भारतले सीमास्तम्भ राख्ने क्रममा नेपालतर्फको सीमा अतिक्रमण गरी ५० विघाभन्दा धेरै भूमी आफ्नो पक्षमा पारेको विरोधमा अनेरास्ववियु म्याग्दीले बिहीबार बेनीमा प्रदर्शन गरेको छ । पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका–१, छापाकैयामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सहायक स्तम्भ राख्ने क्रममा नेपालतर्फको भूमि अतिक्रमण भएको हो । नयाँ सीमा स्तम्भ राख्दा नेपालका १२ जना भन्दा बढी मानिसको जग्गा भारतीय भूमिमा परेको छ ।

अनेरास्ववियुका जिल्ला अध्यक्ष सुवास विश्वकर्माको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगाडि कोणसभा गर्दै केन्द्रीय सदस्य प्रकाश पौडेलले भारतीय पक्षबाट पटक पटक नेपाली सीमा अतिक्रमण हुँदा पनि कांग्रेसको नेतृत्वमा रहेको सरकारले मौन स्वीकृति जनाइरहँदा उसको भूमिकाप्रति नै आशंका उब्जिएको बताए । पौडेलले देशको सीमा रक्षा गर्न नसक्ने नेतृत्वले नेतृत्वमा बसिरहनु नैतिक आधार नहुने बताएका थिए । कोणसभाको सञ्चालन सचिव सावित्रा खत्रीले गरेकी थिइन् भने अध्यक्ष सुवास विश्वकर्माले मन्तव्य राखेका थिए ।