म्याग्दीका मगर समुदायले माघेसङ्क्रान्ति पर्व मनाए (फोटो फिचर)

0
508

म्याग्दीका मगर समुदायले सोमबार माघेसङ्क्रान्ति पर्व मनाएका छन् । आफ्नो जातिय भेषभूषामा सजिएका युवायुवतीहरु सोरठी, पुख्र्यौली, सालैजो, यानीमाया, ख्याली भाकाका साथै विभिन्न लोकगीत र नृत्यहरुमा छमछमी नाच्दै माघेसङ्क्रान्ति पर्व मनाएका हुन् ।माघेसङ्क्रान्ति पर्वको अवसर पारेर मगर संघ म्याग्दीले सदरमुकाम बेनीमा प्रभातफेरी ¥यालीको आयोजना गरेको थियो ।

माघेसङ्क्रान्ति पर्वलाई मगर समुदायले ठूलो चाडका रुपमा लिने गर्दछन् भने सोही अनुसार उनीहरुले मनाउँदै आएका छन् । जनजातिहरुको बाहुल्यता भएको जिल्ला म्याग्दीमा मगर समुदायले माघेसङ्क्रान्ति पर्वलाई शुभकामना आदानप्रदानसहित बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरी भव्य रुपमा मनाएका छन् ।

मगर भेषभूषामा सजिएका युवायुवती र बुढापाकाहरुसहितको ¥यालीमा सालैजो भाकासँगै युवायुवती र बुढापाकाहरु छमछमी नाचेका थिए।माघेसङ्क्रान्तिका अवसरमा बेनीमा मगर जातिको पहिचान झल्कने भेषभूषा, खानपान तथा सांस्कृतिक झाँकीसहित कार्यक्रमहरु गरिएको छ । मकर सङ्क्रान्तिका रुपमा चिनिदै आएको माघी पर्वको अवसरमा मगर समुदायले जातिय भेषभूषमा सजिएको सांस्कृतिक ¥यालीमा सदरमुकाम बेनीबजार परिक्रमा गरेका थिए ।

उनीहरुले मगर समुदायमा लोपोन्मुख सोरठी, पुख्र्यौली र मारुनी नृत्य समेत देखाएका थिए । मगर समुदायले परापूर्वकालदेखि नै प्रकृतिको पूजाआजा गरी हर्षोल्लासपूर्वक माघेसंक्रान्ति पर्व मनाउँदै आएका छन् । माघेसङ्क्रान्तिलाई प्राकृतिक रुपमा वर्षे सिजन शुरु भएको पर्वको रुपमा मनाउने गरिएको मगर संघ म्याग्दीले जनाएको छ ।

माघ महिनादेखि वर्षात्को समय शुरु भएको सङ्केतका रुपमा लिने गरिएको छ । मगर समुदायले यस पर्वमा आफन्तजन एकापसमा भेला भई शुभकामना साटासाट र विविध सांस्कृतिक कार्यक्रम गरेर मनाउने प्रचलन रहेको मगर संघ म्याग्दीका अध्यक्ष मनप्रसाद थजालीले बताए । ‘प्रकृतिमा विश्वास गर्ने भएकाले आफूहरुले परम्परादेखि नै उभौली पर्वका रुपमा माघेसङ्क्रान्तिलाई मनाउने गरिएको छ ।

सबै जातजातीको सहभागितामा मनाउँछौ’ उनले भने । खेतीबाली र पशुपालन राम्रो होस्, रोगव्याधी नलागोस्, दुःखद घटना नघटुन भन्ने कामनासहित माघेसङ्क्रान्तिमा पुजा गर्ने र देवतालाई खुशी बनाउने चलन रहेको बताए । माघेसंक्रान्ति पर्वलाई विशेष महत्वका साथ प्रमुख चाडको रुपमा मनाउने गर्दछन् । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकरसङ्क्रान्ति पनि भन्ने गरिन्छ ।

कार्यक्रमको उद्घाटन म्याग्दीको प्रदेश ‘क’ सांसद नरदेवी पुनले संविधानमार्फत सबै जातजातिहरुको हक अधिकार सुनिश्चित गरिएको बताइन् । उनले आफ्नो क्षेत्रबाट निरन्तर समुदायको हितमा काम भइरहेको बताईन् । कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, बेनी नगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, ८ का रामकृष्ण बराईली, तमु सेवा समाजका सल्लाहकार देवबहादुर घले र मगर संघ म्याग्दीका सल्लाहकार राजकुमार थापाले मन्तव्य राखेका थिए ।

संघका अध्यक्ष मनप्रसाद थजालीको अध्यक्षता तथा स्वागत र सचिव लोकेश पुनमगरको सञ्चालनमा सम्पन्न कार्यक्रममा राष्ट्रिय कलाकार लाली बुढाथोकी तथा मगर कलाकारहरुले थालीनाच, सोरठी र पुख्र्यौली नृत्यलगायत गीतसङ्गीत प्रस्तुत गरेका थिए । २०६८ सालको जनगणना अनुसार एकलाख १३ हजार ६४१ जनसङ्ख्या रहेको म्याग्दीमा झण्डै ४१ प्रतिशत मगर समुदायको बसोबास रहेको छ ।