गैडाकोट अनुपस्थित भएपछि बेनी नगरपालिका दोस्रो चरणमा प्रवेश

0

गोरखा नगरपालिका गोरखा र व्यास नगरपालिका तनहुँ बागलुङमा जारी प्रदेश नम्बर ४ स्तरीय मेयर कप फुटबलको सेमिफाईनलमा प्रवेश गरेका छन् । बिहीबार भएको पहिलो क्वाटरफाईनल खेलमा क्वाटरफाईनल खेलमा देवचुली नगरपालिका नवलपुरलाई ३–१ गोलअन्तरले पराजित गर्दै गोरखा सेमिफाईनलमा प्रवेश गरेको हो ।

गोरखाले ९ मिनेटमा जमिर मास्केको गोलबाट अग्रता लिएता पनि देवचुलीका सुमन आलेले २५ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलअवधिभर उत्कृष्ट प्रदर्शन गरेका सुदिप बस्नेतले ३३ मिनेटमा गोल गर्दै गोरखालाई अग्रता दिलाएका थिए । उनी खेलको म्यान अफदी म्याच घोषित भएका थिए ।


पहिलो हाफमा १ गोलको अग्रता लिएको गोरखाको लागि दोस्रो हाफमा सरोज श्रेष्ठले ७२ मिनेटमा गोल गर्दै जित निश्चित गरेका थिए ।यस्तै आजै भएको दोस्रो क्वाटरफाईनल खेलमा आयोजक बागलुङ नगरपालिकालाई ४–२ गोलअन्तरले पराजित गर्दै व्यास नगरपालिका सेमिफाईनलमा प्रवेश गरेको छ ।

पहिलो हाफमा आक्रमक खेल प्रस्तुत गरेको व्यासको लागि खेलको ९ मिनेटमा अञ्जान प्रधानले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले पहिलो गोल गरेको २ मिनेटमै अर्को गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका थिए । खेलको २८ मिनेटमा अजय श्रेष्ठले गोल गर्दै व्यासलाई पहिलो हाफमा ३ गोलको अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गरेको आयोजक बागलुङले ५० मिनेटमा प्रमल थापाको गोलले अन्तर घटाएको थियो । खेलको ५० मिनेटमा व्यासको लागि आदर्श चन्दले गोल गर्दै टिमलाई पुनः ३ गोलकै अन्तर दिलाएका थिए ।
अन्तिम गोल ५८ मिनेटमा बागलुङ प्रमल थापाले वान भर्सेज वानमा गोल गरेता पनि टिमलाई हारबाट जोगाउन भने सकेनन् ।यस्तै बिहीबार नै हुने भनिएको बेनी नगरपालिका म्याग्दी विरुद्ध गैडाकोट नगरपालिका नवलपुरको खेलमा गैडाकोट उपस्थित नभएपछि बेनी विजयी भएको आयोजकले जनाएको छ ।

नकआउटका आधारमा जारी प्रतियोगितामा प्रदेशका ११ नगरपालिकाको सहभागिता रहेको छ । प्रतियोगितामा शुक्रबार पहिलो खेल पोखरा लेखनाथ महानगरपालिका विरुद्ध कुश्मा नगरपालिका पर्वत र दोस्रो खेल वालिङ नगरपालिका स्याङजा विरुद्ध बेनी नगरपालिका म्याग्दीका विच हुने जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो ।

आजको खेलहरु एन्फा रेफ्रीहरु रिपन शाक्य, ज्ञान बहादुर थापा, अशोक गुरुङ, लक्ष्मण गुरुङ, दिपक थापा र साजन कार्कीले संचालन गर्नुभएको थियो । मेयर कपको विजेता टोलीले २ लाख २२ हजार २ सय २२ तथा दोस्रो हुने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० तथा उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्ड, स्ट्राइकर र प्रशिक्षकले सम्मान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।