जिल्लाका स्थानीय तहमा समन्वयको अभावका कारण स्वास्थ्य सेवा प्रभावित भएको जनप्रतिनिधिले गुनासो गरेका छन् ।औषधी खरिद, कर्मचारी परिचालन लगाएत स्वास्थ्यका आवश्यक क्षेत्रमा केन्द्र, जिल्ला र स्थानीयतहमा रहेका स्वास्थ्यकर्मीमा देखिएको समन्वयको अभावले सेवा प्रवाहमा कमीकमजोरी देखिएको बताइएको हो ।

शुक्रबार म्याग्दीको सदरमुकाम बेनीमा स्वास्थ्य अधिकार तथा सूतिजन्य पर्दाथ नियन्त्रण जिल्ला सञ्जालले आयोजना गरेको कार्यक्रममा स्वास्थ्य सेवा प्रवाहमा अवसर तथा चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न गाउँपालिकाका प्रमुखले औषधी खरिदमा समन्वयकारी भूमिकाको अभाव, अस्पष्ट खरिद प्रक्रियाले समयमै औषधी खरिदमा समस्या भएको बताएका थिए ।

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन प्रतिबद्ध रहेपनि बजेट विनियोजन,औषधी लगाएतका उपकरणको खरिद प्रक्रियामा सम्बन्धित निकायबाट समयमै समन्वयकारी भूमिकाको अभावले अपेक्षा गरे अनुसारको काम गर्न नसकिएको मंगला गाउँपालिका प्रमुख सतप्रसाद रोकाले बताए । उनले गाउँपालिका भित्र रहेका स्वास्थ्य चौकीमा औषधी अभाव हुन नदिने बताए । स्थानीय तहले जनताको आधारभुत आवश्यकतालाई पुरा गर्ने गरी बजेटमा प्राथमिकता दिएपनि कर्मचारीतन्त्रमा राजनीति हावी भएकाले कार्यसम्पादन प्रभावकारी बन्न नसकेको बताएका थिए ।

‘स्वास्थ्यको क्षेत्रमा कार्यरत कर्मचारीमा समेत दलिय प्रभावले असर गरेको छ ।जनताको अति आवश्यक सेवाका कमीकमजोरीलाई सुधारको प्रयासमा छौ’मालिका गाउँपालिकाका प्रमुख श्रीप्रसाद रोकाले भने । वडास्तरमा रहेका स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीको सेवा प्रवाह, औषधी लगाएतका उपकरणको अभावका बारेमा तत्कालै जानकारी नहुदाँ विनियोजित बजेटको प्रयोगमा समेत समस्या जनप्रतिनिधिले गुनासो गरेका छन् । अन्र्तरक्रिया कार्यक्रममा स्थानीय तहमा कार्यरत कर्मचारीका बारेमा जिल्ला स्वास्थ कार्यालयबाट समेत विवरण सहित सेवा प्रवाहमा देखिएका समस्याका बारेमा सहकार्य भएमा प्रभावकारी सेवा प्रवाह गर्न सकिने बताएका थिए ।

कार्यक्रममा रघुगंगा गापाका प्रमुख भव बहादुर भण्डारी, धौलागिरी गापाका उपप्रमुख रेशम छन्त्याल, अन्नपूर्ण गापाका उपप्रमुख केशमायाँ पुर्जा, जिल्ला जनस्वास्थ्य कार्यालयका भिमप्रसाद आचार्यले स्वास्थ्यको क्षेत्रमा देखिएका समस्या र आगामी दिनमा गरिने गतिविधिका बारेमा आफ्नो भनाई राखेका थिए । कार्यक्रमको सहजिकरण गैरसरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद पौडेलले गरेका थिए । एक नगर तथा पाँच गाउँपालिकामा स्वास्थ्य, शिक्षा, कृषि र पशुपालनको बजेट विनियोजनमा समस्या देखिएको थियो ।

विज्ञापन