म्याग्दीको सदरमुकाम तथा आसपासका क्षेत्रमा संकलन भएको फोहोर बेनी नगरपालिका–३ भकिम्लीको ओडारेमा ब्यवस्थापन गरिने भएको छ । फोहोर ब्यवस्थापनका लागि हरेक बर्ष नगरपालिकाले बजेट विनियोजन गरेपनि ठाउँ पहिचान नहुदाँ समस्या भइरहेको अवस्थामा बेनपा–३ का जनप्रतिनिधि र स्थानीयबासीले समेत फोहोर ब्यवस्थापन केन्द्र निर्माणमा सघाउने प्रतिबद्धता जनाएपछि डेढ दशक देखीको समस्या समाधान भएको मेयर हरिकुमार श्रेष्ठले बताए ।

उनले चालु आर्थिक बर्षभित्र फोहोर ब्यवस्थापनका केन्द्र निर्माण गर्ने लक्ष्य रहेको बताए ।फोहोर ब्यवस्थापन केन्द्रक लागि दुई रोपनी क्षेत्रफल जग्गा हुनुपर्ने मापदण्ड रहेको छ । बेनी–हाँडेििभर–बगरफाँट– थामडाँडा सडकखण्ड अन्र्तरगत बेनीबाट करिव ५ किलोमिटरको दुरीमा रहेको प्रस्तावित केन्द्रको स्थलगत अनुगमनका साथै सडक कालोपत्रेका लागि सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा सिफारिस गरिएको छ ।

बस्तीभन्दा टाढा रहेको ओडारेमा कुहिने र नकुहिने फोहोर संकलन गर्ने केन्द्र बनाएर कुहिनेलाई कम्योष्ट मल र नकुहिने फोहोरलाई कवाडीमा बिक्री गर्ने लक्ष्य रहेको छ । फोहोर ब्यवस्थापनका लागि नगरप्रमुख सहितको टोली वालिङ नगरपालिकाको भ्रमण समेत गरेका थिए । वालिङमा फोहोर ब्यवस्थापनमा प्रयोग गरिएको विधिलाई हुवहु प्रयोगको प्रयास गरिने नगरपालिकाले जनाएको छ ।

‘नगरपालिका भित्रको समस्यालाई समाधान गर्न हामीले सहयोगी भूमिका खेलेका छौ, आसपासका बस्ती र वातावरणमा कुनै समस्या नपर्ने गरी पूर्वाधार बनाउनुपर्छ’ बेनपा–३ का वडा अध्यक्ष पदम पुनले भने । बढ्दो बजारीकरणसंगै फोहोर ब्यवस्थापन गर्न डम्पिङ साइडका लागि उचित ठाउँ नपाउँदा बजार क्षेत्रमा संकलित फोहोर बेनी–गलेश्वर सडकखण्डमा पर्ने रातोपहिरोबाट कालिगण्डकी नदीमा फाल्ने गरिएको थियो ।

हिन्दु धर्मालम्बीहरूले स्नान गर्ने कालिगण्डमा फाल्ने गरिएको फोहोरलाई डम्पिङ साईड बनाएर ब्यवस्थित गर्न गतबर्ष नै ५८ लाख बजेट प्राप्त भएपनि खोजी गरिएका विभिन्न विकल्पमा स्थानीयले विरोध जनाएपछि खोजीकार्य अलपत्र परेको थियो । बेनीबजारमा दैनिक ३ देखि ६ ट्रयाक्टर सम्म फोहोर संकलन हुने गरेको छ ।