बेनी अस्पतालमा सड्ने फोहोर ब्यवस्थापनका लागि ५ लाखको लगानीमा छुट्टै प्लान्ट बनाएको छ । गुणस्तरीय सेवा संगै सफा र सुन्दर बनाउने अभियान अन्र्तरगत अस्पतालबाट निस्कने सड्ने फोहोबाट दुर्गन्ध फैलिन नदिने गरी अस्पताल परिसर भित्र पक्की प्लान्ट बनाइएको बेनी अस्पतालका प्रमुख डा. रोशन न्यौपानेले बताए ।

‘विगतमा देखिएका समस्या समाधान हुन्छ । कर्मचारीलाई पनि तालिम दिएका छौ’ उनले भने । अस्पतालभित्र दुर्गन्धको समस्या निराकरण हुनुका साथै सेवा प्रवाहमा समेत सहज हुने गरी आधुनिक प्रविधिको प्रयोग गरिएको बताए ।

केही महिना अगाडी अस्पतालभित्र जलाउन मिल्ने र नमिल्ने फोहोर बर्गिकरण र विर्सजन गर्ने तरिका, फोहोर संकलन गर्दा अपनाउनुपर्ने विधि लगाएतका विषयमा जर्मनबाट आएका दुईजना इन्जिनियरले तालिमका साथै ठुला अस्पतालमा प्रयोग गरिएको इन्सिनेटर प्रविधिको जडान गरिएको थियो । ईन्सिनेटरको प्रयोग प्रभावकारी देखिएको अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए ।

उनले नजिकै रहेको निजी विद्यलायबाट समेत गुनासो आएपछि विहान र बेलुकीको समयमा फोहोर नष्ट गरिने बताए । कर्मचारीले एकैपटक भन्दा पनि दैनिकजसो नष्ट गर्ने गरेकाले पनि सहज भएको बताए । अस्पतालमा अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको फोहोर विर्सजनको विधि प्रयोग गरिएको बताए । तीनहप्ता सम्म जर्मनी नागरिकले दिएको तालिम अनुसार कर्मचारीले फोहोर ब्यवस्थापन गरेका छन् ।