भनिन्छ ‘एउटा युगले एकजना मात्र नायक जन्माउँछ ।’ २०४६ सालमा भएको ऐतिहाँसिक जनआन्दोलन पछि २०५२ सालसम्मको समयावधिलाई मौन मान्ने हो भने त्यसपछिको नेपाली युगका नायक पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् भन्दा फरक पदैन । २०५२ सालमा तत्कालिन नेकपा माओवादीले शुरु गरेको सशस्त्र जनयुद्धको गर्भबाट शक्तिशाली योद्धाका रुपमा जन्मिएका प्रचण्ड २०५२ सालदेखि अहिलेसम्म पनि नेपालको राजनीतिका निर्णायक र शक्तिशाली नेताको रुपमा चिनिएका छन् ।

एक अर्थमा नेपालको राजनीति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को आसपासमै घुमिरहेको छ। जनयूद्धको सुरुवातसंगै चर्चामा रहेका प्रचण्ड जनयूद्धका एजेन्डा र उपलब्धीलाई संस्थागत गदै शान्ती प्रक्रियाको दुई मध्ये एक हस्ताक्षरकर्ता समेत हुन् ।

करिव साढे दुईदशक नेपालको राजनीतिलाई आफ्नो आसपासमै केन्द्रित गरी अगाडी बढेका प्रचण्ड र म्याग्दीको सम्वन्ध ध्वस्त र निर्माणको ‘मजधार’ बाट अघि बढिरहेको छ । २०६० साल चैत्र ७ गते तत्कालिन नेकपा (माओवादी) ले बेनी आक्रमण गरेपछि त्यसको जस वा अपजस पार्टीको नेतृत्वकर्ता भएको हिसावले स्वभाविकरुपमा प्रचण्डमाथि आइपर्छ । यी तिनै प्रचण्ड हुन् जसले नेतृत्व गरेको पार्टीका लडाकुहरुले बेनी आक्रमण गरेका थिए । सयौं मानिसहरु मरेका थिए त्यो आक्रमणमा ।

कैयौं अंगभंग भएका थिए । अर्वौको क्षति भएको थियो ।भौतिक पूर्वाधारहरु जलाइएको थियो,भत्काइएको थियो । सयौं मानिसहरु अनाथ र टुहुरा बनेका थिए । माओवादी जनयूद्धकै सबैभन्दा भिषण आक्रमणको सामाना समेत म्याग्दीले गरेको थियो । प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगाएत ठुलो संख्यामा अपहरण गरी राज्यलाई माओवादीको शक्ती प्रर्दशन समेत गरेका थिए । सहरमा बस्ने मानिसहरुले त्यतिबेला प्रचण्डलाई नकारात्मक रुपमा बुझेका थिए ।

सहरमा उनलाई विनाश संग जोडेर बहस गरिन्थ्यो, गाउँमा पनि माओवादीको पक्ष र विपक्षमा जनमत भएपनि ग्रामिण क्षेत्रका बासिन्दाको सहयोगमा जनयूद्ध हाँक्दै अगाडी बढेका थिए ।त्यतिवेला प्रचण्डको क्रुरता मात्र जनतालाई थाहा थियो ।उनको शालिनता र भद्रतालाई जनताले देख्न,बुझ्न र महशुस गर्न पाएका थिएनन् ।तर, अहिले समय फेरिएको छ । नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि जनता माओवादीसंग त्रसित होइन आशावादी बन्न थालेका थिए ।

प्रचण्डको ओझ र व्यक्तित्वले जनतालाई आकर्षित गरेको थियो र छ पनि । नेपाली राजनीतिमा उनको सक्रियता विना अगाडी बढ्न सक्दैन भन्ने धेरैछन् । नेपाली राजनीतिका किङको रुपमा चिनिएका प्रचण्ड छैटौं म्याग्दी महोत्सवको प्रमुख अतिथी बनेर म्याग्दीमा आउँदैछन् । प्रचण्डको म्याग्दी आगमनलाई म्याग्देलीहरुले प्रतिक्षा गरिरहेका छन् र उनको भव्य स्वागतका लागि जुटेका छन् । प्रचण्डको नेतृत्व (पार्टीगत रुपमा) मा आक्रमण गरी ध्वस्त बनेको बेनी बजारका भौतिक संरचनाहरुको पुनःनिर्माण भैसकेको छ । भव्य भवनहरु ठडिएका छन्।

पुल बनेका छन् ।युद्धमा विनाश भएका संरचनाहरुको पुनः निर्माण भएपनि म्याग्दीमा रहेका प्राकृतिक स्रोत र सम्पदाहरुको सही रुपमा प्रयोग हुन सकेको छैन । विकासका पूर्वाधारहरु जिल्लाका सबै ठाउँमा पुग्न सकेका छैनन् । पहिलो म्याग्दी महोत्सव २०६० को दुई महिना पछि माओवादीले म्याग्दी आक्रमण गरेर ध्वस्त बनाएको सदरमुकाम बेनी बजार अहिले अत्यन्त सुन्दर बजार बनेको छ । उद्योग,व्यापार,व्यवयास फस्टाएको छ । पर्यटकीय, धार्मिक र जलविद्युतमा नेपालको एक आर्कषक जिल्लाको रुपमा समेत चिनिएको छ ।

प्रचण्डसंग म्याग्देलीको अपेक्षा
बेनी आक्रमण लगत्तै एतिहाँसिक जीत भन्दै अज्ञातस्थलबाट सन्देश सार्वजनिक गरेका प्रचण्ड । दोस्रो संविधानभाको निर्वाचनमा माओवादीको पक्षमा भोट माग्दै म्याग्दीमा आएका थिए । म्याग्दी जिल्लाको भुगोलका बारेमा जानकार प्रचण्डसंग म्याग्देली जनताले धेरै अपेक्षा गरेका छन् । प्रचण्ड नेतृत्वको सरकार हुँदा म्याग्दीको विकासका लागि परेका योजनाहरु म्याग्देली जनताले विर्सेका छैनन् ।

आक्रमणका बेला ध्वस्त बनाइएका संरचनाहरु निर्माण भएपनि अझ धेरै विकासका पूर्वाधारहरु म्याग्दीलाई चाहिएको छ । पर्यटन विकासका प्रशस्त योजनाहरुको आवश्यकता छ । मुलुकमा नयाँ शिराको राजनीति शुरु हुँदै छ । स्थानीय तह,प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन पछि मुलुक नयाँ गन्तव्यको यात्रामा अघि बढेको छ । त्यो यात्रा भनेको समृद्धिको यात्रा हो । म्याग्दीको समृद्धिका लागि पुष्पकमल दाहा (प्रचण्ड)को भूमिका महत्वपूर्ण हुने विश्वास म्याग्देली जनताको छ ।

म्याग्देली जनताले जिल्लाको विकास र समृद्धिका लागि प्रचण्डको भूमिका महत्वपूर्ण हुने विश्वास गर्नुमा धेरै आधारहरु रहेका छन् । ती आधारहरु मध्येको प्रमुख आधार भनेको वामएकता र त्यसपछि देश नेतृत्व तहमा रहने प्रचण्डको भूमिका नै प्रमुख आधार हो ।करिब आधा दशकअघि आफ्नै नेतृत्वको पार्टीले आक्रमण गरी ध्वस्त बनाएको ठाउँमा आएको बेला प्रचण्डले पक्कै पनि केही विकासका योजनाहरु पूरा गर्ने प्रतिवद्धता म्याग्देली जनतासंग अवश्य गर्ने महोत्सव मूल आयोजक समितिका संयोजक उत्तम कुमार कर्माचार्यले बताए ।

‘अहिलेसम्म सम्पन्न भएका महोत्सवका सबैभन्दा बिशिष्ट अतिथि हुनुहुन्छ ।उहाँलाई म्याग्दीका बारेमा जानकारी छ, अव विकास र समृद्ध म्याग्दी माग्नेछौ’ कर्माचार्यले भने । उनले जिल्लामा निर्माणधिन तर अलपत्र अवस्थामा रहेका जलविद्युतको सुचारु, माओवादीको जनयूद्ध प्रभावित क्षेत्रलाई जोडेर बनाइएको गरिल्ला पदमार्ग सहित कालिगण्डकी करिडोर, पर्यटनमा बजेट लगाएतका विभिन्न पूर्वाधार विस्तारमा सहयोगको अपेक्षा गरिएको बताए ।

प्रचण्डले व्यक्त गर्ने प्रतिवद्धताहरु पूरा गर्न सके भने म्याग्दीको समृद्धि धेरै टाढाको विषय हुनेछैन ।उनले म्याग्दीको विकासका लागि केही ठोस कामहरु गर्ने वचनवद्धता व्यक्त गर्दै सरकार गठन भएपछि ती प्रतिवद्धताहरु पूरा गरुन् म्याग्देली जनताले प्रचण्डसंग यही अपेक्षा गरेका छन् । प्रचण्डले म्याग्देली जनताका अपेक्षालाई पूरा गर्नसके भने मात्र उनको प्रमुख आतिथ्यताको अर्थ रहने छ । छैटौं म्याग्दी महोत्सव म्याग्दीको विकास र समृद्धिका लागि कोशे ढुङ्गा सावित हुने छ ।