अव गलेश्वर–मालढुंगा नियमित जलयात्रा

0

प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम देखि पर्वत र बागलुङको सीमाना मालढुंगासम्म कालीगण्डकी नदीमा नियमित ¥याफटिङ (जलयात्रा) सञ्चालन हुने भएको छ ।

छैटौं म्याग्दी महोत्सबको अवसरमा फोर हिमालय म्याजिक कम्पनीले पौष २८ देखि जलेश्वरदेखि बेनीबजारको थकाली सेवा समाजको घरसम्म सञ्चालन गरेको छोटो दुरीको जलयात्रामा स्थानीयको व्यापक अभिरुची देखिएपछि व्यवसायीहरु यसलाई नियमित गर्न उत्साहित देखिएका हुन् । म्याग्दी उद्योग वाणिज्य संघ, नगरपालिका र स्थानीय बासिन्दा र ¥याफटिङ व्यवसायीहरुसँग सहकार्य गरेर गलेश्वर–मालढुंगा रुटमा नियमित जलयात्रा गर्ने तयारी गरिएकोे व्यवसायी देव रेग्मीले बताए ।

मालढुंगा नजिकै नयाँपुलबाट सेतीवेणी, मिरर्मीसम्म फागुन दोश्रो सातादेखि जेठ पहिलो सातासम्म नियमित जलयात्रा हुदै आएको छ । नदीको बहाब र गहिराई भाग समान रहेकोले गलेश्वर–मालढुंगा जलयात्रा संभव र पर्यटकीय दृष्टिले समेत संभावनायुक्त रहेको व्यवसायी रेग्मीले बताए । ‘हामीले सिजनमा नयाँपुल–मिर्मिसम्म विभिन्न प्याकेजमा स्वेदशी तथा विदेशी पर्यटकलाई यो सुविधा दिदै आएका छौँ । एकै सिजनमा ४ सय जनालाई यो दिन्छौं ।

गलेश्वर–मालढुंगासम्म यसअघि नै परिक्षण गरेको थियौं’ उनले भने, ‘यहि सिजनबाटै हामीले अपर कालीगण्डकी रुट भनेर हामीले यसलाई प्याकेजको रुपमा समावेश गर्नेछौं ।’ यो रुटमा नियमित जलयात्राका लागि दुईबर्ष अघि नै तयारी भएपनि बेनीबजार र मिलनचोक क्षेत्रमा सिधै गण्डकी माथि फाल्ने घरायसी ढल र फोहोरका कारण रोकिएको हो ।

‘तर, अहिले फोहोर र ढल मिसाउने क्रम पूर्ण रुपमा नरोकिएपनि धेरै कम भएको छ । स्थानीय भन्दा विदेशी पर्यटकहरु यस्ता फोहोरमा आउन मान्दैनन्’, व्यवसायी रेग्मीले भने, ‘ढल न्यूनीकरणमा नगरपालिकाले पनि हामीलाई सहयोग गर्नुपर्छ ।’ हिउँद सिजनमा घर नजिकै अस्थायी रुपमा ढल व्यवस्थापन गरेर बर्षायाममा नदीमा मिसाउने गरेमा पनि तत्काल समस्याको समाधान हुने व्यवसायीहरुको भनाई छ ।

गलेश्वर–मालढुंगा सडक १६ किलोमिटर भएपनि गण्डकी घुमाउरो हुने भएकाले २२ देखि २५ किलोमिटर हुनेछ । साढे २ देखि ४ घण्टाको प्याकेज बनाएर फागुनबाटै सञ्चालन गर्ने तयारी गरिएको अर्का व्यवसायी घनश्याम रेग्मीले बताए । ‘सुरुका केहि महिना हामीले बिहिबार र शनिबार सेवा दिनेछौँ । पोखरा, बेनी, बागलुङ र कुश्माका साथै विदेशी पर्यटकलाई पनि आकर्षित गर्ने प्याकेज बन्नेछ’, उनले भने । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले गण्डकी क्षेत्रमा हुने फोहोर न्यूनीकरण र हटाउनका लागि संघले विशेष अभियान सञ्चालन गर्ने बताए ।

‘धेरै पहिलादेखि हामीले गलेश्वर–मालढुंगा जलयात्राको प्रयास गर्दै आएका हौँ । हरेक हिसाबले यो संभव र उपयुक्त छ’, उनले भने । महोत्सबमा अहिलेसम्म दैनिक ५÷६ समूहले जलयात्रा गरिरहेका छन् । संघका द्धितिय उपाध्यक्ष राजेश शाक्यले महोत्सबमा जलयात्रामा दर्शकको आकर्षण बढिरहेको बताए । ‘यस क्षेत्रमा पनि जलयात्रा संभव भन्ने कुरा देखाएको छ, अब यसलाई नियमित बनाउन तर्फ लाग्नुपर्छ’, उनले भने ।