत घाटु नाचलाई नियमित देखाउने जनाएको छ ।