अनेरास्ववियुद्वारा बौद्विक अपाङ्गता विद्यार्थीलाई कपडा सहयोग

0
448

अनेरास्ववियु जिल्ला कमिटी म्याग्दीले सोमबार बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको बाल जागृति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कपडा सहयोग गरेको छ । विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययनरत २२ जना बौद्विक अपाङ्गता भएका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ ।

अनेरास्ववियु जिल्ला कमिटी म्याग्दीका अध्यक्ष सुभास विश्वकर्माको नेतृत्वमा आइतबार सदरमुकाम बेनीबजारमा सङ्कलन गरिएको न्यानो कपडा वितरण गरिएको अनेरास्ववियुले जनाएको छ । न्यानो कपडा वितरण गर्दै अनेरास्ववियु केन्द्रीय सदस्य प्रकाश पौडेलले विद्यार्थी आन्दोलनसँगै अनेरास्ववियुले जनताको हितका लागि पनि काम गर्दै आइरहेको बताए ।

अनेरास्ववियु जिल्ला अध्यक्ष विश्वकर्माले बजारका फेन्सी पसलहरुमा न्यानो कपडा सङ्कलन गरी सोमबार बसन्तपञ्चमी अर्थात् सरस्वती पुजाको दिन पारेर वितरण गरिएको बताए । उनले मङ्गलबार रघुगंगा गाँउपालिका–३ मा रहेको मौवाफाँटको ज्ञानोदय माविका दृष्टिविहिन विद्यार्थीहरुलाई पनि न्यानो कपडा वितरण गरिने कार्यक्रम तय गरिएको जानकारी दिए ।

अनेरास्ववियु जिल्ला कमिटीका पदाधिकारीहरुको समेत उपस्थिति रहेको कपडा वितरण कार्यक्रमको सञ्चालन कोषाध्यक्ष दलबहादुर रोकाले गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भक्त कार्कीले विद्यार्थीहरुलाई कपडा सङ्कलन गरी सहयोग गरेको भन्दै अनेरास्ववियुको टिमलाई धन्यवाद ज्ञापन गरेका थिए । सन्दिप शर्मा÷म्याग्दी