छैटौं म्याग्दी महोत्सव तथा माघेसङ्क्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेला करिव ८ करोडको कारोबार गदै आइतबार भब्य समारोहका बीच समापन भएको छ ।

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन पवद्र्धन गरौं’ भन्ने मूल नारासहित म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा गत महिनाको पुस २८ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन भएको महोत्सवमा करिव १ लाख८५ हजार दर्शकले अवलोकन गरेको वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल संयोजक उत्तमकुमार कर्माचार्यले बताए ।उत्साहजनक दर्शकको उपस्थिती देखियो, देशका विभिन्न जिल्लाबाट महोत्सवमा अवलोकन गर्न आएका थिए’ कर्माचार्यले भने ।

उनले अपेक्षा गरेभन्दा करिव २५ हजारको हाराहारीमा धेरै दर्शक आएको बताउँदै महोत्सवले जिल्लाका उत्पादनको बजारीकरणका साथै सम्भावनाका क्षेत्रहरूमा लगानीको वातावरण बनाएको बताए। महोत्सवस्थल भित्र राखिएका स्थानीय उत्पादन, आयातित बस्तु राखिएका स्टलहरू समेत अधिकांस रित्तै भएको बताउँदै ब्यापारिक दृष्टिकोणले समेत महोत्सव सफल भएको बताए । उनले महोत्वसमा जिल्लाका ६ वटै स्थानीयतहमा उत्पादन हुने बस्तुको छुट्टै स्टल राखिएको बताउँदै आगामी दिनमा जिल्लाका आवश्यक लगानीका क्षेत्रहरु पहिचान, स्थानीय उत्पादनको सम्भावना तथा बजारीकरणमा समेत सहज भएको बताए ।

‘भोलीको म्याग्दीको सपनालाई समेत महोत्सवमा देखाउन सफल भएका छौ । अति दुर्गम क्षेत्रमा रहेका खानीबाट बहुमुल्य धातुलाई समेत ल्याएर प्रर्दशनी गरिएको छ’ उनले भने ।महोत्सवमा जिल्लामा उत्पादित कृषि उपज, पर्यटन र जडिबुटीलाई मुख्य प्राथमिकता दिइएको थियो । ५० बर्ष अगाडीको म्याग्दी जिल्लाको चित्रलाई फोटो प्रर्दशनी मार्फत र अव जिल्लाको प्राथमिकतालाई जिल्ला देखी केन्द्रसम्म बजेट ल्याउने गरी प्राथमिकता दिएको बताए ।

महोत्सवस्थलमा रहेका १८० ओटा विभिन्न व्यापारिक स्टलले समेत विगतका तुलानामा ग्राहकको आर्कषण देखिएको बताएका छन् । महिला उद्यमीहरुको उत्पादनको प्रदर्शनी र बिक्री वितरणका लागि निःशुल्क रुपमा स्टल गराइएकाले पनि जिल्लामा उत्पादन भएका बस्तु सस्तोमा विक्री गरिएको थियो । जिल्लाभित्र आर्थिक गतिविधिलाई चलायमान राख्न महोत्सव कोशेढुंगा सावित भएको कोषाध्यक्ष तथा आर्थिक ब्यवस्थापन उपसमितिका संयोजक अमृत बानियाँले बताए ।

उनले महोत्सवमा टिकट विक्री, विभिन्न संघसंस्थाबाट १ करोड १५ लाख आर्थिक सहयोग भएको बताए । ‘आर्थिक रुपमा सफल महोत्सव भएको छ । लक्ष्यभन्दा १५ लाख धेरै आर्थिक जुटाउन सफल भएका छौ’ बानियाँले भने । उनले महोत्सव अवधीभर स्टलभित्र र बाहिर करिव ८ करोडको कारोबार भएको अनुमान गरिएको बताए । महोत्सवका विभिन्न उपसमितिको दैनिक समिक्षामा प्राप्त विवरणमा समेत लक्ष्य अनुसारको प्रगति देखिएको आयोजकले जनाएको छ ।

जिल्लाभित्र उत्पादन हुने जुत्ता देखी टोपीसम्मको विक्री, जिल्लाको विभिन्न सामुदायिक वन तथा धौलागिरि हिमालय क्षेत्रमा पाइने यार्सागुम्बा, पाँचऔंले, सतुवालगायतका स्वास्थ्यबद्र्धक एवं बहुमुल्य जडिबुटीहरुको पनि प्रदर्शनी गूर्जामा रहेको बहुमुल्य धातुमा प्रयोग हुने कार्ज नामक ढुङ्गा, रुमको स्लेट ढुङ्गा, राखुको खरी, अल्लो पुवा र यसबाट उत्पादित सामाग्रीहरुलाई महोत्सवमा प्राथमिकता दिइने थियो । प्राकृतिक सम्पदा, धार्मिक एवं पर्यटकीय सम्भावना बोकेको हुँदा महोत्सवमा ऐतिहासिक, धार्मिक र पर्यटकीय एवं रमणीयस्थलहरुको प्रचारप्रसारले आगामी बर्ष मनाउन लागिएको म्याग्दी भ्रमण बर्षलाई सफल बनाउन सहज भएको संघका महासचिव लिलाराम गौतमले बताए ।

‘जिल्लाका प्रमुख सम्भावनालाई महोत्सव मार्फत उजागर गरिएको छ । अव स्थानीय तहबाट यसलाई कार्यान्वयन गरिन्छ’ गौतमले भने । उनले जल, हवाई र घोडा सफारीले समेत महोत्सवमा प्राथमिकता पाएको बताउँदै जिल्लाभित्र रहेका सबै सम्भावनाका क्षेत्रहरुमा लगानीको ढोका समेत महोत्सवले खोलेको बताए ।उनले छोटो दुरीका पर्यटकीयस्थलको गन्तब्य तयार गरी प्रचारप्रसार गरिएको बताउँदै पर्यटकको सिजन सुरु भएलगत्तै त्यहाँ आन्तरिक पर्यटकको आर्कषण बढ्ने बताए ।

महोत्सवमा प्रर्दशनी, नगर एवं गाउँपालिकास्तरीय महिला र पुरुष भलिबल, बास्केटबल, लोकनृत्य,लोकदोहोरीगीत प्रतियोगिता, लाईभ दोहोरी कार्यक्रम, बालउद्यान, चिडियाघर, रमाइलो मेला, स्थानीय र राष्ट्रियस्तरका कलाकारहरुबाट साङ्गीतिक एवं सांस्कृतिक र प्रर्दशन गरिएको थियो । महोत्सवको आयब्यय केही साताभित्र सार्वजनिक गरिने छ ।