गलेश्वरको कल्पवृक्षमा पातै नपलाईकन लटरम्म फल लाग्यो

0

देख्नेलाई र सुन्नेलाई पनि अचम्म र अपत्यारिलो लाग्ने दृश्य म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वर धाममा देखिएको छ मुक्तिनाथ प्रवेशद्धारको रुपमा परिचित गलेश्वर शिवालयको विशाल शिलामाथि आँफै मूल उम्रेर बनेको जलाशय (पोखरी)को माथिल्लोपट्टि माटो विना नै शिला (ढुङ्गा) मा उम्रिएको कल्पवृक्षको रुखमा मुना,काइना र पात नै नपलाईकन एकाएक लटरम्म फल लागेपछि गलेश्वर दर्शनका लाग पुग्ने भक्तजन र पर्यटकहरु छक्क पर्ने गरेका छन् ।

‘विशाल शिला माथि रहेको जलाशय (पोखरी) र यो कल्पवृक्ष न कहिल्यै बढ्छ, न कहिल्यै घटेछ’ गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रवहादुर केसीले भन्नुभयो ‘करिब ४ सय वर्ष पुरानो मानिएको यो कल्पवृक्षलाई अलौकिक मानेर दर्शन गर्नेहरुले जिज्ञासा राख्ने गरेका छन् ।

’ ९ रोपनी क्षेत्रफलमा फैलिएको विशाल शिलाको उच्च भागमा रहेको सो जलाशयमा शेषशायी विष्णुको मुत्र्ति प्रतिष्ठापन गरिएको छ । जलाशय गोलाकाररुपमा फैलिएको शिला (चट्टान)को सवैभन्दा उचोभागमा रहेको छ । सोही जलाशयको माथिल्लोपट्टि रहेको कल्पवृक्ष र गलेश्वर शिवालयको तल्लोपट्टि रहेको धुपीको रुख गलेश्वरधामको ऐतिहाँसिक गौरब भएको अध्यक्ष केसीले बताउनुभयो ।