कालीगण्डकी र म्याग्दी नदीको कटानबाट म्याग्दीको सदरमुकाम बेनीबजारलाई जोगाउन सुरु भएको बेनी बजार संरक्षण आयोजनाको काम तीब्र गतिमा संचालन भैरहेको छ ।

जिल्लामा संचालित ठूला विकास आयोजनाहरु सुस्तगतिमा अघि बढेका भएपनि बेनीबजार संरक्षण आयोजनाले भने धेरैलाई आशा जगाएको छ । म्याग्दी नदी र कालीगण्डकी नदी किनारमा ११ करोड ३२ लाखको लागतमा निर्माण भैरहेको सो आयोजना अनुसार कालीगण्डकीको दायाँ र म्याग्दी नदीको बायाँ किनारामा आरसिसी रिटेनिङ (मेसिनरी) पर्खाल निर्माणको कार्य तीब्ररुपमा अघि बढेको हो ।

आयोजनाअन्तर्गत जलउत्पन्न प्रकोप नियन्त्रण सबडिभिजन कार्यालय बाग्लुङले चालू आर्थिक वर्ष २०७४÷७५ मा दुईवटा प्याकेजमा काम गर्ने गरी ११ करोड ३२ लाखको लागतमा बेनीको मंगलाघाटस्थित म्याग्दी नदीको बायाँ किनारा,म्याग्दी र कालीगण्डकीको दोभान तथा कालिपुलस्थित कालीगण्डकी नदीको दायाँ किनारामा रिटेनिङ र आरसिसी पर्खाल निर्माण गर्न लागेको हो ।

मंगलाघाट क्षेत्रमा निर्माण हुने १८४ मिटर लम्वाईको आरसिसी रिटेनिङ (मेसिनरी) पर्खालमध्ये एक महिनाको अवधिमा ८० मिटर निर्माण सम्पन्न भैसकेको आयोजनाका सुपरभाइजर भीमवहादुर किसानले जानकारी दिए । किसानका अनुसार सो अयोजना गत पुस ४ गतेदेखि सुरु भएको हो ।

आयोजनाको निर्माण सामग्रीको बारेमा शंका उत्पन्न भैरहे पनि मापदण्ड अनुसारको नै निर्माण सामग्री प्रयोग भएको आयोजनामा कार्यरत कामदारका अगुवा (मजदुर नायिके) शेरवहादुर राणाले बताए । उनका अनुसार ओपिसी सिमेण्ट र पिलिष्टर वास वालुवा निर्माण कार्यमा प्रयोग भइरहेको छ । काम युद्धस्तरमा संचालन भैरहेको र सम्झौता अगाडि नै सम्पन्न गर्ने लक्ष्य रहेको ठेकेदार कम्पनि समानान्तर बिएन जेभीका नारायण जिसीले बताउनुभयो ।

‘तीव्र गतिमा काम भइरहेको छ । नदीको धारसमेत परिवर्तन गरिएकाले पनि सहज भएको छ,’ जिसीले भन्नुभयो । निर्माण व्यवसायी संघ म्याग्दीका अध्यक्षसमेत रहेका जिसीले ३ सय ९७ मिटर रिटेनिङ र आरसिसी पर्खालमा दैनिक २ सय कामदार परिचालन गरिएको जानकारी दिनुभयो । जिसीका अनुसार मेसिनरी पर्खाल ६ मिटर र आरसिसी ७.५ मिटर अग्लो हुने छ । ठेक्का सम्झौता एक वर्षसम्म भएपनि जिसीले असारभित्र नै काम सम्पन्न गर्ने दाबी गरेकाछन् । जलउत्पन्न प्रकोप नियन्त्रण सबडिभिजन कार्यालयका इन्जिनियरसहितको प्राविधिक टोलीले समेत दैनिक स्थलगत अनुगमन गर्ने गरेको जनाएको छ ।

दुईवटा ठूलो नदीको कटानले बेनीबजार जोखिममा पर्न थालेपछि बजार संरक्षण उपभोक्ता समिति निर्माण गरी एकदशकयता सरकारी बजेट र चन्दा संकलन गरी ग्याबिनजालीले समेत कटान भएका क्षेत्रमा रोकथाम गर्ने गरिएको थियो । ग्याबिनजाली, ढुंगाको प्रयोग गरी प्रयास गरिएको रोकथाम प्रभावकारी नभएपछि आर्थिक वर्ष ०७१÷७२ देखि ०७३÷७४ सम्म आरसिसी पर्खालको योजना परेको थियो । तर पाँच महिना अघिदेखि निर्माण कार्यले तिव्रता पाएको हो ।