पुस महिनाको चिसो सिरेटो । साँझको समय । महोत्सवस्थल नजिकैबाट आउने म्याग्दी र कालीगण्डकी नदीको हावा । अनि खुलामञ्चमा खचाखच दर्शकको चाप । आइतबारको साँझ छिप्पिदै थियो । मञ्चमा राष्ट्रिय कलाकारको उपस्थितिले क्रमशः महोत्सवस्थलमा दर्शकको उपस्थिति समेत बढ्दै गैरहेको थियो ।

छैटौं म्याग्दी महोत्सवको तेस्रो दिन राष्ट्रिय कलाकारहरुको उपस्थिति पनि राम्रै थियो । जब कार्यक्रम उद्घोषकबाट राष्ट्रिय कलाकार बद्री पङ्गेनीको नाम आयो, तब महोत्सव हेर्न खुलामञ्च पुगेका दर्शकहरुको ध्यान पनि स्टेजतर्फ गयो । बद्रीलाई हेर्न, उनको गीत सुन्न र नाच्न दर्शकहरु सबैमा उत्सुकता बढेको देखिन्थ्यो । बद्रीले माइक्रोफोन समातेर सम्बोधन गर्दै गीत गाउन सुरु गरेपछि पत्रकार मात्रै होइन उनको फोटो र भिडियो लिन दर्शकहरु समेत स्टेजनजिकै पुगे ।

यसभन्दा अघि पनि पटकपटक म्याग्दी आएका बद्रीको गीत सुन्न र उनले गाएको गीतमा सँगसँगै नाच्न मन पराउने दर्शकहरुको तँछाडमछाड नै थियो । सुरुमा अलिकति पृथक खालको अहिलेको परिवेश अनुसार मिल्ने अधिकांश युवाहरु विदेशमा गएको र ठूला चाडपर्व आउँदा घरमा आमालाई सम्झिएर यसपाली पनि आउने समय नपाएको गीत उनले गाए । ‘छुट्टी पाउँदिन’ बोलको गीत गाएर आफ्नो प्रस्तुती सुरु गरेका बद्रीले यस गीत गाउँदा स्टेज अगाडि बसेका आमाहरुलाई रुवाउन पुगे ।

उनले दशैंतिहारमा घर आउनलाई विदा नपाएको गीत गाउँदा अधिकांशको आँखा रसाएका थिए । उनले उक्त गीत गाएर सक्दै गर्दा आफ्ना दुईदुई वटी आमा थिए तर अहिले दुवै आमा नभएको खुलासा समेत गरे ।  विरहको गीत गाएर दर्शकलाई स्तब्ध बनाएका उनले अर्को रमाइलो खालको गीत गाउँदा एकाएक माहौल फेरियो । ‘रातो पछ्यौरी’ बोलको गीत गाउँदा स–साना बालबालिकादेखि पाका उमेर समूहका मान्छेहरु समेत स्टेज अगाडि पुगेर नाच्न थाले। त्यसपछि ‘खान्न मत पिँडालु कोक्यायो’ बोलको गीत गाए यसमा पनि सबैले नाचेर उनलाई साथ दिएका थिए ।

अर्को गीत उनले सबैजना नाच्न मिल्ने खालको गीत गाए पञ्चेबाजाको ‘ट्यानकुटी ट्यानकुटी झ्याँई’ बोलको गीत गाउँदै गर्दा मञ्चको अगाडि बसेका जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसी, सहायक प्रमुख जिल्ला अधिकारी यादवनाथ आचार्य, म्याग्दी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष जीवनबहादुर विश्वकर्मा स्टेचमै चढेर नाचे । यस गीतमा भने दर्शकहरु निकै कम्मर मर्काई–मर्काई उठबस गरेर नाचेका थिए ।

उनले अन्तिममा ‘झ्याउरेको तालैमा’ बोलको गीत गाउँदा स्टेजदेखि स्टलसम्म सबैजना नाचेका थिए । बढ्दै गैरहेको साँझ र चिसोको कुनै प्रवाह नगरी दर्शकहरु मज्जाले नाचे । उनलाई खासगरी युवा पुस्ताहरु समूह–समूह बनाएर नाचेर र हुटिङ गरेर साथ दिएका थिए । बद्रीको गीतमा नाचेका दर्शक र उनीहरुको कोलाहलले खुलामञ्चको माहौल रनक्कै तातिएको थियो ।

उनले गाएको गीतमा कार्यक्रम चलाउन म्याग्दी आएकी शोभा त्रिपाठीले समेत नाचेर साथ दिएकी थिइन् । अन्तिममा बद्रीले लोकदोहोरी गायिका बबिता बानियाँसित लाइभ दोहोरी गाए । दोहोरी गाउँदा पनि उनले दर्शकहरुलाई छमछमी नचाएका थिए । यसरी नाच्दा दर्शकहरुले चिसोको वास्ता गर्नै पाएनन् । आफ्नो गीतमा दर्शकलाई उफ्रिउफ्रि नचाएका उनले गीत गाउँदा खुलामञ्च जुरुक्कै उठेको थियो ।

गीतमा नाचेर नथाकेका दर्शकलाई जाने बेला लोकदोहोरी गायक बद्रीले म्याग्देलीसँग हा¥यो बद्री पङ्गेनी भनेर लेखिदिनुस् पत्रकार साथी कोही भए भनेर समेत भन्न भ्याए । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका गायक पङ्गेनी जनजीविका र जनताका दुःख पीडाका गीत गाउने गायकका रुपमा चिनिन्छन् भने लोकदोहोरी क्षेत्रमा निकै प्रखर मानिन्छन् ।