म्याग्दी महोत्सवबाटै अन्माइयो बेहुला

0

बेनीको खुल्लामञ्चको स्टेजमा जग्गे हालियो । दुलाह, अनि पुहोरित पनि संगै थिए । दुलाहकी आमाले भावुक हुदै छोरालाई दुध छुटाउँदै दुलहीको घरमा जानुपूर्व पुरा गर्नुपर्ने संस्कार गरिन् । पुरोहितको हाउभाउ, दुलाहको हतार, जन्तीको रमाईलोले शनिबार छैटौं म्याग्दी महोत्सव माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक तथा व्यापार मेला विवाह घर जस्तै देखिन्थ्यो ।

विवाहमा केटा पक्षको घरमा जन्ती र बेहुला बेहुलीको घरतर्फ प्रस्थान गरेपछि घन्किएको रत्यौलीले महोत्सवस्थलमा रौनकता छाएको थियो । जन्तीको जिम्मा लगाएर बेहुलालाई बेहुलीको घरमा पठाए लगत्तै महोत्सवको स्टेज रत्यौली खेल्ने महिलाले कब्जा गरेका थिए । महोत्सवको इतिहासमै पहिलोपटक आयोजित रत्यौली प्रतियोगितामा बेहुलाका आमा, बुबाको ब्यथा र मर्म, बुहारीको स्वभाव, भविस्यका बारेमा रत्यौलीमा घन्किँदा दर्शकले ताली बजाउँथे ।

पुरुषलाई निषेध गरिने रत्यौंलीमा पुरुषको भेषमा सेनाको पोशाक, विभिन्न पोशाकमा सजिएर नाच्न आएका पुरुषको गतिविधिले समेत दर्शकलाई पेट मिचीमिची हसाइरहेको थियो। पुरुष भेषमा रत्यौलीमा सहभागि भएका लुठो भनिने गतिविधिले समेत दर्शकलाई मनोरञ्जन दिइरहेको थियो ।

म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष एवम् खुल्ला लोकदोहारी ,लोकनृत्य तथा रत्यौली गित प्रतियोगिता संयोजक सुविन श्रेष्ठले पुरानो मौलिकतालाई संरक्षण र प्रर्वधनका लागि प्रतियोगिताको आयोजना गरिएको बताए । प्रतियोगितामा बाह्मण समाज, क्षत्री समाज, शिक्षामार्ग आमा समुह, भगवती समुह, भृकुटी आमा समुह, गणेश आमा समुह,नेकसरा समु र धौलागिरी नाट्य समुह गरी ८ टोलीको सहभागित रहेको थियो ।

प्रतियोगितामा सहभागि भएकाले रत्यौलीले मौलिकता जर्गेना गर्न यूवापुस्तालाई समेत सचेत बनाएको बाह्मण समाज रामप्रसाद सुबेदीले बेनीअनलाइनलाई बताए । ‘यस्ता प्रतियोगिताको आवश्यकता पर्छ । छोराबुहारीलाई समेत सचेत बनाउने रत्यौलीको महत्व धेरै छ’ उनले भने । जिल्लामा पहिलोपटक देखाइएकाले पनि रत्यौलीमा थोरै टिम सहभागि भएपनि सन्देश उत्कृष्ट रहेको आयोजकले जनाएको छ ।

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित महोत्सव १० दिन लामो चल्नेछ । महोत्सवमा जिल्लाको ग्रामीण भेगमा उत्पादन हुने कृषिजन्य उपजहरुको बिक्री, वितरण तथा प्रदर्शनीका साथै नगर एवं गाउँपालिकास्तरीय महिला र पुरुष भलिबल, बास्केटबल, लोकदोहोरीगीत प्रतियोगिता, लाइभ दोहोरी कार्यक्रमलगायत रहेका छन् ।