९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राकार शीला (पत्थर) माथि अवस्थित स्वयं प्रकट शिवलिङ्ग रहेको म्याग्दीको प्रशिद्ध तीर्थस्थल गलेश्वरधाममा करोडौंका पूर्वाधारहरु निर्माण भएपछि तीर्थयात्री तथा वाह्य पर्यटकहरुसमेत आकर्षित भएका छन् । कालीगण्डकी नदीदेखि नै सुरु भएको चक्राकार शीलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र कल्पवृक्ष रहेको विश्वकै अलौकिक गलेश्वरधाममा चढेको भेटी र दाताहरुको सहयोगबाट ९ करोड रुपैयाँका विभिन्न पूर्वाधारहरु निर्माण भएका छन् ।

मन्दिरमा चढेको भेटी र दाताहरुको सहयोगबाट धर्मशाला,बगैंचा, अतिथी आवास,संस्कृत पाठशाला,हवनकुण्ड लगाएतका संरचनाहरु निर्माण भएपछि गलेश्वर सवैको आकर्षणको केन्द्र वन्दै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुदवहादुर केसीले बताउनुभयो ।

गलेश्वरमा विश्वमा कतै पनि नभेटिएको स्वयं प्रकट शिवलिङ्ग, चक्रशीलाको परिधिमा टुसाएका शालिग्राम, प्रष्टरुपमा देखिने भगवान शिवका चरण चित्र,त्रिशुल, शंख, नाग, देवदेवीका मूर्ति आदि रहनुले पनि यो विश्वकै अलौकिक तीर्थस्थल भएको पुष्टि हुने पण्डित भीमनाथ आचार्यले बताउनुभयो ।२०५४ अघि अस्तव्यस्त रहेको यस क्षेत्रमा राधाकृष्ण शर्मा पराजुलीले आफ्नो निजी २० लाख रुपैयाँको लागतमा हालको मन्दिर निर्माण गरेपछि गलेश्वरधामको विकासको शिलान्यास सुरु भएको हो ।

यस क्षेत्र अन्तर्गत रहेका कपिलाश्रम, पुलस्त्य–पुलहाश्रम, जगन्नाथ, वरनाथ, टोड्के तपोवन, सिद्धाश्रम, विवप्रभाश्रम, विपिनाम, आनन्दाश्रम, ऋखाराश्रम अझै पनि प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा नै परेका छन् ।मुक्तिनाथ प्रवेशद्धारको रुपमा रहेको गलेश्वर धामले स्वदेशी तीर्थयात्रीहरुको मात्रै होइन विदेशी पर्यटकहरुको समेत ध्यान खिच्न सफल भएको छ । यहाँ दैनिक दर्जनौं विदेशी पर्यटकहरु आउने गरेका गलेश्वर शिवालय क्षेत्रविकास कोषले जनाएको छ ।