राष्ट्रियस्तरका खेलाडी समेत आउँदैछन्

म्याग्दी जिल्ला खेलकुदमा धनी जिल्ला हो । जिल्लामा मेला महोत्सवमा खेलकुद प्रतियोगिताले दर्शकलाई आर्कषण गर्ने गरेको पाइन्छ ।छैटौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला एवम् ४ नंं. प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको अवसरमा साविकको धौलागिरी अञ्चल भित्रका नगरपालिका र गाउँपालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको आयोजना गरिएको छ ।

राष्ट्रिय खेलको रुपमा समेत मान्यता प्राप्त भलिबल पहाडी जिल्लामा प्रमुख खेलको रुपमा समेत चिनिने भएकाले पनि प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीहरूको समेत सहभागिता रहने अनुमान गरिएको छ ।म्याग्दी जिल्लाबाट राष्ट्रिय खेलाडी अरुणा शाही, राजु शेरचन लगाएत क्षेत्रीयस्तरका खेलाडीले प्रतियोगितामा सहभागिताले समेत दर्शकको खचाखच भीड हुने अनुमान गरिएको छ । माघ २ गतेबाट पुरूष र ४ गतेबाट महिला भलिबल प्रतियोगिता सुरु हुनेछ । महोत्सवस्थलमै हुने प्रतियोगिताले टिकट विक्रीमा समेत सघाउ पुग्ने अपेक्षा लिएका छौ ।

महोत्सवको अवसरमा आयोजित प्रतियोगिताले खेलकुद प्रतिभाको उजागरमा सघाउने छ । जिल्लामा ग्रामिण क्षेत्रमा रहेका भलिबल खेलाडीलाई नगर तथा गाउँपालिकास्तरीय प्रतियोगिता मार्फत खेल प्रतिभा देखाउन म्याग्दी उद्योग वाणिज्य संघले आवश्यकता अनुसारको लगानी समेत गरेको छ ।नियमित रुपमा हुने यस्ता प्रतियोगिताले जिल्लामा खेलकुद पर्यटनको सम्भावनालाई समेत प्रचारप्रसार गर्ने भएकाले पनि आर्थिक,भौतिक र नैतिक सहयोगका लागि अनुरोध गर्दछु । सुमन श्रेष्ठ/ सह कोषाध्यक्ष एवम् खेलकुद प्रतियोगिता ब्यवस्थापन उपसमिति