खुल्लामञ्चबाट प्रचण्डले मोबाइलको एप्स प्रयोग गरी लभ्लीहिलमा पानी खसाले

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले खुल्लामञ्चबाट मोबाइलको एप्स प्रयोग गरी लभ्लीहिलमा पानी खसालेका छन् । छैटौं म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलामा प्रमुख अतिथि समेत रहेका प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री हुदाँ ल्याएको कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने कार्क्रम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट निर्मित लिफ्ट सिचाईं प्रविधिको आफ्नै हातले प्रयोग गरेका थिए ।

‘उहाँ प्रधानमन्त्री हुदाँ कृषिमा आधुनिक प्रविधिको प्रयोग भएको थियो, जसका बारेमा जानकारी गराउने अवसर मिल्यो’ प्राविधिक कृष्णबहादुर खत्रीले बेनीअनलाइनलाई भने । प्रचण्डले मोबाइलको एप्स अन गर्दा म्याग्दी खोलामा रहेको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएर २ सय ५० मिटर माथी लभ्लीहिलबाट पानी खस्दा महोत्सवको उद्घाटन सत्रमा पुगेका सबै दंग परेका थिए ।

नदीबाट २ सय ५० मिटर माथी करिव २० सेकेन्डभित्र पानी आपूर्ती भएको थियो । लभ्लीहिलमा पानी खसेपछि प्रचण्डले समेत जिज्ञासा राखेका थिए । खबराको पिपलडाँडा, सिम्ले हुँदै दारिमपाटासम्म सिचाई सुविधा पु¥याउने लक्ष्य राखिएको आयोजनामा प्रयोग गरिएको प्रविधि नेपालमै कम प्रयोग गरिएको प्रविधिको रुपमा चिनिन्छ । पश्चिमाञ्चल विकास क्षेत्रमै पहिलोपटक मोबाइलको एप्स प्रयोग गरी लिफ्ट प्रविधिमार्फत खबरामा गरिएको सिँचाईको पछिल्लो समय बेनीअनलाइनले प्राथमिकताका साथ स्थलगत समाचार सम्प्रेसण गरेको थियो ।

स्थानीय राधाकृष्ण सहकारी संस्थामार्फत अगाडि बढाइएको आयोजनाबाट कुल ६० जना कृषकहरु लाभान्वित भएका छन् । आयोजना सञ्चालनका लागि कृषकहरुले रोपनी अनुसार खर्च बेहोर्ने छन् भने खानेपानी तथा सरसफाई सव–डिभिजन कार्यालयले १२ मिटरका दुईवटा फलामका पाइप सहयोग गरेको कृषकले जनाएका छन् । यसैगरी जिल्ला भू–संरक्षण कार्यालयले ७ ओटा सिचाई पोखरी निर्माणमा सहयोग गरेको थियो ।