म्याग्दी महोत्सवमा विविध कार्यक्रम

0
158

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित खुलामञ्चमा जारी छैटौं म्याग्दी महोत्सव जारीरहेको छ । छैटौं म्याग्दी महोत्सव, माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको शुक्रबार विविध कार्यक्रमहरु सम्पन्न भएका छन् ।

महोत्सवको अवसरमा आयोजित नगर तथा गाउँपालिकास्तरीय महिला भलिबल प्रतियोगिताको लिग चरणको खेल सम्पन्न भएको छ । शनिबार सेमीफाइनलमा मंगला र धौलागिरि तथा अन्नपूर्ण र रघुगंगा गाउँपालिकाबीच प्रतिस्पर्धा हुने जिल्ला भलिबल संघका उपाध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिए ।

यसैगरी दोहोरीतर्फ पहिलो सेमीफाइनल होटल याक र सृजना मःम रेष्टुरेण्टबीच प्रतिस्पर्धा भएको छ । महोत्सवको आठौं दिन शुक्रबार राष्ट्रिय कलाकार अन्जु पन्त, रामजी खाँड, पूर्णकला बिसीलगायत स्थानीय कलाकारहरुले आ–आफ्नो प्रस्तुती दिएको महोत्सवको उद्घोषण उपसमिति सदस्य किरण सापकोटाले जानकारी दिए ।

यसैबीच महोत्सवको अवसर पारेर सञ्चालित फोटो प्रदर्शनी आकर्षणको रुपमा रहेको छ । उक्त प्रदर्शनीमा म्याग्दी जिल्लाका पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलहरु र म्याग्दीका ५० वर्ष अघिका फोटाहरु समेत राखिएको छ । भिडियो डकुमेन्ट्री पनि देखाइएको छ ।

कालीगण्डकी नदीमा ¥याफ्टिङ सञ्चालन गरिएको छ भने बेनीदेखि नजिकै रहेको पर्यटकीयस्थल लभ्लीहिलसम्म घोडा सफारी गर्ने व्यवस्था समेत मिलाइएको छ । त्यस्तै महोत्सवमा जिल्लाका विभिन्न स्थानको अवलोकनका लागि हेलिकप्टर सेवा पनि उपलब्ध गराइएको छ ।