धौलागिरी गाउँपालिका–७ ताकममा रहेको जिल्लाकै दोस्रो अन्नपुर्ण पुस्तकालय प्रयोगविहिन अवस्थामा रहेको छ । विक्रम सम्बत २०२५ सालमा दर्ता गरी स्थापना गरिएको पुस्तकालय नियमित सञ्चालनमा नहुदाँ पुस्तकालय भित्रका पुस्तक हराउन थालेका छन् । जिर्ण भवनमा रहेका पुस्तकहरु संरक्षण नहुदाँ मुसाको रजाई भइरहेकोस्थानीय यूवा गोपाल आचार्यले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार पुस्तकालय स्थापनाका लागि तत्कालिन समयमा ४ हजार २ सय ५० रुपैयाँ लिएर १५ सय पुस्तकबाट सुरु गरिएको पुस्तकालय सञ्चालन हुदाँसम्म निरन्तर थप गरिएपनि अहिले निकै कम संख्यामा पुस्तक रहेको बताए ।
राणा शासनको अन्त्य भएपछि शिक्षाको ज्योती गाउँभरी फैलाउन उदेश्यले पुस्तकालय सञ्चालन गरिएको थियो ।

जिल्लाकै ठुलो र नमुना बनाउन भद्रकला सुबेदीले सञ्चालन गरेको महायज्ञमा संकलित धान र नगदबाट पुस्तक खरिद गरिएको पुराना साहित्यकार बृद्धिप्रसाद सुबेदीले बताए । पुस्तकालय स्थापनापछि पञ्चायकालमा क्रान्तिकारी पुस्तक तत्कालिन प्रशासनले जफत गरेको थियो । माओवादीको शसस्त्र यूद्धमा समेत नेताहरूले पुस्तकालयबाट पुस्तक लैजाने गरेका थिए ।

जिल्लाकै दोस्रो पुरानो पुस्तकालय भित्रका सम्पत्तीको संरक्षणमा प्रतिबद्ध रहेको धौलागिरी गाउँपालिकाका उपप्रमुख रेशम छन्त्यालले बताए। पुस्तकालयको संरक्षणका लागि गाउँपालिकामा छलफल गर्ने बताए । जिल्लाको ग्रामिण क्षेत्रमा रहेका पुराना पुस्तकालय संरक्षण र पाठकको अभावमा प्रयोगविहिन अवस्थाम छन् ।