म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरमा सञ्चालित जनकल्याण माध्यमिक विद्यालयमा बिहीबार जिल्लास्तरीय अन्तरमावि भलिबल प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय स्थापनाको ६०औं वर्षगाँठको हिरकजयन्ती अवसरमा आयोजना गरिएको भलिबलमा कुल ११ ओटा विद्यालयले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि प्रथम र पौलस्त्य मावि भिरमुनी द्वितीय भएका छन् । विजयी विद्यालयलाई क्रमशः २० हजार, १२ हजार मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।

यसैगरी प्रतियोगितामा पौलस्त्य माविका रविन नेपाली उत्कृष्ट खेलाडी घोषित भई नगद दुईहजार, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको प्रथम पुरस्कारको सौजन्य पुलाचौर–काठमाडौं समाजका गोपाल बानियाँ, चन्द्रदत्त सुवेदी, डम्बर केसी, प्रेमदत्त पौडेल र वेदनाथ सुवेदीले गरेका थिए । द्वितीय पुरस्कारको विद्यालयका भूपू विद्यार्थी पुलाचौर निवासी हाल अमेरिका रहेका मणिलाल रामदामले सौजन्य गरेका थिए ।

विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै म्याग्दीका जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले शिक्षण क्रियाकलापसँगै अतिरिक्त क्रियाकलापलाई पनि जोड दिनुपर्ने बताएका थिए । कार्यक्रममा विद्यालय निरीक्षक विश्वप्रकाश रेग्मी, स्रोतव्यक्ति केशवप्रसाद रेग्मी र पुरस्कार प्रायोजक नरबहादुर रामदामले मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षता तथा शिक्षक शिव बानियाँको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।