मध्य अमेरिकी देशमा लागेको चोट, म्याग्दीको तातोपानीमा निको(भिडियो)

0

मध्य अमेरिकी पानमा भन्ने देशमा घरबाट खसेर हात र खुट्टामा गम्भीर चोट लागेपछि गुल्मीका कृष्णबहादुर अधिकारीको सपना चकनाचुर भयो ।दुर्घटनामा एउटा खुट्टा र हात नचल्ने भएपछि अस्पतालमा उपचार गरी घर फर्किएका अधिकारीले नेपालका ठुला अस्पतालमा समेत उपचार गरे ।प्रसस्तै धन आर्जन गर्ने, परिवारको सपना पुरा गर्ने योजना बुनेर पानमा पुगेका अधिकारीलाई चिकित्सकले समेत हात र खुट्टा नचल्ने बताएपछि छागाबाट खसेजस्तै भए ।

खुट्टा र हात संगै शरीरका विभिन्न्न भागमा चोट लागेको अवस्थामा नेपाल फर्किएका अधिकारी म्याग्दीको बेनी नगरपालिका–४ तातोपानी कुण्डमा स्नान गरिरहेका छन् ।बैशाखीको साहरामा कुण्डमा पुगेका अधिकारीले पहिलोपटक लगातार १५ दिनसम्म उपचार गरेपछि हात–खुट्टामा केही परिवर्तनको महसुस गरेपछि पुनः कुण्डमा स्नान गर्न आएको बताए ।

‘दुर्घटनामा परेपछि पानमाको अस्पतालले समेत निको हुदैन भनेपछि फर्किए, नेपालका अस्पतालमा पनि अपेक्षा गरे अनुसारको उपचार भएन्’ अधिकारीले भने । नशा र हड्डीमा देखिएको समस्या कुण्डमा डुवेर निको भएको अधिकारीको भनाई छ । ‘मैले कुण्डमा आएर पुर्नजन्म पाएको छु ।यहाँबाट पाएको नयाँ जीवनले अव पुरानै अवस्थामा फर्कन सक्छु’ अधिकारीले भने ।चिकित्सकको भनाईलाई चुनौती दिदैं कुण्डमा पुगेका अधिकारीले आफ्नो नचल्ने हात फनफनी घुमाउँदै र खुट्टा समेत चलाएर देखाएका थिए ।

‘कुण्डबाट पाएको नयाँ जीवनलाई उपचारमा संलग्न चिकित्सकलाई समेत सुनाउँछु, परिवारमा पनि खुसी फर्किएको छ’ अधिकारीले भने । उनले नशा र छालाको समस्या भएका विरामीले एकपटक कुण्डमा आउनुपर्ने सुझाव दिन्छन् । उनीजस्तै माओवादीको जनयूद्धमा माओवादीका कार्यकर्ताले आफ्नो पक्षमा काम नगरेको भन्दै ढुंगाले हात थिचेपछि पीडादायी दिन विताइरहेकी रुद्धपुर भैरवाकी नन्द देवी पौडेल श्रीमान र सासु आमासंगै नुहाउन आएकी छन्।

‘मैले अहिलेसम्म हातले दिएको दुख पखाल्न कुण्डमा आएकी छु । उहाँ चमत्कारी नै रहेछ’ पौडेलले भनिन् । उनले तत्कालिन समयमा हातलाई सिलौटामा राखेर थिच्नेहरूलाई काम गरेर देखाउन समेत कुण्डमा आएको बताईन् । बर्षेनी २० हजारको हाराहारीमा आउने विरामीको रोग पखाल्ने प्राकृतिक उपचार केन्द्रको रुपमा परिचित तातोपानीमा नेपाल र भारतका ठुला अस्पतालमा उपचार गरी दिक्क भएका विरामीको उपचार केन्द्र बनेको छ ।

परिवार र आफन्तको सहयोगमा कुण्डमा पुग्ने विरामी एकहप्तासम्म लगातार स्नान गरेपछि आफ्नै खुट्टाले टेकेर घर फर्किने गरेका छन् । ‘१० बर्ष देखी नियमित कुण्डमा स्नान गर्ने गरेको छु । म जस्ता धेरै विरामी अनुहार चम्किलो बनाएर फर्कनुहुन्छ’ काठेखोला गाउँपालिका–२ भिमपोखारका हरि बहादुर भण्डारीले भने । उनले एकजना विरामीलाई निको भएपछि प्रचारप्रसारबाट समेत गाउँका धेरै कुण्डमा आएको बताए ।

नेपालका विभिन्न जिल्लाका साथै भारत र जापानबाट समेत नियमित स्नान गर्न आउन थालेपछि महिला र पुरुषले फरक– फरक पालोमा स्नान गर्ने ब्यवस्था मिलाइएको कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताए ।‘विरामीलाई कुण्ड बरदान सावित भएको छ, निराश भएर आउने धेरैको उफ्रिदै फर्कनुहुन्छ’ शाक्यले भने । उनले विरामीले विगत र कुण्डमा डुवेपछिको अवस्थाका बारेमा आफैँ अनुभव सुनाउने गरेको बताउँदै तातोपानीले विभिन्न रोगको उपचार सम्भव भएको बताए ।

उनले जटिल अवस्थामा आएका विरामीलाई खाना बस्ने र आवश्यक सुरक्षामा कर्मचारीले समेत सहयोगी भूमिका खेल्ने गरेको बताए । ‘८० बर्ष नाघेका विरामीहरू समेत कुण्डमा आउनुहुन्छ । उहाँहरुको सेवालाइ हामीले विषेश प्राथमिकता दिएका छौ’ शाक्यले भने । माघ महिनाको पहिलो सातामात्रै करिव ६ सय जनाले स्नान गरेका छन् ।बर्षेनी करिव १६ हजार टिकट शुल्क तिरेर स्नान गर्ने गरेको बताउँदै विना शुल्क स्नान गर्नेहरुको संख्या समेत उत्तिकै रहेको बताए ।

मुहानबाटै ४५ देखि ५० डिग्री सेल्सीयसको तापक्रमम निस्कने विरेनुन स्वादको तातोपानी आउने गरेको छ । जमिन भित्रबाट बिरेनुनको गन्धमा निस्कने तातोपानी पोखरमा सङ्कलन गर्ने गरिन्छ । जापानबाट आएको एक टोलीले गरेको अनुसन्धानमा गन्ध आँफैमा एक प्राकृतिक एन्टिवायोटिक भएको हुनाले कुण्डमा स्नान गर्दा एक व्यक्तिमा भएको रोग अर्को व्यक्तिमा सर्ने सम्भावना कम हुने बताएपनि गर्मी मौसममा सरुवा रोगक फैलन सक्ने सम्भावनालाई मध्यनजर गरी माक्स र आवश्यक सतर्कता अपनाउने गरिएको छ।

विरामीको चाप बढ्दै जान थालेपछि भौतिक पूर्वाधारका साथै भासिएको पानीलाई मोटरबाट संकलन गरी स्नानको ब्यवस्था मिलाइएको छ । कुण्डमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुचीनहुने लगायतका स्वास्थ्य समस्या भएका विरामी पुग्ने गरेका छन् ।

कुण्डको आम्दानीले स्थानीय सरस्वती माविमा १० जना शिक्षकलाई तलव सहित भौतिक पूर्वाधारमा बर्षेनी १६ लाख, स्वास्थ्य, खेलकुद, आमा समुह, यूवा क्लव, बजारमा ढल निकासी सहित विभिन्न पूर्वाधार विस्तारमा करिव २० लाख सहयोग गर्ने गरिएको छ । यसैबीच कुण्डको भ्रमण गर्न आउनेको संख्या समेत ह्वात्तै बढेपछि यसबर्ष देखी भ्रमण गर्नेहरुको विवरण समेत राख्न थालिएको छ । कुण्डमा उपचार गर्ने पुगेका विरामीले निको भएपछि १ सय देखी ५० हजारसम्म चन्दा, आजीवन सदस्यता, सामान सहयोग गर्ने गरेका छन् ।

तस्वीर : पानमा भन्ने देशमा दुर्घटनमा गम्भीर घाईते भएपछि तातोपानी कुण्डमा स्नान गर्न आएका गुल्मीका कृष्ण बहादुर अधिकारी र माओवादीले शसस्त्र यूद्धलाई सहयोग नगरेको भन्दै हात थिचेर घाईते भएकी रुद्धपुर भैरहवाकी नन्ददेवी पौडेल । दुवैले कुण्डबाट नयाँ जिवन पाएको बताएका छन् । तस्वीर हरिकृष्ण गौतम