बुबाआमाको स्मृतिमा विद्यालयलाई १५ लाख मूल्य बराबरको जग्गादान

0
183

म्याग्दीका एक व्यक्तिले आफ्ना स्वर्गीय बुबाआमाको स्मृतिमा १५ लाखभन्दा बढी मूल्य पर्ने १ रोपनी ३ आना जग्गा विद्यालयलाई निशुल्क प्रदान गरेका छन् ।म्याग्दीको बेनी नगरपालिका ५ पुरण्डी घरभै हाल रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं ८ बुद्धचोक भैरहवामा वसोवास गर्दै आउनुभएका गोपाल रामदामले स्वर्गीय बुबा नरवहादुर र आमा धनसरी रामदामको स्मृतिमा सो जग्गा पुरण्डीमा रहेको सरस्वती आधारभूत विद्यालयलाई दान गर्नुभएको हो ।

आइतवार (हिजो) जिल्ला मालपोत कार्यालय म्याग्दीमा विद्यालयको नाममा सो जग्गा रजिष्ट्रेशन पास गरिदिएपछि दाता रामदामलाई मालपोत परिसरमा नै भव्य सम्मान गरिएको सरस्वती आधारभूत विद्यालयका शिक्षक गणेश दर्जीले बताउनुभयो।रामदामले बेनी—कुहूँ सडकखण्डमा पर्ने पुलाचौर १ (ख) ४२५ कित्ता नम्मरको १ रोपनी ३ आना जग्गा विद्यालयको नाममा पास गरिदिएको जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ ।

जग्गाको अभावमा अति जोखिमयुक्त र साँघुरो ठाउँमा विद्यालय संचालन हुँदै आएकोमा अव जग्गाप्राप्त भएपछि धेरै सहज र विद्यार्थीहरुलाई सुविधा हुने विद्यालयका प्रधानाध्यापक नारायण शर्माले जानकारी दिनुभयो । कक्षा ५ सम्म पढाई हुने सो विद्यालयमा दलित समूदायका मात्र ५० जना विद्यार्थीहरु अध्ययनरत रहेको प्रअ शर्माले बताउनुभयो ।