म्याग्दीमा तीनवटा लामो र अग्लो झोलुङ्गे पुल बन्ने

0

म्याग्दी जिल्लामा लामो आकारको तीन झोलुङ्गे पुल बन्ने भएको छन् । छिमेकी जिल्ला पर्वत र बागलुङलाई समेत जोड्ने गरी यसै आर्थिक बर्षभित्र तीनवटा झोलुङ्ग पुल निर्माणका लागि सर्वे सहितको स्थलगत अनुगमन सम्पन्न गरिएको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटबाट बागलुङको मालिका, धार्मिकस्थल गलेश्वर देखी पर्वतको राममन्दिर र घतानको काउलेगौडा देखी पिप्ले जोड्ने छिङ्गा– थाकन झोलुङ्गे पुलको अन्तिम सर्वे सकिएको बालकृष्ण सुबेदीले बताए ।

‘तीनवटा पुलको निर्माणकार्य सुरु हुन्छ । आवतजावत संगै पर्यटकीय गन्तब्य समेत बन्नेछ’ नेकपा एमाले म्याग्दीका सचिव समेत रहेका सुबेदीले बेनीअनलाइनलाई भने । बेनी नगरपालिकाको ज्यामरुककोट, अर्जम आसपासका बासिन्दाको बागलुङको मालिकामा समेत खेतीपाती र दैनिकजसो आवतजावत हुने गरेको छ । बागलुङको धार्मिकस्थल पञ्चकोट जान समेत मालिका–ज्यामरुककोट पुलको प्रयोग गर्न सकिन्छ ।

गलेश्वरधाममा दर्शन गर्न आएका हिन्दु धर्मालम्बीहरूलाई सहजै र पर्वतको जलजला गाउँपालिकामा अवस्थित राममन्दिरमा पुग्न कालिगण्डकी नदी माथि बन्ने अर्को पुलले सहज हुन्छ । त्यस्तै बेनपा–९ काउँलेगौडाबाट रघुगंगा गाउँपालिका–३ पिप्ले जोड्ने १ सय २० मिटर भन्दा लामो र १ सय १० मिटर उचाईको पुलको निर्माणसंगै जिल्लामा भित्रिने पर्यटकलाई आर्कषित गर्नेछ ।

पुलले घतान, पिप्ले, मौवाफाँट,भगवती आसपासका क्षेत्रका करिव २५ हजार जनसंख्या लाभान्वित हुने स्थानीयको भनाई छ ।सर्वे सहित भौगोलिक अवस्थाको अवलोकन गर्न झोलुङ्ग पुल महाशाखाका इन्जिनियर जनम न्यौपाने सहितको टोलीले सहज तरिकाले निर्माणकार्य अगाडी बढाउन सकिने बताएको थियो । जिल्लाकै रघुगंगा गाउँपालिका–१ बेगखोलामा निर्माणधिन अवस्थामा रहेको अग्लो झोलुङ्गे पुल अन्तिम चरणमा रहेको छ । कुल ३ करोड ३२ लाख लागतमा निर्माण हुन लागेको पुल ३ सय ६५.८० मिटर लम्बाई रहेको छ ।