चैत महिनाभित्रै बलेवा विमानस्थल संचालनमा ल्याउने

२०१८ सालमा स्थानियहरुको जनश्रमदानबाट निर्माण गरिएको बाग्लुङस्थित बलेवा विमानस्थल विगत २६ बर्षदेखि बन्द छ । त्यही विमानस्थल यतिबेला गौचरन बनेको छ । बाग्लुङ, पर्वत र म्याग्दी जिल्लाकै गहनाको रुपमा रहेको यो विमानस्थल संचालनका लागि यतिबेला बाग्लुङ नगरपालिकाका जनप्रतिनिधिहरुले पहल कदमी अघि बढाएका छन् । उनिहरुले आगामी चैत महिनाभित्रै बलेवा विमानस्थल संचालनमा ल्याउने उद्घोष समेत गरेका छन् ।

बाग्लुङ, पर्वत र म्याग्दी जिल्लालाई लक्षित गरि २०१८ सालमा निर्माण गरिएको बागलुङस्थित बलेवा बिमानस्थल यतिबेला बन्द अवस्थामा छ । चलिरहेको विमानस्थलमा प्लेन नआएको पनि २६ बर्ष बितिसक्यो । कुनै बेला ८० रुपैयाँ तिरेर यसै विमानस्थलमा ओर्लिएकाहरुले विमानस्थल संचालनमा आउने आशा भने मारिसकेका छन् ।

प्रदेश नं ४ अन्तर्गत पर्ने बाग्लुङ, पर्वत र म्याग्दी जिल्लाको गहनाको रुपमा रहेको एकमात्रै बलेवा विमानस्थल पुनः संचालनमा ल्याउनका लागि यतिबेला मर्मत संभारदेखि अन्य विभिन्न प्रयासहरु भइरहेका छन् । भर्खरै निर्बाचित भएका तीनै जिल्लाका स्थानिय तहका जनप्रतिनिधिहरुले आर्थिक क्षेत्रको संबाहक भन्दै विमानस्थल संचालनमा पहल थालेका हुन् । यसका लागि बाग्लुङ नगरपालिकाले बिशेष पहल कदमी अघि बढाएको छ ।

बलेवा बिमानस्थल सञ्चालनका लागि प्रारम्भिक अध्ययन समेत शुरु गरिएको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवन्धक इन्द्रराज अधिकारी नेतृत्वको इञ्जिनियरसहितको टोलीले तत्काल बिमानस्थल सञ्चालन गर्ने गरि सम्भाव्य अध्ययन गरेको हो । बागलुङ नगरपालिका वडा नं १४ मा रहेको यो विमानस्थल २०४८ सालदेखि बन्द अवस्थामा रहेको छ ।

बिमानस्थल सञ्चालनका लागि यसअघि पनि पटक पटक सञ्चालनको पहल र प्रयास भए पनि सफल हुन भने सकेको थिएन । त्यसैले यस क्षेत्रका नागरिक अझै बिश्वस्त भने हुन सकिरहेका छैनन् । यद्यपी बागलुङ नगरपालिकाको बिशेष पहलमा यात्रु अभाव हुँदाको खर्च बेहोर्ने सुनिश्चिततासहितको निर्णयले बिमानस्थल सञ्चालनको सम्भावना बलियो बनेको हो । बलेवाका स्थानीयबासी कृष्णबहादुर पौडेल केसीले कालिगण्डकी करिडोरसंगै विमानस्थल सञ्चालन हुने खबरले खुसी भएको बताउनुभयो ।

केही साताअघि मात्र नगरपालिकाको पहलमा नेपाल नागरिक उडड्यन प्राधिकरण बबरमहलमा भएको छलफलपछि बलेवा विमानस्थल सञ्चालनका लागि तीन बुँदे सहमति भएको थियो । उक्त सहमतिकै आधारमा बिमानस्थल सञ्चालनका लागि अध्ययन थालिएको प्राधिकरणले जनाएको छ । पोखरा–बागलुङ राजमार्ग सञ्चालनमा आएपछि यो बिमानस्थल पूर्ण रुपमा बन्द छ । यतिका समयसम्म बन्द भएको बिमानस्थल सञ्चालनका लागि सामान्य मर्मत सुधार गरिए बिमानस्थल सञ्चालनमा प्राविधिक जटिलता नरहेको स्थलगत अध्ययनमा पुगेका नागरिक उड्ययन कार्यालय पोखराका सिभिल इञ्जिनियर मिनराज ओझाले बताउनुभयो ।

यस्तै नागरिक उड्ययन प्राधिकरणका प्रवन्धक इन्द्रराज अधिकारीले बिमानस्थल सञ्चालनको सम्भावनामा ठुलो समस्या नदेखिएको बताउनुभयो । यहाँको प्रारम्भिक स्थलगत अध्ययन रिपोर्ट प्राधिकरणमा बुझाउने उहाँको भनाई छ । त्यसपछि एयरलाइन्सले पनि स्थलगत अध्ययन गरेर सबै व्यवस्थापन भएपछि बिमानस्थल सञ्चालनमा आउने छ । बागलुङ नगरपालिकाले आगामी चैतसम्ममा बिमानस्थल सञ्चालनका लागि आवश्यक पहल र भुमिकामा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत जनाएको छ ।

बिमानस्थल बन्द हुनुपुर्व बलेवाबाट टुईनेटर बिमानले काठमाण्डौ, पोखरा र भैरहवा उडान भर्ने गर्दथे । यसअघि बाग्लुङ आउने सबै उच्च नेताहरुले बिमानस्थल सञ्चालनमा ल्याउनका लागि पहल गर्ने प्रतिवद्धता जनाउने गरेका छन् । उच्च नेतृत्वबाट प्रतिवद्धता जनाएपनि बिमानस्थल सञ्चालनमा नआउँदा बाग्लुङ, पर्वत, म्याग्दीका जनता समेत सेवाबाट बञ्चित भएका छन् । बन्द भएको यो विमानस्थल संचालनमा ल्याउनका लागि केही बर्ष अघि बिमानस्थल संचालन ल्याउने तयारीका साथ नेपाल एयरलाईन्सको ट्वीनेटर जहाजले परिक्षण उडान समेत गरेको थियो । तत्कालिन शिक्षा मन्त्री दिननाथ शर्मा र पर्यटन मन्त्री लोकेन्द्र विष्ट जहाजमा आएर निरन्तर संचालन गर्ने प्रतिवद्धता जनाएका थिए ।

बिमानस्थल अहिले गौचरनमा परिणत भएको छ । बेला बेलामा विमानस्थलको स्तरोन्नती र मर्मत गर्ने भन्दै बजेट विनियोजन गरिदै आएको स्थानियहरु बताउँछन् । विमानस्थलमा परीक्षण उडान गरेपछि सडक लगायतका पूर्बाधार निर्माण गर्ने भन्दै एककरोड रुपैयाँ विनियोजन भएको थियो । राज्यकोषबाट बर्षेनी करोडौंका रकमहरु स्तरोन्नतीको नाममा विनियोजन गरिएपनि अपेक्षा गरिए अनुरुपको पूर्बाधार निर्माण नभएको जिल्लाबासीको गुनासो छ । बिमानस्थल संचालन गरेर नियमित उडान भरेमा बैदेशिक रोजगारीबाट आउने व्यक्ति, व्यापारी, सरकारी तथा गैरसरकारी क्षेत्रका कर्मचारी लगायत बाह्य पर्यटकहरु भित्र्याउन सकिने स्थानीय बताउँछन् ।

यतिबेला आगामी चैते दशैं मेलालाई लक्षित गरी यो विमानस्थल सञ्चालनमा ल्याउन पहल गरिएको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेल बताउनुहुन्छ । प्राधिकरणका पदाधिकारी, विमान कम्पनी, बागलुङ नगरपालिकाका प्रतिनिधि, बागलुङका पूर्वसासंदलगायत सरोकारवाला पक्षबीच चैत पहिलो साताभित्रै बलेवा विमानस्थल सञ्चालनमा ल्याउने सहमति नै भएको छ । पहिलो चरणमा नेपाल वायु सेवा निगमको राष्ट्रिय ध्वजावाहक र तारा एयरको जहाजले साताको दुईपटक उडान भर्ने सहमति भइसकेको छ ।

हप्ताको २ जहाज उडान गर्न १८ सिटे जहाजका लागि १२ सिटको ग्यारेन्टी नगरपालिकाले गरेको छ ।
यो विमानस्थल नजिकैबाट चीन र भारत जोड्ने कालिगण्डकी करिडोर गएको छ । मुस्ताङ र पोखराको आपतकालीन विकल्पसमेत बलेवा विमानस्थल बन्न सक्ने यहाँका जनप्रतिनिधिहरु बताउँछन् ।