जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित धौलागिरी गाउँपालिकाको दुर्गम बस्तीका जनतालाई आवतजावतमा सहज बनाउने उदेश्यले तीनवटा झोलुुङ्गे पुल बन्ने भएका छन् । जिल्ला समन्वय समिति, धौलागिरी गाउँपालिका र मिलन म्याग्दी बीच सम्झौता भएको छ ।

जिल्लामा सञ्चालित झोलुुङ्गे पुल कार्यक्रम अन्र्तरगत धौलागिरी गापा– वडा नम्बर २ लुलाङको धनमाने खोला, मुदीको बगरस्थीत जेन्टुङ खोला र मुदी र मराङको छरी खोलामा चालु आर्थिक बर्षमै झोलुुङ्गे पुल बन्ने गाउँपालिका प्रमुख थमसरा पुनले जानकारी दिईन ।‘जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । स्थानीयलाई आवतजावतमा सहज हुन्छ’ उनले भनिन् ।उनका अनुसार झोलुुङ्गे पुल निर्माणको क्रममा कुल लागतको ६ प्रतिशत गाउँपालिकाले समेत उपलब्ध गराउने बताईन्।

सम्झौता अनुसार धनमाने खोलामा २७ लाख ५७ हजार ४४१ रुपैयाँ , मुदीको बगरस्थीत जेन्टुङ खोलामा ४७ लाख ६३ हजार ५९४ रुपैयाँ र मुदी र मराङको छरी खोलामा २७ लाख ५७ हजार ४४१ रुपैयाँ लागत गरी कुल ९९ लाख २५ हजार ६५२ लागत रहेको छ । गाउँपालिकाबाट ५ लाख ९३ हजार उपलब्ध गराउनुका साथै नियमित अनुगमन लगाएतका प्राविधिक र ब्यवस्थापनमा समेत सहयोग गर्ने जनाइएको छ । जिल्लाकै अति विकट मानिएका बस्तीहरु समेटिएको धौलागिरी गापाको मुदीका विभिन्न बस्तीमा विगतमा समेत प्राथमिकताका साथ झोलुङ्गे पुल विस्तार गरिएको थियो । जिल्लामा धमाधम झोलुङ्गे निर्माण भएपछि पुराना, जिर्ण र तुइन विस्थापित भएका छन् ।