सामाजिक भेद्भावको कारण ग्रामिण क्षेत्रमा कुष्ठ रोग लुकाउने प्रबृत्ति ब्याप्त रहेको सरोकारवाला निकायले बताएका छन् । सामाजिक बहिस्कारको त्रासले रोग पहिचान भएपनि परिवारबाट समेत रोगीलाई लुकाउने गरिएकाले कुष्ठरोगीको बास्तविक तथ्याङ्क बाहिर आउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय कार्यालयले बेनीमा आयोजित ६५ औँ विश्व कुष्ठरोग दिवसको अबसरमा बताइएको थियो ।

समयमै रोग पहिचान भए उपचार सम्भव भएपनि विरामीले आफ्नो समस्यालाई गुपचुप राख्ने गरेकाले पनि रोगको निवारण गर्ने अभियानमा असर गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर रोशन न्यौपानेले बताए ।यो सामाजिक समस्याको रुपमा देखिएको छ ।सहर बजारभन्दा ग्रामिण क्षेत्रमा विरामी भेटिन्छन्’ न्यौपानेले भने । उनले रोगीलाई सामाजिक भेद्भाव नभई सम्मान गरेमा रोग लागेकालाई पहिचान गर्न सजिलो हुने उनले बताए ।

उनले गरिवी,अशिक्षा र जनचेतनाको अभावका कारण ग्रामिण क्षेत्रमा रहेका स्वास्थ्य चौकीसम्म रोगी पुग्न नसक्दा जिल्लामा कुष्ठरोगीको संख्या बढ्दो क्रममा रहेको बताए । जिल्लामा अहिले कुष्ठ रोगबाट पिडित भएका १२ जनाले उपचार गराई औषधी खाइरहेका छन् । कार्यालयका क्षयकुष्ठ रोग निरिक्षक मनिस महत्तोले दिएको जानकारी अनुसार बेनी नगरपालिका भित्र ९ जना र मंगला गाउँपालिकामा पहिचान भएका ३ जना कुष्ठ रोगीहरुले निशुल्क औषधी सेवन गरिरहेका छन् ।

‘म्याग्दीका सबै ३० बर्ष माथीका छन् । बालबालिकामा रोग भेटिएको छैन’ महतोले भने । उनका अनुसार कुष्ठरोगबाट पिडित भएका केही व्यक्तिले पोखराको हरियोखर्कबाट समेत औषधी सेवन गर्दै आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको १ लाख जनसंख्यामा १.७८ प्रतिशत रहेको छ ।अन्तरक्रिया कार्यक्रममा अस्पतालका मेडिकल अधिकृत डाक्टर विराट शर्माले शरिरमा नचिलाउने दाग आउनु, छाला छोएको थाहा नपाउन, लामो समयसम्म झमझमाउने समस्या कुष्ठ रोगको लक्षण हुनसक्ने बताए ।

जिल्लाको सबै स्वास्थ्य संस्थामा यो रोगको औषधी निशुल्क उपलब्ध गराउने गरिएको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा यो रोगको किटाणु सरेको २ देखि ५ बर्षमा मात्रै लक्ष्यण देखिन्छ । रोगको पहिचान भएर औषधी सेवन गरी निको भएमा जिल्ला स्वास्थ्य कार्यालयबाट पुरस्कार स्वरुप एक हजार समेत उपलब्ध हुने उनले बताए । रोग लागेका ब्यक्तिको अवस्था अनुसार ६ महिनादेखि २ बर्षसम्म औषधी सेवन गरेमा निको हुने भएकाले जनचेतनामुलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा बताए ।

जिल्ला अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मी लगायत जिल्ला स्थित सरोकारवालाहरुको सहभागीता रहेको कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन जनस्वास्थ्य निरिक्षक भिमप्रसाद आचार्यले गरेका थिए । नेपालबाट २०६५ सालमा कुष्ठ रोग निवारण भएपनि म्याग्दी लगाएतका जिल्लामा अझैपनि रोगी भेटिन छाडेको छैन् । १० हजार जनसंख्यामा एकजना भन्दा कम कुष्ठरोगी भए त्यसलाई निवारणको अवस्था भनिन्छ ।