बेनी नगरपालिका–५ पुलाचौरकका हर्कबहादुर विकले तीनबर्ष पछि श्रीमति लालकुमारीको अनुहार देखे । विकलाई आँखा बन्द भएपछि रात र दिन एकै लाग्थे । बुढेशकालमा आँखाले समेत धोका दिएपछि श्रीमतिको सहयोगमा दिन विताउने गरेका विकले आँखा फर्किएपछि श्रीमतिलाई देखाउँदै खुसी भए । शरीर र हात पाखुरा कमजोर भएपनि विकको आँखा फर्किएपछि यूवा अवस्थामै फर्किएको महसुस गरे ।

उनी जस्तै बेनपा–४ सिंगा डाँडाखेतका खिमनाथ शर्माले पनि ८ बर्ष अगाडी बन्द भएको आँखा फर्किएपछि उत्साहित भए । केही दिन अगाडी बेनीमा आयोजित निशुल्क आँखा शिविरमा मोतियाबिन्दुको शल्यक्रिया गरेपछि श्रीमति पार्वती शर्माले गरेको दुख अव आफुँले गर्ने बताउँदै घर फर्किए । म्याग्दीको सदरमुकाम बेनीमा सक्रिय रहेका लायन्स क्लवले आयोजना गरेको शिविरमा लामो समयसम्म आँखा बन्द भएका विरामीको आँखा खुलेपछि खुसीयाली छाएको थियो । बैदेशिक रोजगारीमा सिलसिलामा खाडीमुलुकमा २४ बर्ष विताएका शर्माले ८ बर्षपछि श्रीमतिलाई देख्न पाएको बताए ।

हिमालयन आँखा अस्पताल पोखराका डा. हरिविक्रम अधिकारीको नेतृत्वमा आएको टोलीलाई धन्यवाद दिएको लायन्स क्लव बेनी महारानीकी अध्यक्ष प्रमिला श्रेष्ठले बताईन् । ‘बृद्धबृद्धाको अनुहारमा खुसी देख्नु नै ठुलो सेवा हो । लायन्स सेवाका लागि सर्मपित छ भन्ने पुष्टी समाजमा भइसकेको छ’ उनले भनिन् । शिविरमा ४६ जनाको मोतियाविन्दुको शल्यक्रिया, ४ जनाको माईनर सहित १५० जनाभन्दा बढीले सेवा लिएका थिए ।शिविरमा अधिकांसको दाहिने आँखामा समस्या भेटिएको डा.अधिकारीले बताए ।

लायन्सले स्वास्थ्य, शिक्षा लगाएत विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्ने गरेको छ । जिल्लाको दुर्गम क्षेत्रमा जनचेतनाको अभाव, आर्थिक अवस्था कमजोर र रोग लुकाउने गरिएकाले पनि आँखाको समस्या भएका धेरै विरामी स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका छन् । गत महिना मलेसियामा ब्यवसाय गर्ने बेनी नगरपालिका–१ रत्नेचौर स्थायी घर भएका दिपक बोगटीले स्वर्गिय पिता ओम बहादुर बोगटी र भाई लोकेश बोगटीको स्मृतिमा पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा आयोजित आँखा शिविरमा ७०२ जना सेवा लिएका थिए ।