कर्णबहादुर बानियाँ

नेपालमा विभिन्न किसिमका चाडपर्वहरू मनाउने गरिन्छ । कतिपय चाडपर्वहरू निश्चित जातिले मात्र मनाउने गर्दछन् भने धेरैजसो चाडपर्वहरू सबै जातिका साझा पर्वको रूपमा रहेका छन् । हिउँद महिनामा मनाइने चाडपर्वमध्ये माघे सङ्क्रान्तिको आफ्नै किसिमको विशेषता छ । यो पर्व नेपालका सबै जातिका मानिसहरूले मनाउँदछन् । खास गरेर थारु, मगर र छन्त्याल जातिका मानिसहरूले यसलाई विशेष पर्वको रूपमा मनाउँदछन् ।

त्यसैले यो लेखको उद्देश्य धवलागिरी हिमालको काखमा रहेको म्याग्दी जिल्लाका बासिन्दा त्यसमा पनि विशेषतः मगर र छन्त्याल जातिका मानिसहरूले माघे संक्रान्तिलाई महत्वपूर्ण पर्वको रूपमा मनाउनुको कारण खोतल्नु रहेको छ ।
संस्कृति

कुनैपनि मानव समुदायको पहिचान उसको संस्कृतिबाट हुन्छ । संस्कृतिलाई अङ्ग्रेजीमा ‘कल्चर’ भनिन्छ । यो शब्दको उत्पत्ति लेटिन भाषाको ‘कलतुरा’बाट भएको मानिन्छ । मध्ययुगमा कृषिमा आधारित अर्थ व्यवस्था भएकोले कृषि उत्पादनको बृद्धिका लागि अनेकौँ उपाय अपनाइन्थ्यो । त्यतिखेर जमिनलाई उर्वराशील बनाउनु (अगतिष्खबतष्यल या कयष् ि) लाई ल्याटिन भाषामा ‘कलतुरा’ भनिन्थ्यो जसको अर्थ ‘खेती गर्ने तयारी’ भन्ने हुन्छ ।

मानिसहरूले घुमन्ते जीवन छाडेर पशुपालन र कृषि युगमा प्रवेश गरेपछि कृषिको विकासका लागि अनेकौँ उपाय अपनाउन थाले । खेति गरेर खानु पर्दा स्थायी जीवन पद्धति अपनाउनु पर्ने र खेतीपातीका लागि मौसमको पनि ज्ञान हुनु पर्ने बाध्यता थियो । तर प्राकृतिक नियम बारे स्पष्ट ज्ञानको अभावले गर्दा मानिसहरू अन्योलमा थिए । त्यसकारण तिनीहरूले त्यसलाई अद्भुत शक्ति मान्न थाले र प्रकृतिको पूजा गर्न थाले ।

समाज विकासको क्रममा मानिसहरू कृषि युगमा प्रवेश गरेपछि कविला युग समाप्त भयो । खेतीपाती गर्नका लागि ठूलो जनशक्ति चाहिने हुनाले विभिन्न कविलाहरू आपसमा मिलेर काम गर्न आवश्यक थियो । कविला (तचष्दभ) भनेको कुनै निश्चित भूभागमा एउटा मुखियाको नेतृत्वमा रहेको एकै रक्त समुह, एकै प्रकारको भाषा, परम्परा र धर्म भएको मानव समुह हो । कृषि युगको प्रारम्भमा थुप्रै कविलाहरू थिए । कृषि युगको प्रारम्भमा जमिनको अभाव थिएन ।

मानिसहरूको साझा व्यवसाय खेति गर्नु थियो । खेति गर्दा आवश्यक पर्ने नयाँ नयाँ प्रविधिको ज्ञान र सीप सिक्नका लागि विचारको आदानप्रदान गर्नु पर्दथ्यो । त्यसकारण विभिन्न कविलाहरूको वीचमा साझा भाषाको विकास भयो । अलगअलग भाषा र रहनसहन भएका ती कविलाहरूलाई एकै प्रकारको नीति नियममा राख्नका लागि शासन संयन्त्रको विकास भयो जसलाई राज्य भनियो । एकै प्रकारको भाषा, आर्थिक क्रियाकलाप, संस्कार र परम्परा भएका एकै थलोमा बस्ने मानिसहरूको मनोविज्ञान पनि एकै प्रकारको हुने हुनाले त्यस्तो मानव समुहको एउटै किसिमको संस्कृति बन्न गयो ।

एउटै किसिमको सघनता भएको त्यस्तो भौगोलिक क्षेत्रलाई ‘राष्ट्र’ (लबतष्यल) भन्ने संज्ञा दिइयो । त्यसपछि एउटा क्षेत्रमा बस्ने मानिसले अर्को क्षेत्रमा बस्ने मानिसलाई त्यही क्षेत्रको नामबाट चिन्न थाल्यो । कालान्तरमा त्यो नाम उनीहरूको पहिचान बन्न गयो जसलाई ‘जाति’ भनेर पुकारियो । हिमवत्खण्डमा विभिन्न समयमा अनेकौँ थरी कविलाका मानिसहरू आएर बसेका थिए । स्थायी बसोबास शुरू भएपछि र कृषिमा निर्भर अर्थ व्यवस्था अपनाएप्छि एक कविलाले अर्को कविलासँग सम्पर्क गर्न थाले जसले गर्दा साझा भाषाको विकास भयो ।

एकै थलोमा बस्ने र एकै प्रकारको आर्थिक क्रियाकलाप गर्ने भएपछि ती सबै कविलाको एउटै संस्कृति बन्न गयो । एउटै संस्कृति भएको मानव समुहलाई एउटै जातिको रूपमा चिनिने भएकोले यो समुह ‘जाति’ भनेर परिचित हुन थाल्यो । विभिन्न जातिले स्थायी बसोबास शुरू गरेपछि पशुपालन र कृषि पेशा अपनाए । त्यसपछि खेतिपाति गर्ने तयारी गर्दा र पशुलाई नयाँ चरनमा लैजाँदा आफ्नो पशुको संरक्षण होस र खेतिपाति सप्रियोस भनेर प्राकृतिक शक्तिको रूपमा रहेका भूमि, जल र वायुको पूजा गर्न थाले ।

पशुको रक्षाका लागि मण्डली र गैडु तथा खेतिपाति सप्रियोस भनेर भूमे र देउरालीको पूजा गर्न थालियोे । यी पूजाहरू वर्षको दुइपटक उँभौली र उँधौली भनेर गर्न थालियो । वैसाख—जेठतिर बँेसीमा खेति गरिने भएकोले पशुलाई लेकतिर लगिन्थ्यो । नयाँ ठाउँमा गोठ सार्दा पशुलाई कुनै रोग नलागोस भनी त्यहाँका मण्डली र गैडुको पूजा गरिन्थ्यो भने खेति सप्रियोस भनेर भुमे र देउरालीको पुजा गरिन्थ्यो जसलाई उँभौली भनियो । त्यस्तै कार्तिक—मंसिरमा बाली पाकेपछि गोठ लेकबाट बेँसीमा झारिन्थ्यो र त्यहाँ पनि मण्डली, गैडु, भुमे र देउरालीको पूजा गरिन्थ्यो जसलाई उँधौली भनियो ।

खेतिपातिको याममा रोगब्याधी नलागोस भनेर लुतो फाल्ने, धान रोपाइँ सकेपछि हरेलो गर्ने, धान पाकेपछि न्वागी गर्ने जस्ता कृषिसित सम्बन्धित चाडपर्वहरू पनि मनाउने गरेको पाइन्छ । माघे संक्रान्ति पनि कृषि कार्यसँग सम्बन्धित संस्कृति हो । हिउँदमा खोरिया फाँडेर खनीखोस्री उर्वरा बनाउने र त्यसमा खेती गर्ने परम्परा कृषि युगको शुरूदेखि नै चल्दै आएको हो ।

नयाँ नयाँ जमिन आवाद गर्नका लागि जङ्गल र झाडी फाँडेर उर्वराशील बनाउने चलन थियो । कृषि युगको शुरूमा त एउटै जमिनमा लगातार खेति गरिंदैन्थ्यो, पालो मिलाएर तीनतीन वर्षमा मात्र खेती गरिन्थ्यो । एउटै जग्गामा स्थायी रूपमा खेती गर्ने चलन त धेरै पछि मात्र शुरू भएको हो । जमिन खेती योग्य बनाउनका लागि खन्ने काम गर्नुभन्दा पहिले गरिने पूजाअर्चना र आराधनाको निरन्तरताले नै कालान्तरमा चाड वा पर्वको रूप लिएको हो ।

म्याग्दीमा बसोबास गर्ने मुख्यमुख्य जातिहरू
नेपालमा प्राचीनकालदेखि नै विविध जातिका मानिसहरूले बसोबास गर्दै आएको पाइन्छ । म्याग्दी पनि नेपालभित्रकै एक भूभाग हो । म्याग्दीमा मुख्य रूपमा खस–आर्य, गुरुङ, छन्त्याल, थकाली, नेवार, मगर र मुस्लिम जातिका मानिसहरूको बसोबास छ । वि.सं. २०६८ सालको जनगणना अनुसार म्याग्दीको कूल जनसङ्ख्या १,१३, ६४१ छ । यो जनसङ्ख्यालाई जातिगत रूपमा वर्गीकरण गर्दा खस–आर्य ५२.४ प्रतिशत, गुरुङ १.२ प्रतिशत, छन्त्याल ३.४ प्रतिशत, थकाली १.० प्रतिशत, मगर ३९.४ प्रतिशत, मुस्लिम ०.२ प्रतिशत र अन्य १.२ प्रतिशत हुन आउँदछ । यहाँ उल्लेखित जातिहरू पहाडी मूलका भएकोले यिनीहरूको मूल पेशा कृषि हो ।

नेवार र थकाली जातिले व्यापार व्यवसाय गर्न थालेको आधुनिक युगमा मात्र हो । त्यसो त आजकल सबै जातिका मानिसहरूले व्यापार व्यवसाय गर्दछन् । कृषि व्यवसाय गर्ने जातिले जमिनमा आधारित संस्कृति अवलम्बन गर्नु स्वभाविक हो । माघे सङ्क्रान्ति जमिनमा आधारित व्यवसायको प्रतीक हो भन्ने कुरा माथि नै उल्लेख गरिसकिएको छ । त्यसकारण म्याग्दीका अधिकांश बासिन्दाले माघे सङ्क्रान्ति धुमधामका साथ मनाउने गरेको पाइन्छ ।

माघे सङ्क्रान्तिको महिमा
माघे सङक्रान्तिलाई ठाउँ अनुसार फरकफरक नामले पुकारिन्छ । नेपाल भाषामा यसलाई ‘घ्यः चाकु सल्हु’ भनिन्छ । काठमाडौं उपत्यकामा यसलाई ‘येले’ पनि भनिन्छ । किराँत राजा यलम्बर नेपालमण्डलको राजा भएपछि चलाईएको सम्बत हुनाले यसलाई ‘येले’ भनिएको हो । त्यही सम्बत शुरू हुने दिन हुनाले यसलाई येले भनिन्छ । थारूहरू यसलाई ‘माघी’ भन्दछन् । उनीहरू यस दिनलाई नयाँ वर्षको शुरूवात मान्दछन् । हिन्दु धर्मावलम्बीहरू यसलाई ‘मकर सङ्क्रान्ति’ भन्दछन् ।

सूर्य दक्षिणायण हुने हुनाले पौष महिनाभर कुनै किसिमको धार्मिक कार्य गर्नु हँुदैन भन्ने धारणा छ । माघ १ गतेदेखि सूर्य उत्तरायण हुने र मकर रेखामा सूर्यको किरण सिधा पर्ने हुनाले यस दिनलाई मकर सङ्क्रान्ति भनिन्छ । सूर्य उत्तरायण भएपछि धार्मिक कार्य गर्न हुने विश्वास अनुसार यो दिनमा बिहानै नदीमा गएर स्नान गर्ने र शुद्ध हुने चलन छ । नेपालमा बाग्मतीको शंखमूल, नारायणीको देवघाट, गण्डकीको रिडी, सप्तकोशीको दोलालघाट आदि क्षेत्रका नदीमा गइ स्नान गर्ने चलन छ ।

माघे सङ्क्रान्तिमा म्याग्दीको काली गण्डकी र म्याग्दी नदीको दोभानमा गइ स्नान गरिन्छ । नेपालका धेरैजसो मानिसहरूले यसलाई ‘माघे सङ्क्रान्ति’ भन्दछन् । यो चाड विक्रम सम्बत अनुसार दशौं महिनाको माघ १ गते पर्दछ भने इशवी सम्बत अनुसार जनवरी १३ देखि १५ सम्ममा पर्दछ । यो पर्वमा लड्डु, घिउ, चाकु, सखरकन्द र तरुल खाने चलन छ । म्याग्दीमा चामल, मासको दाल, अदुवा, बेसार, घिउ, नुन एकै ठाउँमा मिसाएर पकाएको ‘खिर्चो’ खाने चलन छ । साथै सेल रोटी र स्याल्टुङ (मस्याङ)को बिरिम्ला पकाएर खाने पनि चलन छ । खास गरेर बेनी र रनवाङमा लाग्ने जात्रामा जाने रमितालुहरूले अर्नी (खाजा)को लागि सेल रोटी र स्याल्टुङको बिरिम्ला पकाएर लैजाने चलन छ ।

म्याग्दीका छन्त्याल र मगर जातिले माघे सङ्क्रान्ति विशेष किसिमले मनाउने गर्दछन् । यो पर्वलाई छन्त्यालहरूले ‘म्हिलाङे सोङती’ पर्व भन्दछन् । यो जातिका मानिसहरूले यस पर्वलाई नव वर्षको रूपमा मनाउने गर्दछन् । छन्त्याल जातिले वर्षको दुई पटक साउने सङक्रान्ति र माघे सङ्क्रान्तिमा पितृपूजा गर्ने गर्दछन् । माघे सङ्क्रान्तिका दिनमा बिहानै नजिकमा रहेको खोला, पँधेरा, तलाउ, पोखरी वा नदीमा गइ स्नान गरी घरमा आएर पितृपूजा गरी चामल, मासको दाल र तामाको सिक्का छोरीलाई दिइन्छ जसलाई तिला सार्ने भनिन्छ ।

यो दिनबाट तारो हान्ने खेलको शुरूवात गरिने हुनाले बन्दुक, धनु र सर(बाण)को पूजा गरिन्छ । त्यसपछि तारो हान्ने खेलको शुरूवात हुन्छ । शिकारी युगमा अचुक निशाना नलगाइ शिकार प्राप्त गर्न नसकिने हुनाले धनुबाण चलाउने अभ्यास गरिरहनु पर्दथ्यो साथै नयाँ पिंढीलाई पनि सो सीप सिकाउन जरुरी थियो । सो अभ्यासको निन्तरताले आजकाल खेलको रूप लिएको छ । त्यही परम्परा स्वरूप माघे सङ्क्रान्तिमा तारा हान्ने खेल खेलिन्छ । छन्त्याल जाति खानी खन्ने काममा दक्ष हुनाले माघ लागेपछि जाडो कम हुने हुँदा खानीको तलास गर्न जमिनमा खनीखोस्री गर्ने काम यही दिनदेखि शुरू गरिन्थ्यो ।

त्यसकारण यस दिनको विशेष महिमा बढेको हो । छन्त्याल जातिमा माघे सङ्क्रान्तिको महिमा हुनुका मुख्य कारणहरू (१) छन्त्याल जातिले यस पर्वलाई पितृ पूजा गर्ने पर्वको रूपमा मान्नु (२) आफूलाई लागेका ग्रहदशा पन्छाउन चेलीबेटीहरूलाई चामल, मासको दाल र तामाका पैसा दक्षिणा दिएर तिला साट्ने पर्वको रूपमा मान्नु (३) वर्षे बाली भित्राइसकिएको र हिउँदेबाली लगाइसकेको फुर्सदको समय हुनाले पारिवारिक जमघट गर्ने र इष्टमित्र कुटुम्बसँग भेटघाट गर्ने पर्वको रूपमा मान्नु (४) तारा खेल शुरू गर्ने दिनको रूपमा मान्नु (५) नयाँ वर्षको प्रारम्भको दिन मानिनु (६) यो मौसममा तरुल, भ्याकुर र कन्दमूल पाइनु ।

मगर जातिले पनि माघे संक्रान्तिलाई पितृ पूजा गर्ने चाडको रूपमा लिने हुनाले यो दिनमा बिहानै नजिकैको नदीमा गएर स्नान गर्ने र घरमा आएर पितृ पूजा गरी छोरीचेलीलाई चामल, मासको दाल र पैसा दिने चलन छ । यस पर्वमा चेलीबेटीलाई माइतमा बोलाएर मिष्ठान्न, फलफूल र तरुल ख्वाउने गरिन्छ ।

चेलीबेटीले पनि माइतमा आउँदा रोटी, रक्सी, मिष्ठान्न, फलफूल, तरुल र पिंडालु ल्याउने चलन छ । यो दिनदेखि सूर्य उत्तरायण हुने हुनाले जाडो कम भएर गर्मी लाग्न थाल्ने भएकोले यो दिनलाई नयाँ कामको शुरुवात गर्ने अवसरको रूपमा मानिन्छ । पहिले पहिले बुढापाकाहरू चौतारीमा जम्मा भएर त्यो वर्ष कुनकुन वनपाखा र खोरिया फाँड्ने र खेती गर्ने भन्ने सल्लाह गर्दथे । तर आजकाल त्यो चलन छैन । मगर जातिले पनि शिकार खेल्नमा रूचि राख्ने भएकोले यो दिनमा बन्दुक, धनु र सर(बाण)को पूजा गरिन्छ । त्यसपछि तारो हान्ने खेलको शुरूवात हुन्छ ।

माघे सङ्क्रान्तिमा म्याग्दीको बेनीबजार र मङ्गला गाउँपालिकाको रनवाङमा हप्तौंसम्म भव्य मेला लाग्दछ । त्यस अवसरमा भलिबल र अन्य विभिन्न प्रकारका खेलको आयोजना गरिन्छ । आजकाल बेनीबजारमा माघे संङ्क्रान्तिको अवसर पारेर उद्योग र व्यापार महोत्सवको आयोजना गर्ने गरिन्छ ।

निष्कर्ष
मानव विकासको क्रममा मानिसले प्रकृतिसँग जुद्धै र संघर्ष गर्दै अनेकौं किसिमका सभ्यता र संस्कृतिको विकास गरेको छ । मानिसले खास गरेर कृषि युगमा खेतीपातीसँग सम्बन्धित अनेकौं प्रकारका संस्कृतिको विकास गरेको देखिन्छ । तिनै संस्कृतिमध्येको माघेसङ्क्रान्ति पनि एक हो । नेपालमा सबै जातिका मानिसहरूले यो चाड मनाउँदछन् । यो चाड खास गरेर छन्त्याल, थारू र मगर जातिको विशेष पर्वको रूपमा मानिन्छ । म्याग्दीमा बसोबास गर्ने मानिसहरूमा छन्त्याल र मगर जातिको बाहुल्य छ । त्यसकारण म्याग्दीमा माघे सङ्क्रान्ति पर्व विशेष हर्षोल्लासका साथ मनाइन्छ । आजकाल नेपालमा मनाइने चाड पर्वहरूले संस्कृतिको जगेर्ना गर्ने भन्दा पनि तडकभडक देखाउने माध्यमको रूप लिएको पाइन्छ । यो संस्कृतिको नाममा भएको विकृति हो । माघे सङ्क्रान्तिलाई युगयुगान्तरसम्म संस्कृतिकै रूपमा मनाउन पाइयोस ।