रत्यौली प्रतियोगितामा क्षत्री समाज प्रथम

0
443

छैटौं म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापार मेलामा आयोजित रत्यौली प्रतियोगिता क्षत्री समाज म्याग्दीले जितेको छ । पुरानो कला र संस्कृतिको जर्गेना तथा रत्यौलीको महत्वका बारेमा जानकारी गराउने उदेश्यले आयोजित प्रतियोगितामा धौलागिरी नाट्य समुह उपविजेता भएको छ ।

विजेता र उपविजेताले क्रमश नगद १५ हजार १११ र ७ हजार १११ र प्रमाणपत्र प्राप्त गरेको म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष एवम् खुल्ला लोकदोहारी ,लोकनृत्य तथा रत्यौली गित प्रतियोगिता संयोजक सुविन श्रेष्ठले बताए ।
‘पहिलोपटक आयोजना गरिएको छ, आगामी महोत्सवमा समेत यसलाई थप ब्यवस्थित गरिनेछ’ श्रेष्ठले भने । उनले प्रतियोगिताको अवलोकन गर्न ग्रामिण क्षेत्रबाट समेत बृद्धबृद्धा, महिलाहरुको उपस्थिति रहेको बताए ।

रत्यौली धेरैले रुचाएको बताउँदै ग्रामिण क्षेत्रमा रहेका कला र संस्कृतिको जर्गेना पनि महोत्सवको प्रमुख आर्कषण रहेको बताए । प्रतियोगितामा बाह्मण समाज, क्षत्री समाज, शिक्षामार्ग आमा समुह, भगवती समुह, भृकुटी आमा समुह, गणेश आमा समुह,नेकसरा समु र धौलागिरी नाट्य समुह गरी ८ टोलीको सहभागित रहेको थियो । रत्यौली प्रतियोगिताको अवसरमा महोत्सव विवाह उत्सवजस्तै देखिन्थ्यो ।

उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित महोत्सव १० दिन लामो चल्नेछ । महोत्सवमा जिल्लाको ग्रामीण भेगमा उत्पादन हुने कृषिजन्य उपजहरुको बिक्री, वितरण तथा प्रदर्शनीका साथै नगर एवं गाउँपालिकास्तरीय महिला र पुरुष भलिबल, बास्केटबल, लोकदोहोरीगीत प्रतियोगिता, लाइभ दोहोरी कार्यक्रमलगायत रहेका छन् ।