म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयले मङ्गलबार हिरकजयन्ति मनाएको छ। विद्यालय स्थापना भएको ६०औं वर्षगाँठ पुगेको अवसरमा विद्यालयमा विविध कार्यक्रमहरुको आयोजना गरी हिरकजयन्ति मनाइएको हो ।

हिरकजयन्ति समारोहको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य भूपेन्द्रबहादुर थापाले परिवर्तित सन्दर्भमा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए । उनले विद्यालयमा शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापहरुलाई पनि जोड दिनुपर्ने भन्दै दक्ष र योग्य शैक्षिक जनशक्ति उत्पादन गर्नेतर्फ ध्यानकेन्द्रीत गर्नुपर्ने बताएका छन् ।

सोही कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य विनोद केसीले शिक्षा क्षेत्रको विकासका लागि आफूले सक्दो पहल गर्ने बताए । उनले म्याग्दी जिल्लामा सञ्चालित अधिकांश सामुदायिक विद्यालयहरुमा दरबन्दी तथा भौतिक पूर्वाधारको अभाव रहेको बताउँदै जनप्रतिनिधिको तर्फबाट आवश्यक सहयोग गर्ने बताए । पूर्व सांसद रेशमबहादुर बानियाँले अन्य विद्यालयको तुलनामा जनकल्याण मावि पछाडि परेको बताउँदै विद्यालयको विकासका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले शिक्षामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्न सक्ने दक्ष र क्षमतावान् जनशक्ति उत्पादन गर्नुपर्ने बताएका थिए । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नगर शिक्षा समिति गठन गरिएको जानकारी दिँदै नगरपालिकामार्फत विद्यालयको विकासमा आवश्यक पर्ने सबै किसिमका सहयोगहरु उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा वडाध्यक्ष लक्ष्मण बानियाँ, अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी, म्याग्दी बहुमुखी क्याम्पसका सञ्चालक समिति सदस्य हेमराज शर्मा, अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेल, विद्यालयका सल्लाहकार गोपाल बानियाँ र शिक्षक अभिभावक संघका सदस्य गजेन्द्र श्रेष्ठले विद्यालयको चौतर्फी विकासका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएका थिए ।

हिरकजयन्ति कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पौडेलले विद्यालयको भावी कार्ययोजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । २०१४ सालमा स्थापित विद्यालयमा हाल कुल २३२ जना विद्यार्थीहरु अध्ययन गर्दै आइरहेका छन् । उक्त विद्यालयमा प्रावितर्फ ५, निमाविमा ३ दरबन्दी, निमावि तथा मावि राहत ४, बालविकास, कम्प्युटर कार्यालय सहायकसहित कुल १६ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन् ।

हिरकजयन्तिको अवसरमा विद्यालयमा जिल्लास्तरीय अन्तरमावि छात्र भलिबल प्रतियोगिता समेत आयोजना गरिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षता, प्रअ कमल पौडेलको स्वागत र शिक्षक शिव बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले स्वागत गीत, नृत्य र नाटक लगायतका साङ्गीतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । विद्यालयले हालै मात्र कक्षा ११ सञ्चालन गर्ने भन्दै निर्णय गरेर सम्बन्धित निकायमा प्रस्ताव पठाएको जनाएको छ ।