आज देखी सुरू हुन लागेको छैटौं म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापार मेलाका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वागतलाई भब्य बनाउन आयोजक जुटेका छन् । उद्घाटन कार्यक्रमको शुभारम्भ विहान १० बजेदेखी हुने भएपनि प्रमुख अतिथिको जिल्लामा प्रवेश साढे १२ बजेभित्र हुनेछ । प्रमुख अतिथिको आगमन पूर्व नै खुल्लामञ्चबाट झाँकीले बेनीबजार परिक्रममा गर्नेछ ।

काठमाण्डौबाट हेलिकप्टरमा प्रचण्ड सहित राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ समेत जिल्लामा आउने कार्यक्रम रहेको छ । बेनीबजार नजिक हेलिकप्टरबाट अवतरण गरे लगत्तै होटल याकमा खाना र केहीबेर आराम गरेपछि ३ बजेसम्म प्रमुख अतिथि महोत्सवस्थलमा रहनेछन् । माओवादीका नेता कार्यकर्तासंग भेटघाट तथा जिल्लाका बारेमा समेत जानकारी लिने कार्यक्रम रहेको छ । महोत्सवमा जिल्लाका बारेमा जानकारी सहित स्थानीय कला र संस्कृति लगाएतका महत्वपूर्ण कार्यक्रमहरु प्रमुख अतिथिलाई देखाउने कार्यक्रम रहेको निर्वतमान अध्यक्ष एवम् अतिथि सत्कार ब्यवस्थापन उपसमितिका संयोजक जीवन बहादुर विश्वकर्माले बताए ।

‘उहाँको स्वागतका लागि आतुर छौ । अतिथी सत्कारका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको छ’ उनले भने ।‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित महोत्सव आउँदो माघ महिनाको पहिलो सातासम्म चल्ने छ । प्रमुख अतिथिका रुपमा आएका प्रचण्डलाई जिल्लाको भावी योजना सहितका बारेमा जानकारी गराउने भएकाले पनि आर्थिक समृद्धिका लागि महोत्सव कोशेढुंगा सावित हुने विश्वास लिइएको छ ।