बेनी नगरपालिका–४ तातोपानी कुण्डको भ्रमण गर्न आउनेको अभिलेख राख्न थालिएको छ । प्राकृतिक उपचार केन्द्रको रुपमा स्वदेश तथा विदेशमा प्रख्यात रहेको कुण्डमा विभिन्न जिल्लाबाट भ्रमणका लागि आउनेको भीड लाग्न थालेपछि भ्रमण गर्नेको आधिकारिक विवरण राख्न थालेको हो ।

विद्यालय, सामाजिक संघसंस्थाका साथै देशका विभिन्न जिल्लामा रहेका तातोपानी कुण्डको ब्यवस्थापन समितिको समेत रोजाईम परेपछि अभिलेख राख्न थालिएको तातोपानी कुण्ड ब्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए । ‘भ्रमणमा आउनेलाई स्वागत पनि गरिन्छ । बर्षभरी कतिले भ्रमण गरेपनि तथ्याङ्क निकाल्न पनि सहज हुन्छ’ उनले भने ।

कुण्डले म्याग्दी महोत्सवमा समेत तातोपानीको प्रचारप्रसार गदैं निशुल्क पानी पिउने सुविधा राखेको थियो । कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले मनाङको चामेमा रहेको तातोपानी कुण्डकोब्यवस्थापन समितिले यहाँको अनुभव र ब्यवस्थापनका बारेमा सिको गर्ने गरी आएको टोलीलाई स्वागत गरिएको बताए ।

‘आन्तरिक पर्यटन प्रर्वधनमा समेत कुण्डको भूमिकमा देखिएको छ । ठुलो समुहमा आउनेहरुको संख्या मात्रै राख्ने गरेका छौ’ उनले भने । स्नान गर्ने बाहेक अवलोकन गर्न आउने दुईचार जनाको समेत अभिलेख राख्न सुरु गरिएको बताए ।बर्षेनी करिव १६ हजार टिकट शुल्क तिरेर स्नान गर्ने गरेको बताउँदै विना शुल्क स्नान गर्नेहरुको संख्या समेत धेरै रहेको शाक्यले बताए । तातोपानीको स्वदेश तथा विदेशमा ब्यापाक प्रचारप्रसार भएपछि सार्क राष्ट्र बाहेक एसिशाली राष्ट्रबाट समेत नियमित आउन थालेको बताए ।

जापानबाट हरेक बर्ष एक समुह स्नानका लागि आउने गरेका छन् । त्यस्तै विदेशमा विरामी भएका नेपालीको समेत कुण्ड रोजाईमा पर्ने गरेको छ । मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सीयसको तापक्रमम निस्कने विरेनुन स्वादको तातोपानी आउने गरेको छ । जमिन भित्रबाट बिरेनुनको गन्धमा निस्कने तातोपानी पोखरमा सङ्कलन गर्ने गरिन्छ । कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुचीनहुने लगायतका स्वास्थ्य समस्या भएका विरामी पुग्ने गरेका छन् ।