समृद्धिको बाटो समाउँदै म्याग्दी

सबैतिर आर्थिक समृद्धिको चर्चा चलिरहेको छ । यही अवस्थामा म्याग्दी पनि आर्थिक रुपमा अब्बल बन्दै गएको यहाँका व्यावसायीले बताएका छन् । जलविद्युत, पर्यटन, कृषिले जिल्लालाई पछिल्लो समय समृद्ध बनाउँदै गएको छ । त्यसमा विदेशमा रहेका युवाले पठाएको रेमिट्यान्सले पनि आर्थिक रुपमा समृद्ध बनाउन सघाएको व्यासायीको भनाई छ ।

म्यादी उद्योग बाणिज्य संघका महासचिव लिलाराम गौतम जिल्लालाई आर्थिक रुपमा समृद्ध बनाउने आधार प्रयाप्त रहेको बताउँछन् । उनका अनुसार अहिलेसम्म म्याग्दीका नदीनालाबाट २ मेगावाट विद्युत उत्पादन भईसकेको छ । ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला आयोजना निर्माणको चरणमा छ ।

त्यस्तै ५ मेगावाटको घलेम्दी आयोजना पनि अन्तिम चरणमा पुगेको छ । त्यस्तै जिल्लाको गलेश्वर, मालिका, खोप्रा चर्चित धार्मिक क्षेत्र हुन । ती धार्मिक क्षेत्रले आन्तरिक तथा विदेशी पाहुना आकर्षण गरेका छन् । त्यसबाहेक जिल्लाभित्रका एकदर्जन तातोपानी कुण्डले जिल्लालाई सबैभन्दा बढी पहिचान दिलाएका छन् ।

कृषिमा पनि म्यादी अब्बल छ । करिब १२ करोड रुपैयाँको सुुन्तला वर्षेनी यहाँका किसानले फलाउँछन् । म्याग्दीलाई चिनाउने सबैभन्दा ठुलो आर्थिक क्षेत्र रेमिट्यान्सले हो । जिल्लाले वर्षमा करिब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भिœयाउँछ ।
हिमाली जिल्ला मुस्ताङ हुँदै तिब्बती नाका कोरला जोड्ने कालिगण्डकी करिडोरको धेरै खण्ड पनि म्याग्दीमै पर्छ ।

पर्यटन क्षेत्रमा वर्षमा ५० हजार भन्दा बढी विदेशी पाहुनाले जिल्ला घुम्छन् । गुरिल्ला पदमार्ग र अन्नपूर्ण पदमार्गको हिस्सा म्याग्दीले ओगट्छ ।‘यिनै पुर्वाधार र क्षमताले म्याग्दीलाई आर्थिक रुपमा अब्बल बनाउँदै गएको छ,’ उनले भने, ‘अब यसमा सबैको हातेमालो हुन जरुरी छ ।’ जिल्लामा उद्यमको विकास गर्न र गाउँका युवालाई उद्यमशील बनाएर स्वदेशमै रोजगारी दिलाउने तर्फ अब सबैको ध्यान पुग्नुपर्ने उनले बताए ।

महोत्सव पनि सहयोगी
केहीवर्ष अघिसम्म जिल्लामा हुने मेला महोत्सव मनोरञ्जनमा मात्र सिमित थिए । तर, अहिले भने यिनै मेला ती जिल्लालाई आर्थिक समृद्धि बनाउनेतर्फ लक्षित हुन थालेका छन् । स्थानीय व्यवासायिले यि मेलालाई अहिले आर्थिक समृद्धिको पाटोमा जोड्न थालेका छन् ।

यसैक्रममा शुक्रबारदेखि सुरु भएको महोत्सवमा बोल्ने बक्ताले समेत म्याग्दी जिल्लाको भविस्य सुन्दर रहेको बताउँदै लगानीको वातावरण बनाउन अनुरोध गरेका थिए । महोत्सवको उद्घाटन गदैं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले म्याग्दी जिल्लाको भुगोल र सम्भावनाका बारेमा जानकार रहेको बताए ।

उनले अधिकांस समय म्याग्दी जिल्लाको सम्भावना र महत्वका बारेमा बोलेका थिए । सोही अवसरमा बोल्न अन्य बक्ताले समेत जिल्लाको हितमा आवश्यकता अनुसार लगानी भित्राउन महोत्सव एउटा माध्यम बन्ने बताएका थिए । महोत्सवका मुल संयोजक उत्तर कुमार कर्माचार्यले यो महोत्सव जिल्लाको समृद्धिको ढोका खोल्नमा सहयोगी हुने बताए। उनले प्रदेश–४ को कृषि, पर्यटन, औद्योगिक तथा व्यापार बिस्तारमा सघाउने बताए ।

‘उत्पादन र सम्भावनाका क्षेत्रमा लगानी देखी जिल्ला बाहिरका ब्यापारी समेत भिœयाएर अर्थतन्त्र उकास्ने काम हुन्छ,’ उनले भने, ‘लगानीको वातावरण बनाउन पनि यस्ता मेलाले सिकाउँछ ।’ उद्यमशिलता सिकाउन सघाउने भएकोले महोत्सवको महत्व रहेको उनले बताए । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित मेलाको यो छैठौं संस्करण हो ।

‘समृद्ध म्याग्दी बनाउन आवश्यक पर्ने क्षेत्रलाई लक्षित गरी महोत्सव गर्ने गरिएको छ । बजार देखि गाउँसम्मको दुरीलाई कम गर्न यसले भूमिका खेलेको छ’ कर्माचार्यले भने । उनले हरेक महोत्सवमा जिल्ला भित्रका उत्पादनको बजार खोज्ने र सम्भावना यूक्त क्षेत्रको प्रचारप्रसारमा केन्द्रित भएको बर्ता । ‘जिल्लाको आर्थिक विकासको सपना पनि महोत्सवभित्र हुन्छ,’ उनले भने ।

उनका अनुसार विगतका महोत्सवमा स्थानीय उत्पादनको प्रचार प्रसारमा केन्द्रित भएपनि यसवर्ष बजारीकरणका लागि ग्रामिण क्षेत्रमा महिला उद्यमीले उत्पादन गरेका हस्तकला बस्तु, कृषि उपजलाई विक्री वितरण गर्न निशुल्क स्टलको उपलब्ध गराइएको बताए । धार्मिक, पर्यटन, जलविद्युतमा प्रचुर सम्भावनामा लगानीको वातावरण बनाउनु महोत्सवको पहिलो प्राथमिकता रहेको उनले बताए । ‘यसपटक स्थानीय तहभित्र रहेका सम्भावना उजागर गरेका छौ । समृद्ध म्याग्दीको सपना यस पटकको महोत्सवले दिनेछ’ कर्माचार्यले भने । उनले जिल्लामा बार्षिक ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिने, आन्तरिक बाहेक ५० हजार जना विदेशी पर्यटक भित्रिने गरेको अवस्थामा नयाँ पर्यटकीय गन्तब्यको पहिचान गरी पर्यटनको आर्कषक गन्तब्य बनाउने प्रयास भइरहेको बताए ।