भलिबल प्रतियोगिता : मंगलाबाट राष्ट्रिय खेलाडी राजु शेरचन मैदानमा

0

छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलामा आयोजित पुरुष भलिबल प्रतियोगितामा म्याग्दी जन्मिएर राष्ट्रिय भलिबल टोलीमासहभागि खेलाडीको समेत सहभागिता हुने भएको छ ।

महोत्सवको अवसरमा आयोजित साविकको धौलागिरी अञ्चलका नगर तथा गाउँपालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा मंगला गाउँपालिकाबाट राष्ट्रिय टोलीका राजु शेरचन मैदानमा आउने तयारीमा छन् । मंगलबार भएको खेलमा धौलागिरी गाउँपालिकालाई पराजित गरेपछि मंगलाबाट सेमिफाइनलको खेलका लागि राष्ट्रिय टोलीका शेरचन बेनीमा आइसकेका छन् ।करिव डेढ बर्ष अगाडी राष्ट्रिय टोलीमा छनौट भएका शेरचनको उपस्थितीले मंगला गाउँपालिकका खेलाडी उत्साहित छन् ।

खम्बा जस्तै देखिने शेरचनले नेपाली टोलीबाट अन्र्तराष्ट्रिय स्तरका खेलहरुमा समेत आफ्नो उत्कृष्ट खेल प्रर्दशन गरिसकेका छन् । मंगला गाउँपालिका–५ स्थायी घर भएका शेरचन विद्यालयस्तरबाट भलिबल खेल्दै जिल्ला, क्षेत्र हुदै राष्ट्रिय टोलीमा पुगेका हुन् । त्यस्तै राष्ट्रिय टोलीकी अरुणा शाही समेत आउने सम्भावना रहेको जिल्ला भलिबल संघ म्याग्दीमा अध्यक्ष रमेश श्रेष्ठले बताए । ‘म्याग्दीका गौरवहरुको खेल हेर्न आउनु्होला ।क्षेत्रीयस्तरका खेलहरुमा सहभागि भएका धेरै खेलाडी मैदानमा छन्’ उनले भने ।

प्रतियोगितामा मोदी गाउँपालिका पर्वतका राम श्रेष्ठ पनि राम्रा खेलाडी हुन् । त्यस्तै बागलुङ, बेनी नगरपालिकाका सुजन चोखाल, राम केसीले समेत राष्ट्रिय खेलकुदमा पश्मिाञ्चलबाट सहभागिता जनाइसकेका छन् । बिहिबारबाट देखी सुरू हुने सेमिफाइनलका खेलमा बेनी नगरपालिका र मोदी गाउँपालिका पर्वत तथा मंगला र काठेखोला गाउँपालिका बीच हुने छ । सेमिफाइनल खेल निकै रोचक हुने अनुमान गरिएको छ ।