राजु र पवित्रा चम्किदा मंगलाले भलिबलको उपाधी जित्यो

0
248

छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलामा आयोजित पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधी पश्चिम म्याग्दीको मंगला गाउँपालिकाले जितेको छ । आइतबार सम्पन्न महिला भलिबलमा रघुगंगा गाउँपालिकालाई सोझो सेटमा हराउँदै मंगलाले उपाधी आफ्नो पक्षमा पार्न सफल भएको हो । मंगलाबाट क्षेत्रीय तथा राष्ट्रिय खेलमा सहभागि भएकी पवित्रा विसीको उत्कृष्ट प्रहारले खेलमा मंगला हावी भएको थियो।

पहिलो सेटमा फराकिलो अन्तरले अग्रता लिएका मंगलाले दोस्रो र तेस्रो सेटमा रघुगंगाले आफ्नो खेललाई सुधारको प्रयास गरेपनि सफल हुन सकेनन् ।उत्कृष्ट बल्कर तथा सटर मंगलाकी टिम क्याप्टेन समेत रहेकी विसी खेलको अन्तिम समयमा खुट्टामा समस्या भएपनि प्रतियोगिता अवधिभर उनको खेलले उपाधी जित्न निर्णायक भूमिका खेल्यो । त्यस्तै पुरुष भलिबलमा समेत उपाधीको दावेदार मानिएको बेनी नगरपालिकालाई सोझो सेटमा पन्छाउँदै जितेको छ ।

राष्ट्रिय भलिबल टोलीमा समेत रहेका राजु शेरचनको नेतृत्वमा मैदानमा उत्रिएका मंगलाले पहिलो सेट आफ्नो पक्षमा पारेपछि बेनी नगरपालिकाका खेलाडीको खेलको तालमेल विग्रिएको थियो । सेमिफाइनलमा चमत्कारी जित निकालेका बेनपाका खेलाडीले मंगलाका क्याप्टेन शेरचनको प्रहारलाई रोक्न नसक्दा खेलमा उपविजेतामा सिमित हुनुप¥यो ।बेनपाका सुजन चोखाल, पारस भण्डारीको खेल उत्कृष्ट भएपनि दोस्रो सेटमा अग्रता लिएपनि खेलाडी बीचको तालमेल नमिल्दा खेलको अन्तिम समयमा मंगलालले पच्छाउदै जित निकालेको थियो ।

निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल प्रहरीको विभागीय टोलीका खेलाडी समेत रहेका मंगला गापाका क्याप्टेन शेरचनले खेल जित्न महत्वपूर्ण भूमिका खेले ।प्रतियोगितामा आफ्नो खेलाडीको हौसला बढाउन बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, मंगला गाउँपालिकाका प्रमुख सतप्रसाद रोका, उपप्रमुख लगाएतको उपस्थिती रहेको थियो ।

खचाखच दर्शकको उपस्थितीमा खेल सम्पन्न भएको थियो । साविकको धौलागिरी अञ्चलमा रहेका नगर तथा गाउँपालिकास्तरीय प्रतियोगिताका बिजेता, उपविजेतालाई प्रतिनिधिसभाका सदस्य भुपेन्द्र बहादुर थापाले पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा महिला तर्फ उत्कृष्ट ब्लकर र स्पाईकर पवित्रा विसी, सेटर विना बुढाथोकी,उत्कृष्ट खेलाडी विनिता पाईजा, अनुशासित समुहमा धौलागिरी गाउँपालिकाले पाएको छ ।

त्यसैगरी पुरुष तर्फ उत्कृष्ठ स्पाईकर र खेलाडीमा राजु शेरचन, उत्कृष्ट सेटर सुजन चोखाल, उत्कृष्ट ब्लकर सन्दिप रामदाम र अनुशासित समुह मोदी गाउँपालिका पर्वतलाई सम्मान गरिएको म्याग्दी उद्योग वाणिज्य संघका सह कोषाध्यक्ष एवम् खेलकुद प्रतियोगिता ब्यवस्थापन उपसमिति संयोजक सुमन श्रेष्ठले बताए । यसैबीच महोत्सवकै अवसरमा आयोजित बास्केटबल प्रतियोगितामा बेनी नगरपालिकाले रघुगंगा गाउँपालिकालाई पराजित गरेको छ । नगरपालिकाले रघुगंगाको चिमखोलालाई ९८ स्कोरका विरुद्ध १०१ स्कोरले च्याम्पियन भएको थियो ।

प्रतियोगितामा पुरुष भलिबलको बिजेताले ७७ हजार ७७७, उपविजेतााई ४४ हजार ४४४ नगद, महिला भलिबलमा प्रथम हुनेलाई ४४ हजार ४४४, द्धितिय २२ हजार २२२ र बास्केटबलमा प्रथम हुनेले ३३ हजार ३३३ र द्धितिय हुनेलाई २२ हजार २२२ नगद, मेडल, प्रमाणपत्र र ट्रफीले सम्मान गरिएको थियो । नगर तथा गाउँपालिकास्तरीय प्रतियोगिताले खेलकुद प्रतिभाको उजागरका साथै खेल क्षेत्रमा बजेट विनियोजनमा समेत दवाव पुग्ने आयोजकले अपेक्षा गरेको छ ।