म्याग्दी क्याम्पसमा स्नातकोत्तर तहको पठनपाठन हुने

0

जिल्लाकै पुरानो म्याग्दी बहुमुखी क्याम्पसमा जिल्लामै पहिलो पटक स्नातकोत्तर तहको पठनपाठन सुरू हुने भएको छ । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तहको पठनपाठनको अनुमति पाएपछि व्यवस्थापन संकाय अन्र्तगत सेमेस्टर प्रणालीमा स्नातकोत्तर तहको पढाई हुन लागेको हो । माघ १९ गतेसम्म प्रवेश परिक्षा (सिम्याट) आवेदन फारामको लागि आह्वान गरेको सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताए ।

‘जिल्लाको शैक्षिक क्षेत्रका कोशेढुंगा सावित हुनेछ । स्नातकोत्तर शिक्षाका लागि जिल्ला बाहिर जानुपर्ने समस्याको अन्त्य भयो‘ सुबेदीले भने । उनका अनुसार पहिलो बर्ष न्युनतम ३० जना सम्मलाई स्नातकोत्तर तह प्रथम बर्षमा भर्ना लिने तयारी गरिएको बताए । त्रिबीले सम्बन्धन स्विकृती दिईसकेकाले प्रवेश परिक्षा फराम भरेकालाई फागुन ५ गते प्रवेश परिक्षा लिएर फागुन २५ गतेदेखि नै पठनपाठन सुरु हुने उनले बताए ।

४ सेमेस्टरमा हुने स्नातकोत्तर तहको कक्षामा ६ महिनामा एउटा सेमेस्टरको पढाई सकिन्छ । सेमेस्टरमा विद्यार्थीलाई समेत तयारी गर्न सहज हुन्छ । जिल्लाको उच्च शिक्षाको धरोहरको रुपमा रहेको म्याग्दी क्याम्पसमा त्रिविका व्यवस्थापन संकायका डिन डिल्लीराज शर्मा नेतृत्वको टोलीले भौतिक पूर्वाधार लगायतको स्थलगत अनुगमन पश्चात स्नातकोत्तर तह सञ्चालन गर्न अनुमती दिएको सहायक क्याम्पस प्रमुख रेखाकौशल रेग्मीले बताईन् ।

‘लामो प्रयासमा यो सम्भव भएको छ, विद्यार्थीलाई सहज पठनपाठनको सुविधा हुनेछ’ उनले भनिन् । उनका अनुसार २०७३ कात्तिक २५ गतेदेखि मंसिर २ गतेसम्म धार्मिक तथा शैक्षिक महोत्सवको प्रमुख उदेश्य समेत पुरा भएको बताईन् । आर्थिकस्रोत र विद्यार्थीहरुको चाप अनुसार स्नातकोत्तर तहको क्षमतालाई विस्तार गर्दै लैजाने क्याम्पसले जनाएको छ ।

महोत्सवबाट खर्च कटाएर बचत हुन आउने रु २ करोड बढी दान रकमलाई उपयोग गरि तत्काललाई स्नातकोत्तर तहको खर्च व्यवस्थापन गरिने र क्रमिक रुपमा अन्य स्रोतहरुको समेत खोजी गरिएको छ । २०४८ सालमा मानविकी तथा सामाजिक शास्त अन्र्तगत प्रविणता प्रमाणपत्र तहबाट उच्च शिक्षाको इतिहास सुरु गरेको क्याम्पसमा अहिले कक्षा ११ देखि स्नातक तहसम्म शिक्षा, व्यवस्थापन र मानविकी तथा समाजशास्त तहका कक्षाहरु सञ्चालनमा रहेका छन् ।

जिल्लामा म्याग्दी बहुमुखी क्याम्पसका साथै पश्चिम म्याग्दीमा मंगला गाउँपालिकाको बावियाचौरमा मंगला शिक्षा क्याम्पस रहेको छ । जिल्लाबाट स्नातक तह उत्र्तिणा गरेपछि बागलुङ, पोखरा, काठमाण्डौ जाने विद्यार्थीलाई राहत मिलेको छ । स्नातकोत्तरको कक्षा बेलुकी सञ्चालन हुने भएकाले पनि जागिर गर्ने विद्यार्थीलाई समेत राहत मिल्ने छ ।