घारमा १५ सैयाको सुविधासम्पन्न स्वास्थ्यचौकी भवनको शिलन्यास

0

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घारमा सुविधासम्पन्न स्वास्थ्य चौकीको भवन शिलन्यास गरिएको छ ।स्थानीयबासीको चन्दा र निशुल्क उपलब्ध गराएको जग्गामा सोमबार वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल र चन्दादाता रुपा बरुवाल र गोविन्द खड्काले संयुक्त रुपमा भवनको शिलन्यास गरेका हुन् ।  एक करोड ५६ लाखको लागतमा निर्माणधिन अवस्थामा रहेको स्वास्थ्य चौकीलाई स्वर्गीय अमर बहादुरको स्मृतिमा श्रीमति रुपा बरुवालले एक रोपनी र स्थानीय गोविन्द खड्काले आठ आन जग्गा निशुल्क उपलब्ध गराएका थिए ।

साँघुरो कोठामा सञ्चालन भइरहेको स्वास्थ्य चौकीलाई आधुनिक उपकरण सहित सेवा सञ्चालन गर्ने गरी सुरू भएको अभियानमा स्थानीयले चन्दा संकलन गरी ८ लाख जुटाएर थप दुई रोपनी नौ आना जग्गा स्वास्थ्य चौकीलाई खरिद गरेपछि चार रोपनी एक आना क्षेत्रफलमा निर्माणधिन अवस्थामा रहेको भवनको काम सुरु गरिएको वडा अध्यक्ष कृष्णप्रसाद बरुवालले बताए ।

‘समुदायको सक्रियतामा जग्गा ब्यवस्थापन गरिएको थियो। निर्धारित समयमै भवन सम्पन्न गरिनेछ’ बरूवालले भने । उनले वडामै स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन स्थानीयले गरेको प्रयासले समेत भवन निर्माणमा गति लिने बताए । १५ सैया क्षमताको दुईतले भवनका लागि सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्का मार्फत निर्माण कार्य सुरु गरेको स्वास्थ्य चौकी ब्यवस्थापन समितिका अध्यक्ष ठकराज बरुवालले बताए ।

उनका अनुसार आगामी बर्षको असार महिनाभित्र निर्माणकार्य सम्पन्न गरिने छ । गाउँमै सुविधासम्पन्न स्वास्थ चौकीको भवन निर्माण हुन लागेपछि स्थानीयबासी उत्साहित भएका छन् । भवन निर्माणसंगै स्वास्थ्य परिक्षण, औषधी भण्डारण गने, बैठक कक्ष लगाएतका संरचनाहरु निर्माण गरिने जनाइएको छ । गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउन आफ्नो ब्यक्तिगत जग्गा सहयोग गरेका स्थानीयले गाउँपालिकाबाट समेत थप पूर्वाधार सहित आधुनिक स्वास्थ्य सेवामा सहयोगको अपेक्षा गरेको जनाएका छन् ।