परिचय बदल्दै म्याग्दी 

प्राकृतिक सुन्दरता, बिहानीपख हिमाल हेर्दा अवर्णनीय अनुभूति गराउने स्थलहरू, राउण्ड अन्नपूर्ण तथा धवलागिरि क्षेत्रमा समेटिएको, विश्वप्रसिद्ध घोडेपानी, पुनहिल र रुप्से झरनाले म्याग्दीको पर्यटकीय आकर्षण बढाएको छ । जिल्लाको क्षेत्रफल २ लाख २९ हजार ७ सय ६ वर्ग किमी छ । २०६८ सालको जनगणनाअनुसार यहाँ १ लाख १३ हजार ६ सय ४१ जनसङ्ख्या छ । जिल्लामा अनेकौं पर्यटनस्थल छन् । यसमध्ये सदरमुकाम बेनीबजार, घोडेपानी, पुनहिल, रुप्से झरना, रिखारक्षेत्र, गलेश्वरधाम र सिङ्गामा प्राकृतिक तातोपानी बढी महत्त्वपूर्ण छन् ।

समुद्री सतहदेखि धवलागिरि हिमालसम्म ८ हजार १ सय ६७ मिटर उचाइमा रहेको छ म्याग्दी । जिल्लाको बेनीबजार नेपालका पहाडी जिल्लामा रहेका सदरमुकाममध्ये सुन्दर मानिन्छ । ऐतिहासिक, व्यापारिक र प्राकृतिक सौन्दर्यका दृष्टिकोणले बेनीबजार नेपालकै अनुपम स्थानको रूपमा छ ।

धवलागिरि र गुर्जा हिमाल यसै जिल्लामा पर्छन् । मालिकाको धुरी, रिखार धुरी र घोरेपानीको धुरीले गगन चुम्न लागेजस्तो दृश्य देखिन्छ । यस्तै, ६ हजार ९ सय ६७ मिटर गहिरो संसारकै सबैभन्दा गहिरो ‘अन्धगल्छी’ले विश्व मानचित्रमा म्याग्दीको पहिचान उजागर गरेको छ ।

यातायात र होटलको सुविधा
म्याग्दीमा यातायातको राम्रो पहुँच छ । नेपालका विभिन्न स्थानबाट जिल्लामा आउन गाह्रो छैन । २ सय ८५ किलोमिटरको दूरीमा रहेको काठमाडौंबाट दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म प्रत्येक घण्टा सुविधायुक्त रात्रिबस सेवा उपलब्ध छ । साथै, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, सुनौलीलगायत शहरबाट पनि जिल्लाको सदरमुकामसम्म आउन दैनिक दिवा र रात्रि बसको व्यवस्था छ । सदरमुकाम बेनीबजार पुगेपछि यहाँ बस्न खान स्तरीय होटल र लजको व्यवस्था छ । सस्तो, सुलभ र आरामदायी रूपमा आगन्तुकका लागि सेवा दिन आफूहरू तयार रहेको जिल्ला होटल व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष गोपाल पौडेल बताउँछन् । म्याग्दीमा ५५ ओटा स्तरीय र पर्यटक लक्षित सुविधासम्पन्न होटल छन् ।

परिचय बदल्दै म्याग्दी
म्याग्दी प्राकृतिक सौन्दर्यले भरिपूर्ण जिल्ला हो । परम्परागत रूपमा ‘लाहुरेको जिल्ला’को परिचय बनाएको म्याग्दीले हिजोआज आफ्नो परिचय र पहिचान बदलेको स्थानीय युवा एवम् नेपाल जेसिजका पूर्वअध्यक्ष धनञ्जयकुमार श्रेष्ठले बताए । ‘हिजोआज म्याग्दी पर्यटन र प्राकृतिक सौन्दर्यको जिल्ला भनेर चिनिन थालेको छ,’ उनले भने ।

अन्नपूर्ण गाउँपालिकाको घारमा पर्ने र समुद्री सतहदेखि २ हजार ८ सय मिटर उचाइमा रहेको घोडेपानी र ३ हजार २ सय मिटर उचाइमा रहेको पुनहिल यहाँका प्रमुख पर्यटकीय स्थल हुन् । राउण्ड अन्नपूर्णअन्तर्गतको आकर्षक गन्तव्य मानिएको घोडेपानी र पुनहिलमा बाह्रै महीना विदेशी पर्यटकको घुइँचो लाग्ने गर्दछ । लालीगुराँसको विशाल जङ्गल, उकालो पदमार्ग, सूर्योदय र सूर्यास्तको दृश्यावलोकन, आँखै अगाडि देखिने हिमशृङ्खला, आग्र्यानिक खानाका परिकार, व्यवस्थित र सुविधायुक्त बसाइ, स्वच्छ हावापानी, भौगोलिक विविधताको दृश्यावलोकन यहाँका प्रमुख आकर्षण हुन् । पछिल्लो समय घोडेपानी र पुनहिल पुग्ने आन्तरिक पर्यटकसमेत बढेका छन् । घोडेपानी सदरमुकाम बेनी बजारदेखि १८ कोषको दूरीमा पर्दछ ।

त्यसैगरी, प्राकृतिक चिकित्सालयको रूपमा परिचित सिङ्गा तातोपानी, अन्नपूर्ण गाउँपालिकामा पर्ने भुरुङ तातोपानी, मालिका गाउँपालिकाको देवीस्थानमा पर्ने मालिकाको धुरी, टोड्केको धुरी, धवलागिरि गाउँपालिकामा पर्ने ढोरपाटन आरक्ष, धवलागिरि गाउँपालिकाको मुदीमा पर्ने धवलागिरि बेस क्याम्प, अन्नपूर्ण गाउँपालिको हिस्तानमा पर्ने पेरी भरानी ताल, राम्चेको वराह ताल, वेनी नगरपालिकाको ज्यामरुककोटमा पर्ने लभ्लीहिल जिल्ला महत्त्वपूर्ण पर्यटकीय स्थल हुन् । सदरमुकाम वेनीबजारदेखि करीब डेढ घण्टाको दूरीमा रहेको गुफाको डिलबाट १ दर्जनभन्दा बढी हिमशृङ्खला, जिल्लाका सबैजसो ग्रामीण बस्तीका साथै बागलुङ र पर्वतका प्रशस्त भूभाग देखिने स्थानीय शिव बानियाँले बताए ।

११ ओटा हिमालको जिल्ला
जिल्लामा विभिन्न ११ ओटा हिमाल छन् । ८ हजार १ सय ६७ मिटर उचाइ भएको धवलागिरि पहिलोदेखि ६ हजार ३ सय ८० मिटर उचाइको मानापाथीलगायत करीब १ दर्जन हिमालले म्याग्दीको सौन्दर्य बढाएका छन् । जिल्लाका ६ ओटै स्थानीय तहका ४५ ओटै वडाबाट यी हिमाल राम्ररी अवलोकन गर्न सकिन्छ । जिल्लामा यहाँ धवलागिरि दोस्रो (७६९२), धवलागिरि तेस्रो (७५३५), धवलागिरि चौथो (७६६१), धवलागिरि पाँचौं (७६१८), धवलागिरि छैटौं (७२८८), चुरेन (७३८५), नीलगिरि, अन्नपूर्ण (८०८१), मानापाथी र गुर्जा हिमाल (७१९३) छन् ।

धार्मिक पर्यटनको केन्द्र
जिल्लाको गरिमा र महत्त्व बढाउन यहाँ रहेका धार्मिक र ऐतिहासिक स्थलको महŒवपूर्ण भूमिका छ । म्याग्दी धार्मिक पर्यटकका लागि समेत आकर्षक गन्तव्य स्थल बन्दै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव माधवप्रसाद रेग्मी बताउँछन् । मुक्तिनाथ प्रवेशद्वारको रूपमा रहेको म्याग्दी सदरमुकाम बेनी बजार नजीकै (३ किमी दूरीमा) पर्ने गलेश्वर धाम नेपालकै दोस्रो पशुपतिनाथका नामले परिचित छ । त्यसैगरी ऐतिहासिक पुलस्त्य आश्रम, रिखार, बेनी शिवालय, लक्ष्मीनारायण मन्दिर, वरको रूख, महारानीथान, बौद्ध गुम्बा, मालिकाथान, जगन्नाथ मन्दिर, ढोलठान, भगवती मन्दिर, ताकमकोट, ज्यामरुककोट, खोप्राको खरीवराह ताल, पुन मगरको करवाकेली मन्दिर यहाँका प्रमुख धार्मिक एवम् ऐतिहासिक स्थल हुन् ।

पर्यटन, जलविद्युत् र खनिज
म्याग्दीमा यति धेरै प्राकृति सम्पदा छन्, जसको उपयोग गर्न सके जिल्लाको समृद्धिका लागि प्रदेश वा सङ्घीय सरकार र दातृ निकायको मुख नताक्नुपर्ने सरोकारवालाहरू बताउँछन् । यहाँको जल, जमीन, जङ्गल र जनताको प्रयोग तथा परिचालनबाटै जिल्लालाई आत्मनिर्भर बनाउन सकिने इतिहासकार एवम् म्याग्दीको भूगोलका जानकार कर्ण बानियाँको भनाइ छ । म्याग्दीमा रहेका पर्यटकीय स्थललाई व्यवस्थित र समयानुकुल गराउँदै पूर्वाधार विस्तार गर्न सके यहाँ वार्षिक लाखौं आन्तरिक तथा बाह्य पर्यटक आउने सम्भावना रहेको स्थानीय व्यवसायी÷समाजसेवी प्रमोद श्रेष्ठले बताए ।

त्यसैगरी, जलविद्युत्मा प्रशस्त सम्भावना भएको जिल्ला हो म्याग्दी । यहाँका खोला तथा नदीबाट १ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन गर्न सकिने विज्ञहरूले बताएका छन् । हाल अन्नपूर्ण गाउँपालिकामा पर्ने नारच्याङ गाउँमा मात्रै साना र ठूला गरी १ सय ५७ मेगावाटका पाँचओटा जलविद्युत आयोजना सञ्चालित छन् । जिल्लामा खनिजका स्रोत पनि धेरै छन् । यहाँ तामा, शिलाजित, अभ्रख, छाउने ढुङ्गा, खरीढुङ्गालगायतका खानी छन् ।